भिसा
–कृष्ण बजगाईं
विदेशको मेरो पहिलो यात्रा थियो । चिडियाखाना अवलोकनका लागि निस्केको थिएँ । एयरपोर्टका कर्मचारीहरुले अनावश्यक दुःख दिए । अलिकति पैसा दिएर बल्लतल्ल बाहिर निस्केँ । एयरपोर्टबाट बाहिर निस्केर चारैतिर हेर्दछु । बाहिरका सबै क्षेत्र खुल्ला चिडियाखाना पो रहेछन् ।
त्यहाँका दृश्यहरु देखेर आश्चर्यचकित भएँ । भेडाहरु भाषण सुनिरहेका थिए । गधाहाहरु कुरा नबुझेर हाँसी रहेका थिए । मदारीहरुले बाँदरहरु नचाईरहेका थिए । फ्याउराहरु त्यसै कराई रहेका थिए । बिना काम कुकुरहरु भुकिरहेका थिए । मैमत्त साँढेहरु डुक्रिरहेका थिए । बाघको छाला ओढेका स्यालहरु सिंहासनमा थिए । चिडियाखाना संचालनका लागि नियम कानुन बनाउन उल्लुहरु संसद नामको स्थानमा उँघिरहेका थिए ।
दृश्यहरु आँखाले हेरेर स्मृतिमा नअट्ने भए । त्यसपछि भिडियो क्यामरा निकालेर खिच्न थालेँ ।
अनुमति बेगर किन फोटो खिचेको भन्दै प्रहरी हौ भन्ने दुई व्यक्तिले मेरो क्यामरा खोस्न थाले । मैले पर्यटक हुँ भनेँ । त्यसो भन्ने बित्तिकै मसँग पासपोर्ट होइन डलर मागे । अलिकति डलर दिएर तिनीहरुबाट छुट्कारा पाएँ ।
त्यसपछि अलिक ढुक्क भएर फेरि भिडियो खिच्दै थिएँ । हामी हुँदाहुँदै समाचार बनाउने तँ को होस् ? कसको अनुमतिले समाचार संकलन गरेको ? प्रेस पास देखा भन्दै आफूलाई पत्रकार भन्ने व्यक्तिहरुले मलाई धम्काए । डराउँदै मैले पर्यटक हुँ भनेँ । त्यसो भए हामीलाई रक्सि र मासु ख्वा भने । नजिकैको भट्टि पसलमा तिनीहरुलाई मासु र रक्सिको किनिदिएपछि सन्तोषको सास फेरेँ।
ती सारा झमेलाबाट मुक्ति मिलेपछि अब आनन्दले चिडियाखाना घुम्नु पर्ला भनेर सोच्दै थिएँ । भिसाको सकियो कहाँ घुमिराखेको भन्दै कसैले मलाई च्याप्प समात्यो । आत्तिदै अर्धनिद्रामा उठेँ ।
‘कस्तो समय आयो हँ ? सपना हेर्न पनि भिसा लगाउनु पर्ने ?’ रिसले बर्बराएछु ।
‘हामी सपना देख्नैका लागि म्यानपावर कम्पनीलाई थुप्रै पैसा तिरी भिसा लगाएर यहाँ आएका हौं ।’ मजदुर क्याम्प बसेको मेरो रुम पार्टनरले भन्यो ।
बेलायत