डा. श्यामसुन्दर राजवंशी
सबैको आ आफ्नो कूल परम्परा होला । कोही तिथि जताजता हिँडेको छ त्यही हेरेर चाडवाड पनि उतैउतै हेरेर मनाउने होला तर अधिकाँश नेवारहरुको कूल परम्परा त्यस्तो होइन । हाम्रो परम्परा चाडवाड मनाउँदा घडिपला होइन बिहानको सूर्योदयले जे तिथि लिएर सूर्य उदाएको हो अर्को सूर्योदय नभएसम्म त्यही तिथि मानेर चाडबाड सम्पन्न गर्दछौं । हाम्रो ज्योतिषीय परम्परा पनि त्यही नै हो । अहिले जतिपनि पञ्चाङ्ग पात्रो प्रयोग गर्दै आइरहेका छन् ती सवै सूर्योदयको आधारमा गणना गरी बनाइएका हुन् । पञ्चाङ्ग पात्रो अहिले जति पनि उपलव्ध छन् ती सवै सुर्यको गति गणना गरेर नै बनाइएका हुनाले चन्द्रोदय समाति रहनु परेन । फेरि तीमध्ये एउटा पनि पञ्चाङ्ग चन्द्रोदयको आधारमा गणना गरिएका होइनन् । त्यसैले हाम्रा पूर्वजहरुले हाम्रो कूल परम्परा शास्त्र सम्मत छ यसमा कतै पनि विचलित भइरहनु पर्ने जरुरत छैन भनेर सिकाएको हुनाले अहिले पनि बेझिझक कूल परम्परा नै समाउनु पर्दछ ।
हामीले मनाउने दशैं (मोहनीचाड) गथाँमुग देखिने एक अर्को चाड जोडिंदै आएको हुनाले महत्वपूर्ण विशेषताले युक्त भइ महान चाड दशैं भनेको हो । गथाँमुगको दिनमा त्रितत्वलाई जागृत अवस्थामा ल्याउने क्रिया गरिसकेका हुन्छौं । त्यसपछि गुंपुन्हीको दिनमा नौवटा तत्व मध्ये त्रितत्वलाई सापारु क्रियाले पञ्चमहाभूतमा परिणत गराई ११ तत्व पूर्ण गराइसकेका हुन्छौं । त्यसपछि येंया क्रियामा पञ्चकर्मेन्द्रिय थपिन आउने भएपछि १६ तत्व पूर्ण हुन आउँछ । यसरी पञ्चमहाभूत,पञ्चज्ञानेन्द्रीय, पञ्चकर्मेन्द्रीय र मन समेत १६ तत्व पूर्ति भएकोले ती १६ तत्वकोशुद्धिको लागि १६ श्राद्धकोक्रिया गरेको हो । यसरी १६ तत्व मिलेको पितृपक्ष भएकोले १६ श्राद्धको महत्व बढेको हो ।
पूर्णिमान्तमानको तिथि अनुसार आश्निन कृष्ण पतिपदाको दिनमा १६ श्राद्ध लाग्छ । यसलाई पितृपक्ष भनिन्छ । किनकि कृष्ण पक्षमा पितृको दिन हुन्छ । हामीले नदेखिने चन्द्रमाको गोलाधृको माथिल्लोभागलाई पितृ लोक भनिएको छ । यता शुक्लपक्ष हुँदा पितृलोकमा अँध्यारो हुन्छ त्यसैले त्यता रात हुन्छ । यता कृष्णपक्ष हुँदा पितृलोकमा उज्यालो हुने भएर त्यहाँ दिन हुन्छ । यस रीतले हाम्रो एक महिना भनेको पितृलोकमा एकदिनहुन्छ ।त्यहि भएर यता कृष्णपक्षलाई पितृको दिन र पितृपक्ष भनेको हो ।
