
संस्मरण कथा
विष्णु पादुका
धुवाँँको निकास
” आगी न्यानो न खरदार !” गुरी माखुर हुक्काको बिटभरी हुनेगरी भरेर एउटा हातले घुँडामा हात टेकाएर मचिया माथी बस्दै आगो माग्थिन् घर मुलि आमै । थारू गाउँको नजिक हुर्किए पनि थारूसँग नजिक हुने अवसर पाएको त्यही बेला हो मैले । पछिल्लो पल्ट सागरजीको थारू सम्बाद सुन्दा लोभ लागेर आउँछ । लोभ लागेका सबै कुरा कहाँ पाईदोरहेछ र ।
बहुदल र राजमार्ग अर्थात पिच बाटो हाम्रालागि खुब रमाइलो थियो त्यो बेला । भर्खर पिच भएको खेत भन्दा अग्लो राजमार्ग रातीमा आनन्दको हुन्थ्यो । हामी गर्मिका कति रात बाटोमै गफ गर्दै बिताउँथ्यौं । गफको प्रसङ्ग जे पनि हुन्थ्यो होला आज सबै सम्झिन सकिन्न । कति कुरा बिर्सेर पनि रमाइला हुने रहेछन् ।
भुगोल मात्र होइन जमिनको उचाइमा पनि मैनापोखर भन्दा बाँसगडी मटेरिया ककौरा अग्लो स्थानमा थिए । राजमार्गले मान्छेको मनोबल पनि अझ उठाएको थियो । बाटो छेउछाउका जग्गाले दैनिक आफ्नो भाउ थप्थ्यो । महिनैपिच्छे घर बनाउने ठेकेदार देखिन्थे । बर्षै पिच्छे नयाँ नयाँ पक्की घर बन्थे । कालोपत्रे सडक तिर सटर निकालेर घर बनाउने प्रतिस्पर्धा थियो । हेर्दाहेर्दै साना साना चोक बजारमा हुर्किसकेका थिए । खेती किसानीले मात्र जीवन निर्वाह नहुने गहिरो अविश्वास जन्मेको थियो गाउँ घरमा । अविश्वास बलियो गरि हुर्केपछी विश्वासमा फेरिने रहेछ ।
हाम्रो घर माटाको गारो र टायलको छानाको थियो । ककौरा स्कुलबाट टेस्ट पास भए पछि एसएलसी दिनु अघि ट्युसन पढ्न लगभग अनिवार्य थियो । त्यसमाथि म अंग्रेजी र गणित विषयमा कुन्नी कसरी बत्तीस ल्याएको विद्यार्थी थिएँ । अलिकति थप तयारी त गर्नै पर्थ्यो । अरु कुरामा हाम्रो क्षेत्र अगाडि देखिए पनि शिक्षामा अनि तलै रहेछ । हुलाकी सडक छेउको शारदा मा वि मा एसएलसीको सेन्टर थियो । आठ किलोमीटरको दुरी भए पनि डेरा लिएर पढ्नुपर्छ भन्ने मान्यता थियो । उसो त किलोमीटरको नापो अहिले आएर थाहा भएको हो । त्योबेला मटेरिया बाट मैनापोखर हिडेर जान तीन चार घण्टा लाग्थ्यो । तर हामी भाग्यमानी भै सकेका थियौं । हामी प्राय सबैसँग साइकल थिए । फोनिक्स चाइनिज साइकल चलाउनेको अलि माथिल्लो स्तर हुन्थ्यो । एट्लस ,एभन ,हिरो र हर्कुलसको दोस्रो दर्जा थियो । यसो सम्झिदा दर्जाको अदृश्य मापन सदैव हुने रहेछ ।
साइकलमा दुई नम्बर चामल ,एक मुठो दाउरा र केही सागपात अनि किताबको झोला लादेर हामी डेरा खोज्न मैनापोखर पुग्यौं । आफ्ना मावली घरमा बसेर पढ्ने बद्री समकक्षी साथी थिए । उनैको घर आँगनमा साइकल र सामान राखेर मनिराम ,खरदार र म मैनापोखरको तल्लो थारूगाउँमा पुग्यौं ।
