समय तिमीले मलाई कहिल्यै एक बचन नबोलेर,म तिर एक नजर नहेरेर नै मेरो समिपवाट चिप्लेर गयौ है । जहिले अविश्वास,आशंकाको घेरावन्दीमा पारेर मलाई अ्टटाहास हाँसो हासिरह्यौ । तिम्रो सौगात पनि अचम्मैको लाग्दो नि । तिम्रो बलिष्ठ र पोटिला पाखुराको अठ्याइमा परेका मेरा दिनचर्या थकित र गह्रित बन्दै गए । म चुपचाप तिमीलाई सुनिरहेँ । हेरिरहें लाटो भएर एकटकले । के थाहा⁄ तिम्रो यति विध्न बैगुनी रुप छ भनेर । न तिमीले मलाई एकबचन बोल्न दियौ,बरु नतमस्तक बनाएर तिम्रो क्रुरताको प्रहारले जहिल्यै क्षतविक्षत बनाइरह्यौ । मेरा पनि थिए नि सपना । तर तिनलाई विपनामा परिणत गर्ने कुरामा आशंकाको अबरोध सृजना गरेर तिनको हत्या गरेउ ।
अतित के सम्झनु अब वर्तमान नै गाह्रो छ मलाई । सम्झेर मन दुखी हुन्छ पो । केही गर्न नसकेको आभासले पिर्छ पो । हुटहुटी त मसँग नि नभको कहाँ हो र ⁄ समयले अत्याइरह्यो छिटोछिटो भनेर । हरसमय वातावरण मेरो विपक्षमा पर्दै गयो । मेरा हरेक सकारात्मक प्रयास प्रतिकुल परिस्थितिसँगको सघन जुधाइमा सुम्पिन परर्यो । यो ढोंङी र स्वाङी समाजको बुझाइको स्तरले मलाई खर्लप्पै निल्यो । समयको लिडेढिपी अगाडी म बबुरोको केही जोर चलेन । तिमी बग्दै गएसँगै म चिप्लिंदै गए । यति कठोर र निष्ठुर समय कि कहिले के बहानामा ठगिए त कहिले के बहानामा म चिमोटिए । इच्छा र आकाँक्षाहरु चोइटिएर पातलिए । धकेलिंदै गएँ म पछिपछि । तिमी भने म भन्दा कैयन कोश अगाडी पुग्यौ ।
थाहा त छ नि जिन्दगी र प्रकृति उस्तै हो, कहिले घाम कहिले पानी, दुःख र सुख हो जिन्दगानी । तर न मेरो जिन्दगीमा कहिल्यै सुखको घाम उदाउन दियौ । न मेरो ओठमा कहिल्यै मुस्कानको फूल फुलाउन दियौ । दियौ त केवल घाम नलागोस भनेर वादल पारी दियौ । असाध्यै तुँवालो फैलाइदियौ । ओठमा मुस्कुराएर प्रष्फुटन हुन लागेको कोपिलालाई निमोठिदियौ । समय खै तिम्रो कहाँ नेर चित्त दुखाँए मैले थाहै भएन । कहाँ नेर मैले तिमीलाई सम्मान गर्न चुकें पत्तै भएन । तिम्रो शीतलताको स्पर्शवाट मलाई सधै पर पारेउ ।
मैले विगतको अभिशप्त जिन्दगी केलाउने धृष्टता गरें तर उ भने झन केही बहानावाजी गर्दै के के मिसाइदिन्थ्यो । असुविधा, अभाव, पीडा, छट्पटी, दुःख, रोग, परिवार, समाज, नैतिकता,इमान्दारीता यस्तै यस्तै चिज हुन्थे समयले मिसाउने कुरा । म अपलक यिनमै रुमुल्लिइरहन बाध्य हुन्थें । समय दोष थोपथ्र्यो । उसको शक्तिको अगाडी म नतमस्तक हुन बाध्य पारिन्थें । तर म हार नमान्ने स्वभावको मनुवा प्रयास जारी