यो आश्विन कृष्ण पितृपक्षलाई विशेष महत्वको दृष्टिले हेर्ने हाम्रो परम्परा हो । किनकि संसारमा भएका यावत् सकल प्राणीको उद्धार हुने पितृकोदिन भएकोले १६ श्राद्धमा आफन्त चिनाजानका सकलको नाममा श्राद्ध गरी पिण्ड दान गर्ने चलन छ । पितृको अधिष्ठाता देवता अर्यमा हो । उनलाई हामी सीकिद्य पनि भन्दछौं । उनै अर्यमा भनेको मैहुँ भनेर भगवान श्रीकृष्णले अर्जुनलाई गीता बताउँदा भनेको विश्वास गरेको छ ।उनै सीकिद्यले यावत् प्राणीको नाममा दिइएका पिण्ड ग्रहण गर्ने गर्छ भन्ने विश्वास रही आएको हो । हाम्रो हरेक चाडवाडमा सीकिव्व भनेर भाग राख्ने चलन अनिवार्य छ । यति क्रिया शुद्ध भएपछि गर्भाधान स्थीर हुने हुन्छ ।
यति क्रिया शुद्ध नभइकन जमरा राख्ने गरिंदैन । त्यहीभएर आश्विन शुक्ल प्रतिपदाको दिन घटस्थापना गरिन्छ । यो घटस्थापना भनेको गर्भाधान क्रिया हो । यसले गर्भको क्रियाशक्ति गर्नु परेकोले यो गोप्य ढंगले शक्तिदेवीको विशेष पूजा हुने गरेको हो । त्यो शक्ति देवी नवदूर्गा भएको हुनाले नवदूर्गाको नामबाट नवरात्रि पूजा हुने गरेको हो । कतिपयले नवरात्रिमा नौदिनसम्म नौजना कन्या पूजा गर्ने चलन छ । यसको पूजा विधान कुमारी तन्त्रमा उल्लेख छ । त्यहीभएर हाम्रो कूल परम्परामा चन्द्रोदयको धारमा नगएको हो किनकि तिथि टूट हुनगएमा नौदिन लगात्तार गर्नुपर्ने क्रियामा पनि विचलन हुन जाने भय हुन्छ ।
सप्तमी र अष्टमीको योग हुने दिनमा अष्टमी अर्धरात्री व्यापी भयो भने त्यही दिन कालरात्री पूजा गरी अष्टमातृकाको भावमा कूछिभ्वय भनेर भोज खाने चलन छ । यो भनेको कूलोद्धारको कामना गरी कूलपरिवार मर्यादाक्रमले लहरै बसी भोज खाने भएकोले कूलछि भ्वय भनेको हो । यो भोजमा मानाले नापेर च्युरा राखी भोज खाने भएर कूछि भ्वय भनेको होइन । यो दिनमा जमरा राखेको ठाउँमा अष्टमातृकाको भावमा हामीले प्रयोग गर्ने अनेक वस्तुहरु प्रतिष्ठा गर्ने गरिन्छ । अष्टमातृकालाई भोज चढाएर कूलपरिवार सकल बसी भोज खाइन्छ । यो भोज वास्तवमा वीर भोजन हो ।
चन्द्रोदयको तिथिलाई मात्र हेर्ने अरु यथाथर्थ तिर नलाग्नेहरु अष्टमी र नवमी एकै दिन परेकोले पहिले अष्टमी को क्रिया गरयो त्यसपछि नवमीको क्रिया गर्ने गर्दछन् । यो हाम्रो परमपरा अनुसार मिल्दैन । किनभने हाम्रो रीतमा कूछिभ्वयको काम नसकिकन स्याकोत्याको गरिंदैन । त्यसैले अघिल्लो दिन कूछिभ्वय् गरेर भोलिपल्ट मात्र स्याकोत्याको (नवमीको ) हुने हुनाले कूछिभ्वय् र स्याकोत्याको एकैदिन गरिंदैन । यसको मतलव अष्टमी र नवमी एकै दिन गरिंदैन ।
आश्विन शुक्ल नवमीको को दिनमा मोहनी भनेर पालामा कालो टिका प्रतिष्ठा गरेर षोडशोपचारले पूजा गरी दूर्गालाई बलि दिएर शक्तिदेवीलाईतृप्त गराइन्छ । त्यही प्रसादलाई सीकाभू भनीसिउ प्रसादग्रहण गर्ने गरिन्छ । त्यस दिन जति पशुवलि दिइन्छ त्यसरी दिइएका पशु जति पशुयोनीबाट मुक्ति पाउने महायज्ञ सरह भएको ले त्यो दिन महानवमी स्याकोत्याको भनेको हो । यो दिनको हिंसा विधानपूर्वक हुनेहुनाले यसलाई विहितहिंसा भनिन्छ ।