त्यो बेला कुरा मिल्ने साथी थियौं हामी । यो कुरो भन्ने चिज अचम्मको हुने रहेछ । मिलिरहन नसक्ने । मिलिरहेर पनि मान्छेसँगै हुन पनि नदिने । हामी तीनजना साथिको दोस्ती नपत्याउँदो थियो । त्यसमाथि बद्रीको बसाइ फरक भए पनि उनी र हामी छुट्टिन गारो हुन्थ्यो । जब कि बिनाकारण आज भेटिन गारो हुन्छ । यी कुरा सबै मान्छेको उमेर , परिस्थिति , रुचि र समयका माग होलान् भनी चित्त बुझाउँछु म ।
हामी कोठा या घर खोज्दै गयौं । पक्की घर निकै कम थिए त्यता । भएका पनि हुलाकी सडक छेउछाउ । हिँड्दा पनि नाक छोपेर हिड्नुपर्ने । घुँडा सम्म धुलो हुन्थ्यो बाटोमा । एक लाइन ग्राबेल गरेका ढुङ्गा गिटि वल्लो छेउ पल्लो छेउ पुगेकाले गाडी गुड्दा किनारका मान्छेलाई लाग्ने डर हुन्थ्यो उछिट्टिएर । उसो त हामी भर्खरको कालोपत्रे राजमार्ग देखेर गएका भएर त्यस्तो लागेको होला । सडक छेवैमा भएका पसलहरू त्यही धुलो धुवाँसँग अभ्यस्त थिए । एउटा गाडी एक तर्फबाट आउँदा विपरीत दिशाबाट आएको अर्को गाडीलाई साइड दिँदा कतै पल्टेको कतै खाल्डो या हिलोमा फँसेको समेत देख्न सकिन्थ्यो । हुलाकी सडक कच्ची र साँघुरो हुन्छ भन्ने भ्रम तोडिन लगभग तीस वर्ष लाग्यो ।
मैनापोखर चोकबाट दक्षिण तिर जान्छ एउटा बाटो । लडियाको लिख भनौ न । लिख लिख भनिन्थ्यो , भन्नू पर्ने लिग रहेछ । त्यो बाटो रानीपुर फुटाहा हुँदै बलैगाउँ पुग्ने रहेछ । हामी गएका थिएनौ । त्यही बाटोको पश्चिम तिर खरदारको फुपुको छोरीको घर रहेछ । एक छेउमा लडिया राखिएको अर्को छेउमा तिनोटा खटिया र एउटा चुल्हो अट्ने ठुलै कोठा रहेछ । अडरको झिक्राले बारेर लिपिएको । खपडाले छाइएको नयाँ कोठा रहेछ । दुई सय महिनाको भनेपछि कोहि बसेका रहेनछन् । खरदारको आफन्त हुनाले डेडसयमा मिल्यो हामीलाई । भाग लाउन नि सजिलो भयो । लगभग ढाइ महिना बसिएला । आगो बाल्न मिल्ने पक्की कोठा त्यो मोलमा कहाँ पाइनु र । उसै पनि हामीसबै माटेघरमै बस्ने थियौं । एक दुई महिना डेराकै रूपमा भएपनी पक्की घरमा बस्न पाइन्छ कि भन्ने आस थियो मेरो । त्यो कसैलाई नदेखाइएको आस भर्सेलै पर्यो । फेरि पनि पढ्नु पहिलो प्रार्थमिकता थियो ।
थारुगाउँको रमाइलो भिन्न हुन्थ्यो । बाटा चाक्ला हुन्थे । खाल्डाखुल्डी भए पुरिएका हुन्थे । बाटोको दुबै छेउमा साना किला गाडेर राँगा या गोरू बाँधिएका हुन्थे । राँगा बेस्सरी काला र गोरू एकदम सेता देख्दा नौलो लाग्थ्यो मलाई । दुइटा लडिया मज्जाले ओहोरदोहोर गर्न मिल्ने चाक्लो बाटोमा खाल्डे खेल्ने केटाकेटी रमाइरहेका हुन्थे । बिहान हुँदो गोबर र पिसाब मिसिएको पराल या घुरान बालेर आगो ताप्ने बुढाबुढी देखिन्थे । घाम लागेपछि आगो निभ्थ्यो अनि नजिकैको किलामा गोरू या राँगा बाधिएका हुन्थे । प्रायः सबैको घरमा लडिया हुन्थे । गाउँका मुखिया प्रधान या बडघर भए लडु समेत हुन्थ्यो । माघी त्यसै रमाइलो फागुन लाग्दा बिहेको अर्को रमझम शुरु हुन्थ्यो । तर ती रमाइलोको पछि लाग्न दिएन त्यो कमजोर पढाइले ।
अंग्रेजी र गणितको त्रास सबैभन्दा बलियो थियो । शारदा मा वि मा गणितका शिक्षक निकै चर्चित हुनुहुन्थ्यो यादव सर । स्कुल नजिकै डेरा थियो । यादव नाम थियो या थर कहिल्यै सोधिएन । बुझिएन । हामीलाई उनको कुल होइन कला चाहिएको थियो सिकाउने । भारतिय मुलका जगदिस सरले सुत्र र साध्य घोकाउन जति लठ्ठीका छाप औंलामा उमारे पनि मस्तिष्कमा उमार्न सक्नु भएन । यादव सरले गणित छर्लङ्ग पारिदिनु भयो । कहिल्यै घोक्न भन्नू भएन । उहाँको गणितीय कला आजसम्म स्मृतिमा ताजै छ । यादव सर प्रती कुनै चिटिङ्ग नगरीकन पचहत्तर नम्बर ल्याएर मैले गुरूको मनितो घट्न दिइन । सिकाउने कला उहाँले जीवनमा पनि लागु गर्नु भयो । डेरालाई घरमा रुपान्तर गर्नुभयो । उहाँको प्रेम अमर रहोस् ।
अंग्रेजी पनि ट्युसन त पढियो । तर छब्बीस भन्दा माथी उक्लन सकिन । चिट चोर्न निकै डर लाग्थ्यो । रेस्टिकेट शब्द सुन्दा नै काँडा उम्रेर आउँथ्यो । कम्पार्ट परियो । जीवनको एक वर्षको आयु एबिसिडीले नमिठ्योसँग लुट्यो । अर्को वर्ष सदरमुकाम गुलरियाका भोलासरको शरणार्थी हुन पुगेँ । उहाँको योगदानले मलाई छब्बीस बाट छयालीसमा उकाल्यो । भोलानाथ सर प्रति पनि श्रद्धा पलाइरहन्छ । नेपालीका गोपाल गुरु , विज्ञान स्वास्थ्य का टिकाराम अनि लक्ष्मी र प्रजापति सरहरू पनि सजिलोसँग बिर्सने नाम होइनन् । आज सम्झिँदा उहाँहरूको मेहनत निकै बलियो थियो । म आफै कमजोर थिएँ । काँचो माटोको घैटोमा पानी भरिएको जस्तो थिएँ म । उहाँहरू भर्नु हुन्थ्यो म भत्किन्थेँ । म गल्थेँ भित्र भित्रै । परिस्थितिले आज कखरा र एबिसिडीकै गोरेटोमा घिच्याउँदा आजका नानीहरूको अनुहारमा म आफैंलाई देख्छु । एउटा बिन्दु देखि पठनको वृत्तसम्म सजिलोसँग बुझाउने प्रयत्नमा पच्चीस वर्ष सकाएको छु । यो उमेरको लगानी मासिक पारिश्रमिकसँगको मोलमा तुलना गर्दिन म । कसले कति मोलमा लिए त्यो कसै न कसैले देखाउलान् नै ।
पचहत्तर नाघेकी बुढी आमैले हुक्का तानेको हेर्दा नै आनन्द आउँथ्यो । हामीसँग चिम्टा त थिएन । उगुल्टो या दाउराको चिम्टा जस्तो बनाएर आगोको सानो फिलिङ्गो राखिदिन्थ्यौं हामी । उहाँको गुरी माखुर तान्दा आउने आवाज र कोठामा फैलिएको गुलियो धुवाँले हाम्रो डेरा सुगन्धित र सांगीतिक भैदिन्थ्यो । पुर्व फर्केको घर चाक्लो आँगन छेउमा दक्षिणतिर थियो त्यो कटेरो । पश्चिम पट्टीको आधा बारेको भागमा हामी बस्थ्यौं । बाहिर लडिया राखिन्थ्यो रे । तर हामी त्यहाँ बसेदेखी लडिया आएन । हिउँदमा लडिया खर्यान तिरै हुन्थ्यो । त्यो स्थान खुल्ला हुनाले खटिया र मच्चिया हुन्थे । बिहानको घाम ताप्ने स्थान भएको थियो । हाम्रो कोठामा ढोका थिएन । खटिया तेर्सो पारेर हामी ढोका बनाउँथ्यौं । हावा रोक्न एउटा पालको टुक्रा थियो । हिउँदमा आँधी चल्ने सम्भावना थिएन । त्यो खटियाको चेप बाट एक रात कुकुर छिरेछ । चामलको बोरा च्यातेर भुइँभरी बनाएछ । कुकुरले खाएर छोडेको चामलको भात नखाने भैयो । लगभग एक नम्बर चामल खेर गयो । कुकुरले दुख दिएको देखेर बिहानै बुढी आमैले सल्लाह दिइन् ” लबा खटिया दैदो लौरन के , दरवाजा तो बनेक् नाइ ।”
नभन्दै बेलुका नयाँ कुकुर पस्न नसक्ने खटियाको ब्यवस्था त भयो । तर हामी पनि सचेत भयौं । चामल दाल आदि सिमेन्टका बोरामा बाँधेर झुन्ड्याउन थाल्यौं पालिका काठमा । फोरेर बनाएका असनाका कडि बलिया थिए । बिहान र बेलुकी बुढी आमैको धुवाँले हाम्रो कटेरो डेरा गुरि माखुरमय भै रह्यो । ट्युसन पढेर फर्किँदा पनि एक खालको मन्द वासना स्थिर भएर बसेको हुन्थ्यो । दिनदिनैको यो सुवासले माखुर हेर्न छुन सुँघ्न मन लाग्यो । कहिलेकाही भरेर दिन पनि सहजै थियो । एक महिना नहुँदै बुढिआमैले मजाक गरिदिनु भयो , “चिखो न लौरा ! कैसन लागठ ? ” उनलाई म गुरि माखुरसँग नजिकिएको राम्रैसँग थाहा रहेछ । मलाई त्यसको धुवाँले आफुतिर खिचेको उनले नियालेकी रहिछन् । आगो माग्नुको साटो , ” ल्यो , सुल्काके न्यान्दो हुक्का ।”
बुढी औंला र चोर औंलाको कापमा हुक्काको पाइप अनि कापको माथिको भाग ओठमा जोडेर तान्दा धेरै नै धुवाँ भित्र गएछ । फोक्सो नै पोलेझैं भयो । खोक्दै निस्किएँ बाहिर । बुढी आमैले हुक्का तान्दै सिकाइन् ।
देख् ऐसेक ताने परठ्
अर्को पल्ट देखि घाँटी खसखसाए पनि स्वाद मीठो लाग्यो । टाउको रिँगाए पनि आनन्द लाग्यो । निकोटिनको स्वादमा म भिज्दै गएको एसएलसी दिएर घरमा फर्किदा बल्ल थाहा भयो । बिहान उठ्यो के के नपुगे जस्तो । खाना खायो भोक नमरे जस्तो । काम गर्न खोज्यो जाँगर नै न आउने । पानी पियो तिर्खा नमेटिने । छट्पटी बढी रह्यो । मङ्ग्ता दाजु हलो जोत्थे । उनको कमिजको खल्तीमा चुरोटका ठुटा हुन्थे । उनको नजिक पुग्दा नै मलाई राहत हुन्थ्यो । बा आमाको आँखा छलेर ठुटा सल्काए पछि बल्ल गुरि माखुरको तलतल मेटिन्थ्यो ।
लत लागि सकेको रहेछ । घरमा कसैले नखाने । म कसरी समेटिनु घरमा , चिन्ता त लाग्थ्यो । त्यो चिन्ता भन्दा धेरै तलतल बलियो थियो । लुकिछिपि , मागी चोरी लत बढ्दै गयो । उसले म माथी राम्रैसँग शासन चलायो करिव डेढ वर्ष ।
