
सुकृत जंग दाहाल
घडीको मूल्य
सन्दीप, एक इमानदार, मिहिनेती र सहयोगी स्वभावको किशोर, एसईई परीक्षा सकेर बिहानको ब्रिज कोर्समा पढ्दै थियो। उसको दिनचर्या नियमीत थियो—बिहान ६ बजे उठ्ने, नुहाउने, खाजा खाने अनि ९ बजे क्लास जानु। पढाइमा गहिरो रुचि राख्ने सन्दीप सधैँ कक्षामा ध्यान दिइरहन्थ्यो। साथीहरू उसलाई विश्वास गर्थे, सन्दीप पनि सधैँ मुस्कुराएर सहयोग गर्थ्यो।
एक बिहान अमिर नामक साथीले सन्दीपको हातमा लगाएको घडी देखेर भन्थ्यो, “तिम्रो घडी एकछिन मलाई लगाउन देउन, हेर्न मन लागेको छ?।” सन्दीपले हाँसेर आफ्ना हातबाट घडी खोल्यो र उसलाई दियो।
“ल, सम्हालेर लगाउ है,” सन्दीपले भन्यो।
“हस्” अमिरले भन्यो।
कक्षा सकियो, सन्दीप बिर्सिएर घडी नमागी सिधै घर गयो। घर आइपुगेर ऊ खाना खॉदै गर्दा घडी सम्झना आयो। उसले तुरुन्तै अमिरलाई फोन गर्यो। अमिर अनलाइन थिएन। झण्डै एक घण्टापछि ऊ अनलाइन आयो। सन्दीपले लेख्यो, “घडी ल्याइदेउ है भोलि।”
तर अमिरको उत्तर थियो, “मैले त लिएको छैन नि, तिमीले त बेन्चमै छोडेको होला!” सन्दीप स्तब्ध भयो।
“तिमीले मेरो हातबाट लिएको हो अमिर! बिर्सिएको हो र?”
“हैन, म कसम खान्छु, मैले लिएको छैन,” अमिरले जिद्दी गर्यो ।यो
सन्दीपको मन थिचियो। उसले आमालाई सबै बतायो।
आमा रिसाउनुभयो, “हामी पुलिसमा उजुरी गर्छौं!” उहाँले आफैँ अमिरलाई फोन गर्नुभयो, “बाबु, तिमीले लिएको हो भने भन, घरमा त छैन, हाम्रो सन्दीप झुट बोल्दैन।”
अमिरले भन्यो, “नाइ आंटी, म बेन्चमा हेर्छु, अनि भन्छु।”
केही मिनेटमै अमिरको फोन आयो, “घडी त सरको अफिसमा रहेछ, मैले लिएँ। उहाँले राखिदिनु भएको रहेछ।”
सरको अफिस त अमिरको होस्टेलबाट १० मिनेटको दूरीमा थियो। अमिर २ मिनेटमै कसरी भेट्टायो? यसले अझै शंका जन्मायो — के उसले साँच्चै बेन्चमा राखिदिएको थियो त? सन्दीप केही नबोली बस्यो।
उसको मनभित्र एउटा कुरा स्पष्ट भयो — “घडीको मूल्य पैसाले होइन, भरोसाले मापन हुन्छ।”
त्यस घटनापछि सन्दीपले अरू कसैलाई कहिल्यै आफ्नो घडी दिएन, तर एउटा गहिरो पाठ सिक्यो । भरोसा पैसाले होइन, व्यवहारले मापन हुन्छ। “भरोसा दिन सजिलो छ, तर जब त्यो टुट्छ, फिर्ता ल्याउन सकिँदैन।”
त्यस दिनपछि, उसले कहिल्यै घडी लगाएन।