यसरी विहित विधान बुझेर गरिएको कार्य भएकोले सीकाभू गरिएको हो । तन्त्रोक्त विधान अनुसार पञ्चमकारयुक्त क्रिया गरिने भएकोले यो क्रिया वीरभाव हो । यो क्रिया ब्राम्हणहरुलाई बर्जित भएको हुनाले उनीहरु आफनो कुल परम्परा अनुसार गर्ने गरिन्छ । हाम्रो पञ्चमकार युक्त क्रिया मा मद्य मांस मुद्रा मत्स्य,मैथुन यति पाँच कुरालाई भनिन्छ । त्यसमा मद्य भनेको रक्सी,मांस भनेको मासु, मुद्रा भनेको बारा मत्स्य भनेको माछा र मैथुन भनेको अण्डा यति हाम्रो क्रियामा प्रयोग हुन्छ ।
आश्विन शुक्ल दशमीको दिनमा चालँ भनी कुभिण्डो काट्ने काम हुन्छ । तयसलाई बाहिर लगीफालिन्छ । त्यसपछि मोहनी कालोटिका लगाइ भोज खाइन्छ । यसदिनमा आफुभन्दा जेठोको हातबाट टिका थापी आशिर्वाद लिने चलन छ । तयसैले यस दिनलाई टिका पनि भनिन्छ । यो दिनमा ठाउठाउँमा पायो जात्रा(खड्गजात्रा) पनि निकाालिन्छ । यसरी मोहनीको टिका प्रतिष्ठा गरेर त्यसैको प्रसाद ग्रहण गर्ने चाड भएकोले यसलाई नेवारहरुले मोहनी नखः भन्ने गरेको हो । यसरी हामीले प्रकृति परमेश्वर परमेश्वरीलाई मुग्धपारी तृप्त बनाइ आफनो देहमा देवी शक्ति प्रतिविम्वित गराएको भाव हो । त्यसरी स्याको त्याको गरेको चारदिन पछि विसर्जन गर्ने भनेर जमरा रोपेको ठाउँको कुरा बढारेर दैलोमा फालिन्छ । यसलाई चतुर्थी गरेको भनिन्छ । यहाँ उप्रान्त दशैं समाप्त हुन्छ तर बाहिरका आफन्त नाता कुटुम्वहरु कोजाग्रत पूर्णिमा समम नै मान्यजनबाट किा थाप्ने भनेर आइरहन्छन् र आफुहरु पनि मान्यजनको हातबाट टिका थाप्न जाने र जमरा टिका लगाई दशै.को चहलपहल गर्दै आउने चलन छ ।
निष्कर्ष
पञ्चाङ्ग पात्रो बनाउने र पञ्चाङ्ग पात्रोले सबैको संस्कृति संस्कारलाई मुखरित पार्न सक्दैन । हाम्रो चाडवाड भनेको आफनो कूल परम्परा अनुसार हुने हुनाले सबै चाडवाडसित अन्तरसम्वन्ध जोड्दै जोड्दै आउनु पर्ने विशेषता कायेम रही आएको छ । हाम्रो चाडवाडको दर्शनलाई हृदयंगम गरेर हामीले पालना गर्दै आएका हौं भविष्यमा पनि त्यसरी नै पालन गर्दे जानुपर्दछ भन्ने हाम्रो मान्यता हो । यसमा होइन कहाँ हुन्छ तिथि जुनवेला जुनदिन सर्छ त्यही दिन गर्नु पर्दछ भन्ने जोजो छन् त्यो दर्शन उनीहरु पालन गर्दै जाउन् । त्यसमा हाम्रो कुनै आपत्ति हुनु पर्ने जरुरी छैन । त्यसतै हाम्रो कूल परम्परा बमोजिम हरेक कुराको अर्थ बुझेर पूर्खाले शास्त्रोक्त ढंगले विचार गरी यसरी नै गर्दै लानुपर्दछ है भनेर सिकाइएका कुरामा अव आएर घडिपला हेरेर चाडवाड मनाउनेहरुको लहैलहैमा लाग्न जरुरी छैन नलागौ । नवदूर्गाले सवैको कल्याण गरुन् ।