गोमा जाकेट चलेको थियो । दाइले दुई वर्ष लगाए पछि रंग खुइलिए पनि फाटेको थिएन । अझै दुई चारहिउँदको चिसो कटाउन सक्ने थियो । बिहानको चिसोमा लगायो दिन भर खामोको काँटीमा झुन्डिएको हुन्थ्यो । यो ज्याकेट साझा जस्तै थियो । बा दाइ म जसलाई खाँचो पर्यो लगायो । न्यानो थियो । कहिलेकाँही दिन भरी पनि लगाउँथेँ म ।
एसएलसी दिए पछि दिन फुर्सदिला थिए । फुर्सदमा लतले आफ्नो साम्राज्य मज्जाले फैल्यायो । सिला खोजेका धान र रविको मात्रा उत्ति भए पनि । चना मुसुरो र रहरको मोल दोब्बर तेब्बर हुन्थ्यो । बजारमा याकलाई खुकुरीले बिस्थापित गर्दै थियो । पैसा हुँदा पाकेट नै किनिन्थ्यो होलसेलमा । त्यो जाकेट लाउँदा निकै सावधानी अपनाउथेँ । बा आमाको नजिक नपरे पनि पुग्थ्यो । घरमा अरु कसैको मुखबाट चुरोटको गन्ध आउदैनथ्यो । मेरो गन्धले अरुलाई पिरल्यो कि पिरलेन थाहै भएन । सकभर आफुलाई जोगाउने प्रयत्न गर्थेँ । नालाको छेउछाउ लुकेर सर्को ताने पछि घर पुग्दा बामरीको मुन्टा या तुलसीको पात चपाउथेँ ।
दोश्रो पटक एसएलसी दिइयो । अंग्रेजीसँग पार पाउन एक वर्ष फालियो । त्यसपछि घरमा बिहेको चर्चा चल्यो । बा आमाको म कान्छो छोरो भए पनि उहाँहरूले मेरो घरजम बसाएर नवलपरासी गएर बस्ने योजनामा हुनुहुन्थ्यो । मलाई बिहेको चटारोले खासै छोएको थिएन । कोसँग कसरी गर्ने मेरो टाउको दुखाइ भएन । बा आमाले त्यो सबै औपचारिकता पूरा गरिदिनु भयो । मलाई पढाइमा भर्खर रुचि जागेको थियो एसएलसी पास भए पछि । भर्खर भएको बिहेकी दुलही नेपालगञ्ज महेन्द्र क्याम्पस पढ्थिन् । उनको छुट्टै संसार थियो । उनको र मेरो संसार एकै हुन सकेको थिएन । भरतपुर चितवनमा माइला दाजु प्राध्यापक हुनाले म बीरेन्द्र क्याम्पस पढ्न जाने भएँ । बाले बस चढ्नु अघि बस भाडा अनि पढाइ खर्च भनेर एक मुठी नोट हातमा राखिदिनु भयो । केही बेरमा आस्कोटको खल्तीबाट पाँचसयको नोट निकालेर , ” ला यो पैसाले चुरेट किनेर खायस् ।” भन्दै दिनु भयो । म पुरै सिताङ्ग भएँ । कुन दिन बिहान त्यो पुरानो गोमा जाकेट बाट बाले चुरोटका खिल्ली भेट्नु भएछ । राजमार्गको पिचमा उभिए पनि म जमिनमै भासिँदै गएको थिएँ । मेरो अनुहारको रंग उडेको थियो होला । म कुहेको कर्कलो भएर बाको खुट्टामा टाउको टेकाएँ । आँसु झर्न बेर पनि लागेन । टाढाबाट बस आएको देखियो बाले मेरो पाखुरा समातेर उठाउनु भयो । म बाको अनुहार हेर्न सक्ने स्थितिमा थिइन । भरतपुर नपुगेसम्म बाको अनुहार र बाको त्यो अन्तिम शब्द बाहेक मेरो मस्तिष्कमा केही आएन । त्यो तलतल त आउँदै आएन । त्यसपछि त्यसले फर्केर हेर्ने दुस्साहस पनि गरेन ।






