काठमाडौँ/ निर्वाचन प्रक्रिया सुरु नभएकोमा नेपाल पत्रकार महासंघमा नाराबाजी भएको छ ।
आसन्न निर्वाचनका लागि शनिबार मनोनयन दर्ता गर्ने कार्यक्रम अघि नबढेपछि प्रेस चौतारी नेपाल, प्रेस सेन्टर, नेपाल लगायतका पत्रकारहरूको संघ, संगठनले काठमाडौँको सञ्चारग्रामस्थित नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा विरोध प्रदर्शन गरेका हुन् ।
महासंघले निर्वाचन कार्यतालिका अनुसार शनिबार उम्मेदवारहरूले मनोनयन गर्ने कार्यतालिका थियो । तर प्रेस युनियन नेपालले सदस्यता नविकरणमा असहमती जनाउँदै महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेपछि प्रेस चौतारी नेपाललगायतका संगठनहरुले निर्वाचन प्रक्रियामा तलमाथि नगर्न चेतावनी दिँदै महासंघको नेतृत्वविरुद्ध नाराबाजी गरेका थिए । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले निर्वाचन कार्यतालिका अनुसार मनोनयनको काम अघि नबढाएर निर्वाचन समिति र महासंघको नेतृत्व चुनाव हार्ने डरले भागेको आरोप लगाएका छन् । नेपाल पत्रकार महासंघको निर्वाचन यही असार २२ गते तोकिइसकेको र त्यसका लागि असार १५ गते मनोनयन कार्यतालिका तय गरिएको थियो । नेपाल प्रेस युनियनबाट निर्वाचित महासंघको नेतृत्वले निर्वाचन भाँड्ने काम गरेको प्रेस चौतारी नेपालको आरोप छ । अध्यक्ष गणेश बस्नेतले महासंघलाई वैधानिक रूपमा अघि बढाउन पनि यसको निर्वाचन प्रक्रियालाई अघि बढाउनुको विकल्प नरहेको बताए ।
तर कांग्रेस निकट प्रेस युनियन नेपालले सदस्यता नविकरणमा असहमती जनाउँदै महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ ।