रुद्र अधिकारी
१.
उनको सुन्दरताले मन खिच्यो खास कुरा यही हो,
अनि बोलीमा पाइयो प्रेमील आभाष कुरा यही हो।
मनलाई कहाँ ताल्चा लगाउन सकिंदो रहेछ र ?
सरिफ यो मन मेरो भयो बदमास कुरा यही हो ।
२.
अग्रजको फाइदा खोज्ने दिमाग टाल्न बिर्सेछन् ,
ममा भएको स्वाभिमानलाई पखाल्न बिर्सेछन्।
चाकरी गर्ने बानी मान्छेमा हुनै पर्ने रहेछ,
त्यही गुण भगवानले ममा हाल्न बिर्सेछन् ।
३.
मबाट कसैको भजन नभएको मात्रै हो,
धनको जादुइ खनखन नभएको मात्रै हो ।
म कहाँ एक्लो छु र ?मेरा आफन्त थुप्रै छन् ,
खालि तिनमा आफ्नोपन नभएको मात्रै हो ।
४.
कालोलाई पनि सेतो देख्छन् आत्मा बेचेपछि,
हुन त कुकुरले हड्डी के छाड्थ्यो र भेटेपछि
उ बेइमान बन्नु कुन ठूलो कुरा भयो र ,
महादेवको तीन नेत्र भन्छन् धन देखेपछि ।
५.नजरको पत्थर फ्याँक्यौ मन धमिलो भयो,
मुस्कानको स्वीकृतिले चाहाना गहकिलो भयो ।
ब्यक्त कसरी गरुँ भनी अन्यौलमा थिएँ म,
तिम्रो कुरा बुझ्ने बानीले गर्दा सजिलो भयो ।
विशालनगर,काठमाडौ