सपनाको पहाड नियाल्दा
मुरारीराज मिश्र
सपनाको पहाड (लघुकथासङ्ग्रह) ध्रुवराज थापा “पुरूष“ को प्रथम साहित्यिक कृति हो । शिक्षक, कलाकार, पत्रकार, गीतकार, कवि, लगायतका परिचय समेत बनाएका बहुआयामिक सृजनाका धनि थापाका कथाहरु २०५२ साल देखि नै विभिन्न पत्रपत्रिकामा प्रकाशित हुन थालेका हुन् । सक्रिय शिक्षण पेशाबाट हालै निवृत्त भएपछि उनले आफ्नो लेखन कार्यलाई तिब्रता दिन थालेका र सपनाको पहाड त्यसैको परिणाम हो ।
लघुकथा भन्नाले सामान्यतया हामी छोटो आकारको कथालाई सम्झन्छौं । यसको ठ्याक्कै एउटै परिभाषा छैन । साहित्यकार श्रीओम श्रेष्ठ “रोदन” को बिचारमा “लघुकथा कुशल फोटोग्राफरले खिचेका विशाल र सुन्दर दृश्यको सानो फोटो हो ।“ भने “न्यूनतम आख्यान भएको लघु गद्य संरचना नै लघुकथा हो । यसको प्रस्तुति तीव्र र अजटिल हुने हुँदा यो अति पठनीय हुन्छ ।“ भन्ने साहित्यकार मोहनराज शर्माको धारणा पाइन्छ ।
यसैगरी यसै पुस्तकमा शुभकामना दिंदै साहित्यकार ध्रुव मधिकर्मीले “आकार सानो हुँदैमा र विषय संक्षेप हुँदैमा त्यस्तो रचना लघुकथा हुन्न । सकभर एक दृश्य वा एक क्षणको आयाम मार्फत जीवनको एउटा महत्वपूर्ण सन्दर्भ वा घटनालाई प्रभावकारी रुपमा प्रस्तुत गर्नसक्नु लघुकथाको विशेषता हो“ भनेका छन् । प्रस्तुत कृतिमा समेटिएका लघुकथाहरु साहित्यकारका यिनै परिभाषा र धारणाको सेरोफेरोमा रचिएको देखिन्छ ।
सपनाको पहाडभित्र अख्तियार, आदर्श, अबिरजात्रा, पुरूषत्व, प्रेमालाप, ट्याटू, टीका र जमरा, पत्रुखाना, रूप, सुगर फ्रि, पशुवध, ट्राफिक, सोच, भुसप्रसाद, धर्म, जिन्दावाद लगायतका समसामयिक बिषयमा लेखिएका अन्ठाउन्नवटा लघुकथा समावेश छन् ।
कथाहरुमा बिशेषगरि सामाजिक, आर्थिक, पारिवारिक र राजनैतिक पाटोका संगति–विसंगतिलाई उजागर गर्ने प्रयास गरिएको छ । कथनी र करणीमा हुने फरक, द्वैध चरित्र, राज्य संरक्षित अपराधीकरण, राज्यका हरेक अङ्गमा रहेको बेथिति, आधुनिकताको नाममा फैलिएको विकृति, बृद्धअवस्थाका पीडा र विकसित नयाँ प्रविधिको फाइदा बेफाइदा समेत कथाको रुपमा आएका छन् ।
राजनैतिक नेताहरुका स्वार्थ, धर्म संस्कृतिको नाममा आएको विचलन, भाषाको अपमान, शिक्षा क्षेत्रमा बढेको अराजकता र सरकारी कार्यशैली उपर प्रश्न उठाउँदै कथाकारले समयमै सुध्रिन सचेत गराएका छन् । स्वेर कल्पनामा आधारित केही कथाहरु पनि सङ्ग्रहमा अटाएका छन् ।
आम जनताको हितमा काम गर्नुपर्ने सरकार अपराधीको संरक्षक बनेको कुरालाई (अबिरजात्रा-पृष्ठ ५) कथामा यसरी उतारिएको छ –
