२०८१ जेठ २९, काठमाडौं । यशस्वी पुस्तक पुरस्कार २०८१ का लागि पुस्तक पठाउन सबै लेखक तथा प्रकाशकहरूलाई यशस्वी प्रज्ञा प्रतिष्ठानले अनुरोध गरेको छ । २०८० चैतको अन्त्यसम्ममा नेपाल र नेपाल बाहिरबाट प्रकाशित नेपाली लेखकहरूले लेखेका नेपाली भाषा र अंग्रेजी भाषाका पुस्तकहरू तीन तीन प्रति यशस्वी प्रज्ञा प्रतिष्ठानको कार्यालय, घाटेकुलो, काठमाडौंमा २०८१ असार २१ गते शुक्रबारसम्म पुर्याउन अनुरोध गरिएको छ ।
यसरी सहभागी पुस्तकहरूमध्ये कथा, गैर-कथा, कविता, इतिहास/संस्कृति/अनुसन्धान र अनुवाद/विभिन्न विधाका पाँच उत्कृष्ट पुस्तकलाई पुरस्कृत गरिनेछ । सम्मानित पुस्तकलाई २०८१ भाद्र २२ गते शनिबार हुने तेस्रो काठमाडौं कलिङ-साहित्य महोत्सवमा पुरस्कृत गरिने छ । पुरस्कारमा बीस हजार नगदसहित सम्मानपत्र प्रदान गरिने जानकारी प्रतिष्ठानकी निर्देशक रञ्जना निरौलाले जानकारी गराउनु भएको छ ।