काभ्रे । काभ्रेको पनौतीमा जेठ शुक्लपक्ष द्धवादशीदेखि प्रारम्भ हुने पनौती जात्रा सुरु भएको छ ।
जात्रै जात्राको शहर पनौतीमा यो जात्राको धेरै महत्व छ । इन्द्रेश्वर महादेव,भद्रकाली,उन्मत्त भैरव र ब्रम्हायणीदेबीसँग सम्बन्धित पनौती जात्रा धेरै प्राचिन जात्रा हो । जेष्ठशुक्ल द्धवादशीदेखि पूर्णिमाको रातसम्म यो जात्रा मनाइने प्रचलन छ । नेवारीमा ज्याः पुन्ही भनिने पनौतीको जात्राको बेला किसानहरु खेतीपातीमा ब्यस्त रहन्छन् यसैले नेवारी भाषामा ज्याःपुन्ही भनिएको हो ।
पनौती जात्रामा चिउरी,घुम,केरा बेच्न पलाञ्चोक,डाँडापारीदेखिका मानिसहरु आउँछन् । त्यसैले यो जात्रालाई घुम जात्रा,च्यूरी जात्रा भनेर पनि भन्ने गरिएको छ । बर्षातको संकेत गर्ने जात्रा हो यो । जात्रा मनाउँदा सबैतिर हिलो हुने भएर होला हिले जात्रा पनि भनिन्छ ।
जेष्ठ शुक्ल पूर्णिमाको दिन जात्रा नमान्ने कोही हुन्न भन्ने भनाईले पनि जात्राको महिमा देखाउँछ । यतिवेला चारदिनदेखि पनौतीमा हावाहुरी लाग्ने र वर्षा हुने गर्दछ । जात्राको दिन पानी कुनैपनि हालतमा पर्दछ । यो जात्राको धार्मिक महिमा र महत्व धेरै छ । परापूर्वकालदेखि यस समयमा पनौती पारीपट्टिका ब्रम्हायणी र भद्रकालीको पूजा गर्न जानलाई कठिनाइ परेपछि बुगमती ललितपूरबाट बासुकी नाग पनौती आएर पुण्यमाताको उर्लदो बाढीमा साँघु जस्तै बनि तेर्साे परेपछि देउतालाई पारी तारिएको थियो । त्यसैको सम्झना गर्दै जात्रा मनाइएको किंवदन्ति पनि छ ।
जात्रा लाग्ने नजिक रहेको पुण्यमाता खोलामा हरेक बर्ष त्रयोदशीको दिन नागको प्रतिकको रुपमा बाँस तेस्र्याएर समय लिएर पार गर्ने गरिन्छ । तीन दिनसम्म चल्ने यो जात्रामा पुण्यमाता तरेपछि सम्पूर्ण देवीदेउताको पूजाआजा गर्ने चलन रहीआएको छ ।
यसैगरी इन्द्रेश्वर महादेव मन्दिरको पूर्वमा रहेको गणेशको मुर्तिलाई खटमा राखेर नगर परिक्रमा गर्ने चलन पनि छ । इन्द्रेश्वर,भद्रकाली र महादेवका ३ वटा रथ तयार गरी एकापसमा जुधाउने कार्यक्रम पनि कम्ति रोचक छैन् । रथ जुधाएसंगै अविर जात्रा पनि हुन्छ । यो रथ जुधाई कामक्रिडासँग सम्बन्धित छ ।
नेवारी भाषामा न्हयकेगू भनिने पूजाका सामाग्री र सुकुण्डा बोकेर कर्मचार्यहरु विस्तारै हिड्नुपर्ने चलन चलिआएको छ । उनीहरु खोलापारी गोरखनाथ पुगेपछि नाग आसनबाट उठ्ने भएकोले ती नागराजाको कृपाले पानी र रोपाई सफल हुने विश्वास रहीआएको छ । जात्रा रोके अनिष्ट हुन्छ भन्ने कुरा पनि चलिआएको छ ।