झ्यालबाट त्यो परिदृश्य नियालिरहेकी छोरीले आमालाई भनिन् “आमा त्यो बलात्कारी हत्यारा ज्याकी डन थियो नि, हो त्यो छुटेछ ! सरकारले उसलाई आम माफी दिएछ ! उसैको अबिरजात्रा हो !“
हाम्रो समाजमा राजनीतिक नेताहरुलाई कस्तो दृष्टिले हेरिन्छ भन्ने कुरा “स्यालले कुखुरा लग्यो“ भन्दै आफैं कुखुरा चोरेर दौडंदै गरेको नातिलाई देखेर हजुरबाले “कस्तो फटाह नाति रहेछ यो ! भोलि गएर ठूलै दलको खुंखार नेता होला जस्तो पो छ त !“ भनेको (छटेल-पृष्ठ ४५) प्रसंगले छर्लङ्ग्याएको छ ।
कृषिप्रधान भनिने देशमा “असार १५ मा गमलामा रोपाईं गर्ने, दुबोको मालाजस्तै गरी धानको बिउको माला लगाउने, नेताले धान रोप्न बनाइएको खेतको हिलोमा महिलासङ्ग लडिबुडी गर्ने र खेतमा रोपाइँभन्दा बढी फेसबुकभरि रोपाइँ गर्ने“ जस्ता हास्यास्पद क्रियाकलापलाई (विकृति-पृष्ठ ६८) कथाले संस्कृतिमाथि विकृति हावी भएको निराशाजनक अवस्थाको रुपमा चित्रित गरेको छ ।
मन्दिरमा वली दिएको दृश्यले दुखित विदेशी पर्यटकले गरेको प्रश्नमा “मन्दिरमा यसरी वली दिएपछि राम्रो हुन्छ, धर्म गरेको धर्म !“ भनि नेपालीले दिएको जवाफ र पर्यटकले अचम्भित हुँदै भनेको “ओ माई गड ! नेपालीले धर्म गर्दा त यस्तो, पाप ग¥यो भने कस्तो होला ?“ भन्ने (धर्म-पृष्ठ ८४) कथाको संवादले सोचमग्न बनाउँछ ।
यी केही उदाहरण मात्रै हुन् । छोटो आलेखमा सबै कथाको बारेमा लेख्ने सम्भव पनि हुँदैन । सम्पूर्ण कथाको मज्जा लिनलाई पुस्तक पढ्नै पर्ने हुन्छ । पाका उमेरका कथाकारका जीवन भोगाइका अनुभवहरु जस्ता लाग्ने सङ्ग्रहभित्रका कथाहरु छोटा र मीठा भएकाले पुस्तक पढिसकेको पत्तै हुँदैन ।
पाठकलाई आफैं कथाको पात्रको महसुस गराउन सक्नु लेखकको सफलता हो र यस मानेमा कथाकार धेरै हदसम्म सफल भएको मान्न सकिन्छ । यद्यपि प्रस्तुतिमा केही कमजोरीहरु नभएका भने होइनन् र कतिपय ठाउँमा मुद्रा राक्षसले पनि शिर उठाएको भेटिन्छन् तर सरल र सरस लेखाइका कारण ती कमजोरीहरु गौण लाग्छन् । एक पाठकको दृष्टिकोणबाट समग्रमा भन्नुपर्दा कृति सन्तोषजनक छ ।
अन्त्यमा, पहिलो कृतिगत प्रयासमै आफ्नो बेग्लै परिचय बनाउन सफल भएकोमा लघुकथाकार “पुरूष“ लाई पठनीय कृतिका लागि बधाई सहित आगामी दिनमा थप साहित्यिक सृजनाका लागि शुभकामना दिन चाहन्छु ।
कृति : सपनाको पहाड
विधा : लघुकथा
लघुकथाकार : ध्रुवराज थापा ’पुरुष’
संस्करण : प्रथम, २०८१ पुष २७
पृष्ठ : ८६+१४
मूल्य : २५०।–
.