काठमाडौं।नेपाल बार एसोसिएसनले पेशागत लगायतका माग राखी आन्दोलनरत नेपाल शिक्षक महासंघसँग शीघ्र वार्ता गरी उचित र न्यायपूर्ण समाधानका लागि पहल गर्न अपिल गरेको छ ।
सोमबार नेपाल बारको तर्फबाट महासचिव बरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाद्धारा हस्ताक्षरित विज्ञप्तिमा बारले आन्दोलनकै कारण राजधानीको मुख्य र व्यस्त रहने सडकमा यातायातलगायत दैनिक जन–जीवन प्रभावित भइ जनजीवन कष्टकर भएको र पठनपाठन नभई विद्यार्थीहरुको संविधानप्रदत्त शिक्षा सम्बन्धी हकहरुको हनन भई निर्धारित परीक्षाहरु समेत अवरुद्ध भएकाले समाधानको पहल गर्न अनुरोध गरिएको छ ।
‘सम्मानित सर्वोच्च अदालतबाट भएको आदेश कार्यान्वयन गर्न र देखिएका समस्याहरुका बारेमा शीघ्रातिशीघ्र वार्ता गरी उचित र न्यायपूर्ण समाधानका लागि पहल गर्न संघीय संसद, नेपाल सरकार र नेपाल शिक्षक महासंघ लगायत सम्बन्धित सबै सरोकारवाला पक्षहरुलाई नेपाल बार एशोसिएशन हार्दिक अपिल गर्दछ,’ उक्त विज्ञप्तिमा भनिएको छ ।
यसैगरी बारले वैशाख १४ गते भएको दिन दोहोरो झडपमा पत्रकार, शिक्षक र सुरक्षाकर्मीहरु घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।