काठमाडौं । उपन्यासकार किरण आचार्यको दोश्रो उपन्यास कृति परशुरामको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । साहित्यिक पत्रकार संघको आयोजनामा भएको उक्त कार्यक्रममा बोल्ने विभिन्न बक्ताहरुले किरण आचार्यले पौराणिक कथालाई आजको सन्दर्भमा जोडेर औपन्यासिक कार्य गर्नु महत्वपूर्ण उपलब्धी भएको बताएका छन् ।
कथाकार माया ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा इतिहासकार एवं राजनीतिक विश्लेषक डा. सुरेन्द्र के.सी.ले बर्तमान समय हाम्रा लागि अत्यन्तै जटिल भएर गुज्रिरहेको औल्याउँदै यो स्थितिलाई परिवर्तन गर्नुपर्ने आजको आवश्यकता भएको बताए । यस्तै साहित्यकार प्रमोद प्रधानले पौराणिक विषयवस्तु र पात्रलाई चयन गरेर आख्यान सिर्जना गरिनु आफैंमा स्वागतयोग्य कदम रहेको टिप्पणी गरे । उनले उपन्यास लेख्ने कार्य त्यति सहज नभएको धारणा समेत राखे ।अर्का बक्ता समालोचक डा. गोविन्दमानसिंह कार्कीले परशुराम उपन्यासभित्र रहेका विषय,संरचना र शैली सबै दृष्ट्रिले उपन्यास पठनीय बनेको बताए ।उपन्यासकार किरण आचार्यले उपन्यासको रचनागर्भको बारेमा जानकारी दिए ।
कार्यक्रममा उपन्यासकार सन्तोष श्रेष्ठ,पद्यावती सिंह,शंकर भारती लगायतले आफ्नो धारणा राखेका थिए ।साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लेकालीले किरण आचार्य लामो समयदेखि लेखनकार्यमा समर्पित भएर लागेको बताउँदै लेखनयात्राको लागि शुभकामना ब्यक्त गरे । श्रीबाबु कार्कीले संचालन गरेको उक्त कार्यक्रममा साहित्यिक क्षेत्रका विभिन्न ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।