संस्मरण
संसारको पहिलो तीर्थस्थल मानिने बराहक्षेत्र पुग्दा
मुरारीराज मिश्र
मलाई लाग्छ, यात्रा भनेको केवल घुम्ने, खाने–पिउने र रमाउने क्रियाकलाप मात्रै होइन, यथार्थताको अनुभूति, फरक अनुभव, ज्ञान र आनन्दको प्राप्ति गर्ने माध्यम पनि हो । हजार शब्द पढेर, सुनेर बुझ्न नसकेको कुरा एकै हेराइमा स्पष्ट बुझिन्छ र यो अमूल्य अनुभव नै यात्राको उपलब्धि हो ।
कुनै नपुगेको ठाउँमा पुग्नुअघि त्यहाँको बारेमा मनले एकप्रकारको दृश्य कल्पना गरिरहेको हुन्छ । त्यहाँ यस्तो होला, उस्तो होला, पुगेर यसो गर्नुपर्ला, यसरी जाने होला ! तर त्यस ठाउँमा पुगेपछि मनमा बनेको काल्पनिक दृश्य अनायास फेरिन्छ । सोचाइ र वास्तविकतामा आकाश जमिनको फरक भेटिन्छ । यो रोचकता पनि यात्राको आनन्द हो ।
केही बर्ष अगाडि म भारतीय राज्य अरुणाचल प्रदेशमा पर्ने प्रख्यात तीर्थस्थल परशुराम कुण्ड पुगेको थिएँ । जानुअघि मेरो मनले त्यो कुण्ड सायद हाम्रै गोसाई कुण्डहरू जस्तै खालको वा त्योभन्दा पनि विशाल होला भन्ने सोचेको थियोे । यो सोचाइमा रम्दै त्यहाँ पुगेको मलाई, आफ्नो परिकल्पना भन्दा नितान्त बेग्लै एउटा सानो कुवाजस्तो कुण्ड देख्दा एकछिन अनौठो र खिन्नताको महसूस भएको थियोे । हुन त, भौतिकरुपमा ठूलो सानो हुनुभन्दा पनि त्यसप्रतिको आस्था र विश्वास महत्वपूर्ण हो तर मनले सोचेको भन्दा निकै फरक दृश्य देख्दा पत्याउनै मानिरहेको थिएन । हो, यस्तै अनौठोपन पनि यात्राले दिने एकप्रकारको बेग्लै खाले मजा हो ।
अयोध्या, वृन्दावन र नैमिषारण्यको तेह्रदिने धार्मिक यात्राको अवधिभर म, अञ्जन कट्टेल र वसन्त पाण्डे हरेक दिन एकै कोठाका सहयात्री बनेका थियौँ । यसै क्रममा हामीबीच यो यात्रापछि बराहक्षेत्रको भ्रमणमा जाने योजना बनेको थियोे । यसै योजनालाई मूर्तरूप दिने क्रममा २०८१ पौष १३ गते बिहानै हामी आन्तरिक पर्यटकको रुपमा घरबाट निस्कियौं । यात्राको योजनाकार मध्येका एक वसन्तदाइ भने घरायसी कारणले जान सक्नुभएन ।
हामी निस्किएको केही बेरमा ललितपुरबाट शिवप्रसाद ढुंगाना, सविता ढुंगाना, शिरोमणि रिसाल र सरस्वती रिसाल चढेको बस लिएर यात्रा व्यवस्थापक मोहनप्रसाद अधिकारीदाइ कुमारीगाल आइपुग्नु भयो । चालक सरोज खड्का तथा सहयोगी नवीन शाही ठकुरी र प्रशान्त रोक्का भाइहरूले हाम्रो सामान बसमा मिलाएर राख्नमा मद्दत गरे ।
बालुवाटारबाट सुनिल पोखरेल, विश्वनाथ पोखरेल र मिथिला पोखरेल यसअघि नै यता आइसक्नुभएको थियोे । उहाँहरू सहित सुशीला आचार्य, रमेशप्रसाद लामिछाने, पद्मा लामिछाने, अञ्जन कट्टेल, मीना कट्टेल, कल्पना मिश्र र पंक्तिकार मुरारीराज मिश्र यहाँबाट बसमा चढ्यौं । बिहानको झिसमिसेमै हामी चढेको बस पूर्वी क्षेत्रको चार दिने यात्राको लागि गौरीघाट, गौशाला, सिनामंगल, कोटेश्वर, बनेपा, धुलिखेल चोक, भकुण्डेबेसी हुँदै अघि बढ्यो ।
गतः बर्ष आएको बाढीले यहाँ जताततै वितण्डा मच्चाएको रहेछ । विनाशका अवशेष यत्रतत्र देखिन्थे । बगाएका र भासिएर बाटो, पुल, घर, पसल, पेट्रोल पम्प, रेष्टुरेन्ट आदिका कारुणीक दृश्यले मन चसक्क बिझाउँथ्यो । भत्किएका संरचना बर्षाैंसम्म पनि बन्न नसक्ने सहजै अनुमान गर्न सकिन्थ्यो । अवस्था देख्दा आगामी बर्षात्मा वीपी राजमार्गको यो खण्डमा यातायात बन्द हुने निश्चितप्रायः लाग्यो ।