राख्थें । यद्यपी मेरा हर प्रयास निरर्थक र कमजोर बनाइए । समयसँग पौठेजोरी खेल्न खोज्थें तर कुइनोले पहाड ठोक्काउँदाको गतिमा आफुलाई पाउँथे । उसँग नजिक हुन खोज्दा उ कता कता पर पुग्दै जान्थ्यो । म उसको पदचापमा हिड्न सकिन या जानिन कुन्नी ⁄ म निरास भइन कहिल्यै, हिम्मत बाँध्दै गएँ । सहजताका साथ स्वीकार्दै थिएँ सबै कुरा तर हात लाग्यो शुन्य । समय यति निष्ठुर बनेर मेरो अगाडी प्रस्तुत भयो कि मेरा मनका भावनाका गाँठाहरु निर्धक्क फुकाउनै दिएन । मेरो कुरा सुन्ने धैर्यता राखेर औपचारिकतासम्म पुरा गरेन उसले । मेरो जीवन सरल मार्गवाट जटिलतामा होमिदियो उसले । जहिले पनि अविश्वास र सन्देहभावमा मलाई हेरिरह्यो । मेरो अग्रगामी चेत उसको सामाजिक मूल्य र मान्यताको जातोमूनि पेलियो । जहिल्यै डर छोडीरह्यो समाजको । मेरो मनोबल कहिल्यै बलियो पार्न दिएन । लुलो बनाइरह्यो । कहिले के त कहिले के बहाना गरेर आशंकाहरुको साँघुरो घेरामा वन्दी बनाएर मेरा उत्साहहरुलाई चिमोटिरह्यो । मौनताभित्र बाँच्न वाध्य बनायो । राम्रै होला नैतिकता, सद्चरित्र र सदाचारको पाठ पढाउनु त तर आवश्यकता भन्दा बेसी नै रटाए जस्तो भान पर्यो । कस्तो अचम्म है समय तिम्रो र मेरो सम्बन्ध⁄ समय क्रमशः मेरो समिपवाट वग्दै गयो, चिप्लिदै गयो । म भने टुलुटुलु हेर्ने सिवाय केही गर्न नसक्ने असमर्थ बन्दै थिए ।
म जहाँको त्यहिं छु । म मा परिवर्तन खासै छैन । परिवर्तन छ त मेरो कपाल झर्न थालेको छ । केही केही सेता रंग मिसिएका केस छन् । अनुहारमा मुजा पर्न थालेको छ । धेरै कुराहरु विस्मरण हुन थालिसके । सिर्जनशील क्षमता घट्दो छ । मन एकोहोरो र तम्तम्याइलो लाग्दो छ । यही हो मेरो जीवन्त र यथार्थ तस्वीर । टिठलाग्दो र निरस छ जीन्दगी । विस्तारै विस्तारै परनिर्भरतातर्फ उन्मूख हुँदैछु म । हुन त यो देश नै परनिर्भर हो मेरो के कुरा गर्नु । समयको सोपान वुझ्न नसकिने रैछ । नत्र आज यस्तो हुने थिएन कि । तर मेरो अनुमान मात्र हो मिल्छ मिल्दैन थाहा छ्रैन् । म मा समसामयिक चेत पनि छ । उत्साह अझै पानी पानी भएको छैन् । कार्यक्षेत्रमा खटाई पनि राम्रै छ । कामप्रतिको उद्दात प्रेम र लगाव छ । तर पनि खास प्रगति देखिन्न । समयले चुसेको मान्छे म । समयको भेलले किनारामा पारेको मान्छे म । पट्यारलाग्दा समय मात्रै मसँग रहे । मेरो शक्ति र सामथ्र्यमाथि नजानिदो हस्तक्षेप लगायो समयले । खै जिन्दगीको बनोट र बुनोट नै टीठ लाग्दो छ बाबै । को सँग गुनासो गरुँ कसलाई पोखुँ दुखेसो!
