
लघुकथा
कमाइ
मुरारीराज मिश्र
अस्पतालको आइसीयूमा एक अचेत बिरामी भेन्टिलेटरको सहायताले जेनतेन श्वास फेर्दै थियो ।
“सास छउन्जेल आश हुन्छ । नआत्तिनुस्, हामी ठीक पारिहाल्छौं नि ।” डाक्टरको यस्तो आश्वासन पाएका आफन्तहरू, प्रेस्क्रिप्सन र झोलाका-झोला औषधि बोकेर भागदौडमा देखिन्थे ।
बिरामीका दाइ, भतिजोले ल्याएको औषधिको थुप्रो हेर्छन् र हैरानी मिसिएको स्वरमा भन्छन् “मजस्तो तन्दुरुस्त मान्छेले दिनभर लगातार खाएपनि नसकिने यत्रो औषधि, बेडमा मुढो लडे झैं लडेको मान्छेले कसरी खान्छ होला खै ?” भतिजो निरुत्तर हुन्छ !
साँझपख नर्स भित्री बाटो हुँदै फार्मेसी पुगेर झोला बुझाउँछिन् । पसलेले काउन्टरबाट झिकेर एउटा मुठा उनलाई दिन्छ । गेटमा डाक्टर कुरिरहेको थियो । नर्सले मुठा आधा पारेर डाक्टरलाई दिन्छिन् ।
“एउटा बिरामीमै यस्तो कमाइ ! सबै बेड भरिएको भए त हामी छिट्टै करोडपति हुने रैछौं, कसो सिस्टर !” डाक्टरले मुठो समात्दै भन्छ ।
कुमारीगाल, काठमाडौं -७