मानवले जतिसुकै भौतिक प्रगति र सम्पन्नता हासिल गरेपनि प्रकृतिका सामु मानव सदैव निरीह छ भन्ने कुरा हामी सबैलाई थाहा छ । तैपनि हामी जानीजानी प्रकृतिसंग पौंठेजोरी खेल्छौं । खोला, बगर मिचेर संरचना बनाउँछौं । क्षणिक फाइदाका लागि गहन अनुसन्धान बेगर डोजर कुदाउँदै डाँडापाखा फोरेर अनावश्यक बाटो बनाउँछौं । विनाशका यी दर्दनाक अवशेष देख्दा धेरैजसो व्यक्तिगत क्षति यस्तै कारणले भएको ठम्याउन कठिनाइ पर्दैनथ्यो ।
प्रसिद्ध तीर्थस्थल कुशेश्वर महादेवको मन्दिर परिसर बाहेक सबै बगाएको रहेछ । यत्रतत्र बाढीले बगाएर थुपारेका ढुंगा र पाँगो हुनाले झट्ट हेर्दा बगर हो कि भन्ने भान हुन्थ्यो । त्यहाँबाट मुल्कोट, खाल्टे हुँदै खुर्काेट पुगेर बिहानको खानाको लागि बस रोकियो । त्यो दिन इटहरीमा पुगेर रात बिताइयो ।
हाम्रो आन्तरिक यात्राको एउटा मुख्य कठिनाइ भनेको बाटोमा शौच लाग्दा कुनाकाप्चा वा झाडीमा छिर्नुको विकल्प नहुनु हो । पाइला पाइलामा रमणीय प्राकृतिक स्थान र धार्मिकस्थल छ भनेर गर्व गर्ने देशका स्थानीय सरकारले आआफ्नो क्षेत्रमा कम्तीमा पनि सुविधाजनक शौचालयको व्यवस्था त गर्न सक्नुपर्ने हो ! सामान्य सुविधा पनि नदिए पछि कसरी हुन्छ पर्यटन प्रवद्र्धन ? यस्ता कुराहरू सम्बन्धित निकायको प्राथमिकतामा कहिले पर्ने होलान् खै !
हाम्रो यात्राको मुख्य उद्देश्य विष्णुपादुका र बराहक्षेत्रमा पितृमुक्ति हेतु श्राद्ध र वरिपरिका मठमन्दिरको दर्शन थियोे । भोलिपल्ट बिहान श्राद्धका लागि पिण्डेश्वर क्याम्पसमा अध्यापनरत पण्डित गोविन्द भट्टराई गुरुलाई लिएर गाडीमा विष्णुपादुका तर्फ लाग्यौं । धरान बजार कटेपछि कच्ची बाटो थियो तर माथिसम्म नै गाडी जाने रहेछ । विभिन्न जातका रुखले सुसज्जित डाँडाका हरियाली हेर्दै जाँदा बाटो काटेको पत्तै पाइएन । हामी बिष्णुपादुका पुग्दा भोलिपल्ट परेको पौषे ओैंशीको अवसरमा लाग्ने मेलाको तरखर हुँदै थियोे ।
धरान देखि ४ किलोमिटर उत्तर पश्चिममा पर्ने कोकाहा नदीको किनारको माथिल्लो भागमा रहेको विष्णुपादुका क्षेत्र प्राकृतिक दृष्टिले निकै रमणीय स्थानमा अवस्थित छ । यो सुनसरी जिल्लाको प्रख्यात धार्मिक स्थल हो । प्रत्येक वर्षको पौष शुक्ल औंशीका दिन आफ्ना पितृहरूको श्राद्ध र तर्पणका लागि ठूलो संख्यामा हिन्दू धर्मावलम्वीहरू यहाँ आउने गर्दछन् ।
बिष्णुपादुका मन्दिरको दर्शनको क्रममा त्यहाँका पुजारी ७३ बर्षे इमान सिह तामाङसँग गफगाफ भयो । उनका चौथो पुस्ता अघिदेखिका पूर्वजले त्यहाँ पुजाआजा गर्दै आएका रहेछन् । उनले जानकारी दिए अनुसार “बराह अवतारको काम सकिएपछि यसै ठाउँमा भगवान् विष्णुले, मोक्ष प्राप्त गर्न नसकेका आफ्ना पितृलाई तर्पण र पहिलो पटक श्राद्ध गरी श्राद्ध परम्पराको थालनी गरेका थिए रे ! त्यसै कारण, जसले यहाँ श्राद्ध गर्छ उसले भारतको काशी र गया गएर श्राद्ध गर्नु पर्दैन” भन्ने परम्परागत मान्यता रहेछ ।
श्राद्ध पश्चात् कोकाहा नदीको जल लगेर पिण्डेश्वर महादेवलाई चढाउनु पर्ने परम्परा भएकाले, हामीले पनि चलिआएको त्यो परम्परागत तोड्ने कुरै भएन । साँझ पिण्डेश्वरमा जल अर्पण र दन्तकाली लगायतका मन्दिर दर्शन गरि धरान, चतरा बजारको होटेलमा पुगेर बास बसियो ।
