काठमाडौं । लघुकथा समाज, नेपालले कथाकार ध्रुव सापकोटा र किसन पौडेललाई सम्मान गरेको छ ।
कथाकार सापकोटा सावित्री -केशर कथा सम्मान र लघुकथाकार किसन पौडेल बाटुली- खिलध्वज लघुकथा सम्मानबाट सम्मानित भए ।
जनही एक्काइस हजार एक रुपैयाँ नगदराशी र सम्मानपत्र सहित आज काठमाडौंमा आयोजित कार्यक्रममा बरिष्ट साहित्यिक पत्रकार रोचक घिमिरे लगायतले अर्पण गरे ।
यसको साथै सोही कार्यक्रममा लघुकथाकार हरि थापाको लघुकथासंग्रह परिधिको समेत सार्वजनिक गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिमिरेले ध्रुव सापकोटाले नेपाली साहित्यमा जति चर्चा पाउनुपर्ने हो त्यो पाउन नसकेको भन्दै कथा साहित्यमा उनको योगदान अतुलनिय भएको बताए । किसन पौडेलले पाएको सम्मानमा समेत उपर्युक्त पात्र चयन भएकोमा कसैले विमति जनाउन नसक्ने बताउँदै यस्तो उत्कृष्ट पात्रको चयनले लघुकथा नेपालको समेत सम्मान भएको धारणा राखे ।
लघुकथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले पुरस्कृत कथाकारहरुलाई बधाई दिंदै विं.सं.२०६२ सालमा स्थापना भएको लघुकथा समाज,नेपालले थुप्रै कथा साहित्यमा क्रियाशिल व्यक्तित्वहरुलाई सम्मान गरेको विषयको चर्चा गरे ।
सम्मान छनौट समितिका संयोजक प्रा.डा. लक्ष्मणप्रसाद गौतम भने-‘ उच्चकोटीका कथा लेखेर पनि चर्चा र प्रचार नचाहाने ध्रुव सापकोटालाई नेपाली कथाबाट झिकिदिने हो भने नेपाली कथाको इतिहास अधुरो हुन्छ ।’ यसैगरी उनले भारत लगायतका देशमा विभिन्न भागमा नेपाली लघुकथा पुर्याउन भुमिका निर्वाह गर्ने व्यक्ति पोडेल सम्मान लायक ठहर भएको बताए ।
पुरस्कृत स्रष्टा सापकोटा र पौडेलले संक्षिप्तमा आफ्ना धारणा राखेको उक्त कार्यक्रममा पुरस्कृत स्रष्टाहरुको बारेमा श्रीबाबु कार्कीले संक्षिप्तमा चर्चा गरेको उक्त कार्यक्रममा कथाकार ध्रुव मधिकर्मीले विमोचित लघुकथासंग्रह परिधिको बारेमा समीक्षा गरेका थिए ।
कार्यक्रममा पुरस्कार संस्थापक तथा लघुकथाकार हरि थापाले पनि बोलेका थिए ।
तारा केसीको सञ्चालन र लघुकथा समाज,नेपालका अध्यक्ष गोपाल अश्कको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो ।