काठमाडौं । निबन्धकार एवं गीतकार मुकुन्दराज शर्माको निबन्धकृति ‘धोबीघाट मेलोडी’ सार्वजनिक भएको छ ।
ललितपूर उपमहानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन,प्रा.डा.दयाराम श्रेष्ठ,बरिष्ठ कवि डा. विष्णुविभु घिमिरे,बरिष्ठ नाटककार अशेष मल्ल,बरिष्ठ निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ लगायतले एक कार्यक्रम विच सार्वजनिक गरे ।
प्रमुख अतिथि महर्जनले धोबीघाट आफ्नो जन्मथलो नजिक भएको बताउँदै त्यहाँको ढुँगे धाराको पानी पिएर आफु हुर्केको स्मरण गरे । उनले निबन्ध पढ्दा मज्जा आएको भन्दै निबन्धमा आफुलाई छोएका प्रसंगहरुको चर्चा गरे ।
अर्का बक्ता बरिष्ठ नाटककार अशेष मल्लले भावलाई शब्दमा अभिव्यक्त गर्न सिपालु निबन्धकार शर्माको पुस्तक पढेपछि चित्र हेरेजस्तो,संगीत सुने जस्तो,महाकाव्य पढेजस्तो अनुभूति गराएको बताए ।
यसैगरी गीतकार एवं कवि एसपी कोइरालाले शर्मालाई गीत लेख्न नछोड्न आग्रह गरे । उनले निबन्धहरु इमान्दारी ,बौद्धिकताको कसीमा घोटिएका भएको बताए ।
बरिष्ठ कवि डा. विष्णुविभु घिमिरेले शर्माको लेखनीका पक्षहरुको बारेमा चर्चा गरे भने बरिष्ठ निबन्धकार श्रीओम श्रेष्ठले शर्माका निबन्धहरुमा मौलिकता हावी भएको बताउँदै नभनिकन धेरै भनिएको र आफ्नो जस्तो गरेर लोककै कुरा बोल्ने निबन्ध आएको बताए ।
निबन्धकार मुकुन्दराज शर्माले आफ्नो निबन्धका रचना गर्भ सुनाउँदै निबन्धको केही हरफ बाचन गरे।
कृतिबारे समीक्षात्मक टिप्पणी निबन्धकार कुमारी लामा र प्रा.डा.दयाराम श्रेष्ठले गरेका थिए ।
निबन्धकारका दाजु एवं बरिष्ठ कलाकार हरिहर शर्माले स्वागत मन्तब्य व्यक्त गरे । पूर्वमन्त्री उमेश श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गायक पुष्प नेपालीले शर्माद्धारा रचित गीत गाएका थिए भने कार्यक्रमको सञ्चालन वरिष्ठ सञ्चारकर्मी एवं कवि ठाकुर बेलवासेले गरेका थिए ।
यस कृतिलाई कामना न्यूज पब्लिकेसन्सले प्रकाशनमा ल्याएको हो ।