मैले घरको भित्तामा अडेस लाउँदै सोंचे । चिन्तनमा डुँबे । गमे । मनन गरें । के गरिन ? आत्मसमीक्षा पनि नगरेको कहाँ हो र । म पात्रको परिचय गरें ।बाउ बाजेको बिंडो थाम्न के के गर्नुपर्छ सोचमग्न बनें । जहिले अभाव,छटपटी र पीडाले निधारमा कैयन दुःखका गह्राहरु बनाएर दुई छाक छार्न र लाज ढाक्न अनवरत लागिरहेका मेरा स्वर्गवासी हजुरबुबा सम्झे । जिन्दगीको यथार्थलाई मर्मस्पर्शी परिश्रमीको नजरवाट श्रद्धापूर्वक मनन गरिरहें । जहिले दुुःखको सागरमा आहाल बस्न बाध्य हजुरबा फाटेको कमिज र सुरुवालको सौता फेर्न आनकानी गरेको सम्झें । एक खिल्ली गोलफ्याक चूरोट किन्न नसक्दा तलतल मेटाउन ‘अरुसँग ओइ तेरो हात पोल्यो ले ’भनेर मागेको सम्झें । अनवरत काममा जोतिइरहे । उत्साह कहिले मारेनन् । तर कहिल्यै सहज थिएन जिन्दगी समयले ठग्दै लगेर । तर अन्तमा उनी निष्कर्षमा पुगे ‘बाबु जेठा, खेत खलियान, धुलो माटो मात्र हैन है यो जिन्दगी । समय धेर पर गैसक्यो । तँ त्यो सँगसंगै हिड्ने सामथ्र्य राखिस भने समयले सुख दिन्छ हैन भने समयले खर्लप्पै निल्छ तलाई ।’ उनको कुराले मेरो जिन्दगी जिउने तरिकामा परिवर्तन हुनपर्छ भन्ने निष्कर्ष दियो । हजुरबाले सुखका दिन नदेखि बैकुण्ठको यात्रा तय गरे ।
हजुरबाको कुरा त्यसबखत उति हेक्का राखिन भनौं उतिसाह्रो हेक्का राख्ने उमेर पनि भएको थिएन । तर उनको अनुपम चिन्तन र जिन्दगी प्रतिको बुझाई आज मेरो मनमा गढिरहेको छ । मैले उतिबेला सोचिन जीन्दगी कसरी सुखी बनाउने भनेर,जव अलिक बुझ्ने उमेरमा पाइला टेकें । आ चलेकै छ ⁄ मैले चल्नुको अर्थमा जिन्दगीलाई बुझें । तर निर्वाह हुनु र समयको गतिशिलतासँगै हिड्नु फरक हुन्छ भन्ने कुरा अथ्र्याउन पनि जानिन ।
आज हेर्छु मेरा साँढे तीन बीस काटेका बालाई । दुब्लो र कमजोर शरीर । लामो समयको शिक्षण पेशाबाट छुटकारा लिएर रिटायर्ड आरामको जिन्दगी बाँच्नुपर्ने बेला जहिल्यै छोराछोरी र परिवारको चिन्ता । समयभन्दा कतै यिनीहरु पछि पो परे कि ⁄ हामीले जिएको जीन्दगीको समीक्षा गर्छन् । उनले जहिले पनि परिवार भन्दा माथि आफु सोचेनन् । समयक्रमसँगै उनि जवरजस्ती घिसारिने यत्न गरिरहे । यसैले त विहान वेलुकाको हातमुख जोर्न धौ पर्ने मेरो परिवारलाई उनको संघर्षपूर्ण जीवनले दुईछाक खान पुग्ने बनाइछोड्यो । आफ्ना आवश्यकताहरुलाई मनमै गाँठो पारेर भएपनि मेरा बाले हामीलाई विश्वविद्यालयसम्मको शिक्षा दिलाए । यो उनको समयसँगको जीत थियो । सार्थक जिन्दगी जिए बाले । मलाई लाग्छ । एउटा असचेतहरुको भीडबाट बाहिर निकाले हामीलाई । चेतनाको दीयो जलाए । र पनि उनलाई चिन्ता छ केटाहरुले जिन्दगीलाई समयको लयमा हिडाउँन जानेनन् । बाबुको बिडो धान्न सकेनन् कि ⁄ हिजोका अभाव र गरिवीसँग पौठेजोरी खेल्दै तिनै समय र परिवेशमा आफ्ना दैनिकीहरु झेल्दै आएका बा लाई त्यस्तो लाग्नु अस्वभाविक पनि त छैन् ।
