रसुवा । रसुवामा यो प्रत्येक बर्ष गंगा दशहरा पर्व अन्तर्गत हिन्दुहरुको पवित्र मानिएको तीर्थस्थल गोसाइँकुण्ड स्नान गर्नका लािग भक्तजनहरुको भिड लाग्न थालेको छ ।
दर्शनार्थी भक्तजनहरु सुलाद्री पर्वत आरोहण गर्न थालिसकेका छन् ।
यो संगै गोसाइँकुण्ड मेला प्रारम्भ भएको छ । पर्यटकीय तथा धार्मिक महत्वको यो स्थान जसलाई शिवकुण्ड नामले पनि चिनिन्छ । कुण्डमा दशहरा र जनाई पूर्णिमामा हजारौं श्रद्धालु भक्तजनहरुको भीड लाग्छ । प्राकृतिक मनोरम छटाले भरिएको यो स्थानमा विभिन्न कुण्डहरु छन् । भैरवकुण्ड,सरस्वतीकुण्ड,पार्वतीकुण्ड,सूर्यकुण्ड जस्ता १०८ कुण्डहरु रहेको यो ठाउँ पर्यटकीय दृष्टिले समेत चर्चित छ ।
४३८० मिटरको उचाईमा अबस्थित आकर्षक धार्मिक र पर्यटकीय स्थल गोसाइँकुण्ड जहाँ तामाँग संस्कृतिसँग पनि साक्षात्कार गर्ने अबसर मिल्छ । लामटाँग,नयाँ खाँग,याला पिक ,गणेश हिमाल,मनास्लु हिमाल लगायतका हिमश्रृँखलाहरुको रमणिय दृश्यापान गर्न पनि पाउने स्थान हो यो ।
मनले चिताएको पुरा हुने ,पाप पखालिने ,पुण्य कमाइने प्रचलित धार्मिक महत्व र विश्वासको कारण पनि यहाँ तिर्थालुहरु जाने गर्दछन् । यो बौद्ध एवं हिन्दु दुबैको साझा आस्थाको केन्द्रको रुपमा रहेको छ । जनैपुर्णिमा र दशहराका दिन विशेष मेला लाग्ने भएकोले यो समय यहाँ बढी भिडभाड नै हुन्छ । समुन्द्र मन्थन गर्दा निस्केको कालकुट विष महादेवले पिएर घाँटीमा पुर्याएको र त्यसपछि भएको छटपटी मेटाउन निलाद्री पर्वत पुगेको कहावत छ । त्यहाँ पुगेर भूइँमा त्रिशुल बजार्दा निस्केको जलले प्यास र त्यो कालकुट विषको जलन मेटेको पौराणिक धार्मिक कथासँग पनि यो ठाउँको महिमा जोडिएको छ ।
यहाँ जानको लागि काठमाडौंबाट बसयात्रा गरी धादिगको गल्छी हुँदै नुवाकोट पार गर्ने अनि रसुवाको धुन्चेबाट पदयात्रा थालनी गर्दै सुन्दर प्राकृति दृष्यको आनन्द लिंदै जान सकिन्छ । कम्तिमा ४ दिनको समय उपयुक्त हुन्छ । सुन्दरीजलबाट पनि जान सकिन्छ । आउनुहोस तपाई पनि धार्मिक तथा आन्तरिक पर्यटक बन्नुस र धार्मिक महिमा तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण गोसाइँकुण्डको यात्रा गरी पुण्य कमाउनुहोस । प्रकृतिको सुन्दरतासँग रमाउनुहोस ।
र