ललितपूर ।
फरक हुँदोरहेछ समयको गति पनि
दुखकै बेला बिग्रदोंरहेछ मान्छेको मति पनि ।
यस्तै भावको गजल प्रस्तुति थियो युवा गजलकार रुविना रानाको । राम्रो मान्छेको समसामयिक चेतले भरिएको गजल । वर्तमान देशको परिवेश र समयको गतिलाई पक्डेको थियो गजलले । कवि शुसान्त केसी कविता मार्फत आमाको काख खोज्दैथे । उनले प्रतिकात्मक रुपमा धेरै कुरा खोजे । उता प्रदीपराज श्रेष्ठ गजल मार्फत मायाप्रेमका कुरा गर्दैथें र उनी भन्थे साँचो प्रेम गर्नलाई कुनै बहाना चाहिँदैन् । कवि कल्पना दाहालले देशमा सर्वत्र व्याप्त बेथितिका विरुद्ध कटाक्ष गरिन् । डडेल्धुराकी कवि पार्वतीले पनि मुक्तकमा व्यँग ठोकिन् ।
शान्ति शर्माले लयमा गजल गाइन् भने हरिष कल्पितले देशकै वेतालको अबस्थालाई चित्रण गर्दै रमिता छ देशमा कविता वाचन गरे । अर्का कवि रविन्द्र थापाले कलियुग शिर्षकको कविता सुनाए । विहानी विस्तारै घर्कँदै गर्दा साहित्यिक माहौल भने उम्दो हुँदै थियो ।
रचना बाचनकै क्रममा कवि प्रदीप सापकोटाले गाउँको मान्छेलाई शहरले कसरी अवसान गराउँछ भन्ने भावनाको कविता सुनाए । उता प्रा.डा.शैलेन्दु प्रकाश नेपालले महाकवि देवकोटालाई स्मरण गर्दै घरज्वाईँ बस्नु भन्दा बुँगो बन्नु राम्रो भन्दै मुक्तकले माहोल तताए । आफुले मन्त्री खाने रहर पालेको कुरा अप्ठ्यारो नमानी स्पष्ट राखे पूर्वी रुकुमका राजनीतिज्ञ कैलाश कुमार मल्लले । उनले आफ्नो कविता पनि सुनाए । यसैगरी बरिष्ठ कलाकार नगेन्द्र थापा जो चलचित्रहरुमा खलनायकको रुपमा चिनिन्छन् उनको भाषणमा पनि देश दुखेको चिन्ता प्रष्ट देखिन्थ्यो । उनले बडो मिठासपूर्ण भावमा “देशले भन्छ साहित्यकार बौद्धिक वर्ग हो , वेथिति विरुद्ध कलम चलाउ ” आग्रह थियो उनको । उनको मन्तब्यमा समाज र मुलुकको चिन्ता प्रतिबिम्बित थियो । उनले थपे “राजनीति विकृत भयो,यसले जनतामा निराशा छायो अब यसको विरुद्ध तपाई साहित्यकारहरुले हो आवाज बुलन्द गर्नुपर्ने ।”
सोलमारी रेष्टुरेन्ट इमाडोल । सुन्दर तर सरल हल । हलमा छन् तीन दर्जन भन्दाबढी स्रष्टा,सर्जक र श्रोता । ‘समाजको मुहार साहित्यसेवामा’भन्ने नारा लिएर महालक्ष्मी साहित्य समाजले दोस्रो वार्षिक उत्सव मनायो । नजिकिएका तिहार,नेपाल सम्बत र छठको अबसर छोपेर शुभकामना आदानप्रदान गर्यो । जहाँ पूर्वि रुकुमदेखि डडेल्धुरा अनि पूर्वका शंखुवासभासम्मका साहित्यकारहरुको जमघट थियो ।
भर्खरै साहित्यिक यात्रामा निस्किएका नवोदित स्रष्टादेखि केश पाकेका तीन बीस वय पार गरेका साहित्यकारहरु समेत सामेल थिए । साँढेसात बजे सुरु गर्ने भनिएपनि निर्धारित समयभन्दा ढीलो कार्यक्रम थालनी भएको र लामो भएको गुनासाहरु पनि थुप्रै सुनिए ।