भोलिपल्ट पौषे ओैंशी, त्यसमाथि सोमबार । सोमबारे ओैंशीका दिन बिहान कसैसँग नबोली नुहाउनु पर्छ भनेर सुन्दै र देख्दै आएको हो मैले । यसरी नबोली नुहाउनुको अर्थ वा फाइदा के हुन्छ भन्ने चाहिँ मलाई थाहा छैन । जे होस, हामी मध्ये केहीले होटेलमै नबोली नुहाएर “अरूसँग बोल्ने बाटो फुकायौं” भने केहीले “नदीमै नुहाएर मात्र बोली फुकाउने” भए ।
बिहान सबेरै गाडी लिएर बराहक्षेत्र पुगियो । यात्रुको भीडभाडले कोशीको बगर भरिइसकेको देखिन्थ्योे ।
बाताबरण हल्का धुम्मिएको र हावा पनि चलिरहेकोले चिसो थियोे । वरिपरिका डाँडाकाँडा, नदी, वनजङ्गलका दृश्यले मन लोभ्याउँथे । नदीको कलकल र चराचुरुङ्गीको चिरविर आवाज भने मन्दिरमा बजेको स्पीकर र मानिसको हल्लाखल्लाको आवाजमा दविएको भान हुन्थ्यो ।
कोकाहा र कोशीको सङ्गममा स्नान गरेर नदी किनारामा श्राद्धको लागि आसन जमायौं । अघिल्लो दिनदेखि हामीसँगै रहनुभएका गोविन्द गुरूले विधिपूर्वक श्राद्धादि कर्म गराउनुभयो । पितृमुक्तिहेतु पुत्रकर्तव्य पूरा गर्न पाएकोमा सन्तोषको अनुभव भयो ।
कोकाहा खोला र कोशी नदीको दोभानमा रहेको वराह क्षेत्र, वाग्मती नदी तटमा अवस्थित पाशुपत् क्षेत्र, काली गण्डकी नदी र कागवेनी खोलाको शिरोभाग मुक्ति क्षेत्र तथा गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको सङ्गम एवम् कालीगण्डकी र गण्डकीको तिरमा रहेको रिडी वा रुरु क्षेत्रलाई नेपालका चारधाम भनेर मानिदै आइएको छ ।
दानव हिरण्याक्षले हरण गरेर रसातालमा पु¥याएको पृथ्वीलाई भगवान् बिष्णुले वराह अवतारको माध्यमबाट उद्धार गरि यथास्थानमा स्थापित गरेपछि वराह भगवान्को पूजाआजा सुरु भएकाले सुनसरी जिल्लामा पर्ने बराह क्षेत्रलाई संसारकै पहिलो तीर्थस्थल मान्ने गरिन्छ ।
ब्रह्मपुराण, हिमवत्खण्ड पुराण, वराहपुराण, पद्मपुराण, श्रीमद्भागवतपुराण लगायतका अन्य पुराण तथा धार्मिक ग्रन्थहरूमा पनि यहाँको महत्वका बारेमा उल्लेख गरिएका छन् । वराह क्षेत्र आसपासमा आदिवराह स्थान, सूर्यकुण्ड, चन्द्रकुण्ड, कुब्जाम्र, कोटिवट, धेनुवट, विष्णुपादुका र लोहार्गल लगायतका करिब तीन दर्जनजति उपतीर्थहरू रहेका छन् । भनिन्छ, हिन्दू पौराणिक कथाका चार प्रमुख धार्मिक क्षेत्रहरूमध्ये धर्म क्षेत्र र कुरु क्षेत्र भारतमा तथा बराह क्षेत्र र मुक्ति (नाथ) क्षेत्र नेपालमा रहेका छन् ।
श्राद्धादि कार्य सकेर बराह भगवान्को दर्शन गरियो । सवारीको निकै चापले बाटो अवरुद्ध थियोे । सडकजाम भएकाले हामीलाई लिन बस आउन सकेन, पैदलै अघि बढ्नुको विकल्प रहेन । गाडी भएको ठाउँमा पुग्दा ३ बज्नै लागेको थियोे । आजको बसाइ गाईघाटमा हुने कार्यक्रम भएको हुँदा फटाफट खाना खाएर बस चढ्यौं । बाटोमा चियापान र “बरमझियाको बाजेको असली पेडा” किन्ने काम भयो ।
भोलिपल्ट बिहान ५ बजे चिया खाएर गाईघाटबाट प्रस्थान गरेका हामी खुर्काेट पुगेर खानाको लागि रोकियौं । केहीले सिन्धुलीको जुनार, फर्सी र आलु किने । खानापछि कुशेश्वर दर्शन गरेर मंगलटार, भकुण्डेबेसी, धुलिखेल, बनेपा हुँदै घर फर्केर यात्राको समापन ग¥यौं ।