काठमाडौ । संबेधानिक प्रावधान अन्तर्गत विभिन्न प्रदेशहरुले आआफ्नो आगामी आर्थिक वर्षको वजेट प्रस्तुत गरेका छन् ।
यसैअनुसार गण्डकी प्रदेशले आर्थिक वर्ष २०८१।०८२ को लागि ३२ अर्ब ९६ करोड ८५ लाखको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला मन्त्री टुकराज गुरुँगले आज प्रदेश सभामा सो बजेट प्रस्तुत गरेका छन् ।
यसैगरी सुदुर पश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको निम्ति साढे ३१ अर्बको बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले प्रदेश सभाको बैठकमा उक्त बजेट आज प्रस्तुत गरेका हुन् । आगामी आर्थिक वर्षको लागि लुम्बिनी प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला मन्त्री चेतनारायण आचार्यले ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका छन् ।
कोशी प्रदेशमा भने केन्द्रले दिने अनुदान घटेपछि वजेटको आकार पनि केही घटेको छ । आर्थिक मामिला मन्त्री रामबहादुर मगरले ३५ अर्ब २७ करोड रुपैयाँको बजेट प्रदेशसभा समक्ष पेश गरे । जुन अघिल्लो आबको तुलनामा करिब १ अर्ब रुपैयाँ कमको बजेट हो ।
यसैगरी कर्णाली प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला मन्त्री महेन्द्र केसीले ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँको बजेट आजको प्रदेशसभा बैठक समक्ष प्रस्तुत गरेका छन् । बागमती प्रदेशमा भने विभिन्न दलले प्रदेशसभा बाहिर गरेको प्रदर्शनको कारण सभाको बैठक बस्न नसकी वजेट प्रस्तुतीमा केही ढिलाई भएको थियो । बागमती प्रदेशका आर्थिक मामिला मन्त्री जगन्नाथ थपलियाले ६४ अर्ब ५२ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट बागमती प्रदेशसभामा प्रस्तुत गरेका छन् ।