यसैगरी झरना साहित्य परिवार मकवानपूरका अध्यक्षले आफ्नो सँस्थाको प्रचार मज्जैले गर्न भ्याए । र गजल बाचन गरे । ‘आमोइ’का स्रस्टा गोपाल सञ्जेलले पनि रचना बाचन गर्ने क्रममा भाषण ठोक्न समेत भ्याए । उनले महाकवि देवकोटाको स्मरणमा कविता बाचन गरे । कवि विमल भौकाजीले लामखुट्टेको प्रतिकात्मक बिम्बमा सुन्दर कविता वाचन गरे ।
तीन बीस कटेका पूर्व शिक्षक गोविन्द बहादुर खड्काले हत्पतले कोरेर फत्फत गर्न लागेको भन्दै सबैलाई हौस्याउँदै नेताको हाँसो,जनताको पासो शिर्षक व्यँग कविता सुनाए । अरबौं लिनुपर्नेलाई छुट,खादा माला भन्दै कवितामा समसामयिक यथार्थको सत्यापन गरे । मुक्तक मार्फत व्यँग गरे विकृतिविरुद्ध राजाराम राउतले । पूर्वेली कवि पदम दाहालले छन्दमा कविता गाए ।
कलानिधि दाहालको जहिल्यै ब्यँग हान्ने बानीको निरन्तरता आजको कार्यक्रममा पनि देखियो । आफ्नो मन्तव्यको क्रममा साहित्य साधना भएकोले यसमा निरन्तर लागिरहनुपर्नेमा जोड दिए । साहित्यमा संकल्प,निरन्तरता र समर्पणको आवश्यकता औल्याए । अहोरात्र खट्न पर्नेमा पनि बल दिए । “आज एक दिन कविता सुनाउँदैमा कोही कवि हुँदैन् ।” उनको धारणा थियो । यसैक्रममा उनले पनि कवितामा लक्ष्मीप्रसाद देवकोटा सम्झिए ।
बीच बीचमा विभिन्न जनप्रतिनिधिहरुका राजनीतिक भाषण पनि सुनिए । राजनीतिक कटाक्ष गरिरहँदा केही साहित्यकारहरु तालिपिटिरहेथे । कार्यक्रम सबै खाले घुलन गरि मिश्रण गरिएको थियो । एउटै थलोमा रचना बाचन,सम्मान,शुभकामना आदानप्रदान,जनप्रतिनिधि, साहित्यकार र कलाकारहरुका भाषणले कार्यक्रममा रौनकता थपेको अनुभूति मिल्थ्यो ।
कार्यक्रमका प्रमुख अतिथि थिए बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल । राजनीतिक छिटाले साहित्यमा विकृति आएकोले साहित्य कमजोर हुँदै गएको तर्क थियो पौडेलको ।
“अब राजनीतिलाई साहित्यकारहरुले हस्तक्षेप गर्नुपर्ने अबस्था आएको छ । साहित्यकारहरुबीच कित्ता काटाकाटको अबस्था देखिएको छ ।” पौडेलले देशमा यस्ता विकृति बढ्नुमा साहित्यकारहरु पनि दोषी भएको तर्क गरे ।
सक्नेलाई खेल रहेछ नसक्नेलाई जेल रहेछ जागीर
न हर्ष न विस्मात कौवालाई……….रहेछ जागीर । बलशाली प्रतिकात्मक भावको गजल सहित केही थान मुक्तक पनि पस्किए । २० जना स्रष्टाहरुले कविता,गजल र मुक्तक सहितका रचनाहरु बाचन गरेको उक्त कार्यक्रममा विगतका कार्यक्रममा प्रमुख अतिथि हुनेहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
आयोजक संस्थाका अध्यक्ष श्रीराम पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष एवं कलाकार सुशिल पोखरेलले गरेका थिए ।
सहभागिता र प्रस्तुतिको हिसावले उच्च रहेको कार्यक्रममा केही कमि कमजोरी पक्कै देखिए । कार्यक्रम सञ्चालकले बेशी समय लिनु,महाकवि देवकोटाको ११६ ओं जन्मजयन्तीको सन्दर्भमा माल्यार्पणको तयारी नहुनु,रचना बाचन गर्ने स्रष्टा मन्तव्यतिर समेत समय लिनु आदि । समयको पावन्दीलाई संस्थाहरुले ख्याल गर्ने हो भने यस्ता कार्यक्रम अझ प्रभावकारी हुनेमा दुईमत नहोला ।