आज सम्झन्छु, मेरा बा अभावका जाँतोहरुमा पिल्सिदा होस या समयको क्रुर डोजर लाग्दा पनि मुस्कुराएको पाउँथे । शान्त र सौम्य अनि सादगी ब्यक्तित्व । उतिवेला बाले भनेको अहिले नि याद हुन्छ मलाई ‘बाबु अरु जे बने नि मास्टर नबनेस । ’ आफ्ना जिन्दगीका उर्वर समय करिव दुई वीस मास्टरी गरेका बाले आफ्नो पेशाप्रति गर्व गर्न सकेनन् । यस्तो समर्पण अन्यत्र लागेर गरेका भए जिन्दगीका दुर्दिन आउँने थिएनन कि बा को अनुमानले घर गरेर हुनसक्छ । मलाई समयले साउती गर्दै भने जस्तो लाग्छ त कस्तो जीवन जिउँछस् त्यो त मा भर पर्छ प्रदीप । तर समयप्रति वितृष्णा, आक्रोस र निराशा पोखेर केही हुन्न है । समयक्रममा हिड्न भरमग्दुर प्रयास गर । परिपाठ मिलाएर अघि बढ । अनावश्यक सोच्न छोडिदे । मलाई समयको भनाई सार्थक र मेरो जिन्दगीसँग मेल खाएको महसुस पनि नभएको कहाँ हो र ।
म पनि मेरा बाको निर्देशनको पदचापमा नहिंडेको किमार्थ होइन । तर सयमले भन्यो ‘तेरो बाको पालामा र अहिले धेरै नै अन्तर छ म मा । फरक ढंगले हिंड तँ ।’ तर मैले समयको लयमा आफुलाई हिडाउन सकिन या जानिन । समयले मलाई आफ्नो गतीमा हिड्न जारी गरेको फर्मान मैले शिरोपर गर्नै जानिन । न अरुसँग दाँजे जिन्दगीलाई न मनले मैले माझें । यहाँ अक्षरमा लेखिसाध्य भए पो । मन त्यसै त्यसै रन्थनिएको छ । मनमा अनेक प्रश्नहरुले घर बनाउँछन । तर निरुत्तर हुन्छु तिनमा म । समय अघि म पछि पो परें कि ⁄ समयले मलाई स्पर्शसम्म गर्न पो सकेन कि ⁄ किन समयले मायालु मुस्कान छर्न सकेन मेरो जिन्दगीमा ? किन उसको संगसंगै मलाई हिडाउन सकेन ? यस्तै यस्तै उत्ताल तरंगहरुले मनलाई घच्घचाउँछन् । तर मेरो मन नाजवाफ छ । चुपचाप छ । उसको भावभंगी र रुपरँगमा कुनै परिवर्तन छैन् । यसो हेर्छु,समयले ब्याट बनेर मलाई हान्दैरह्यो । म भने बल बनेर उसको ठोकाई खाँदै रहें । यो क्रम निरन्तर जारी छ । समयसँग जुध्न मानसिक रुपमा तयार भएको कुरा मैले पटक पटक दोहोर्याएको छु । तर पनि सबल भने हुन सकिन् । हेरौं अझैं आधा जिन्दगी त बाँकी छ । म प्रयासरत छु समयको सङ्घार छुन् समयसँग नजिक हुन र उ माथि विजय प्राप्त गर्न । आगे जे त होला ।