हाम्रो नेवार बुद्ध धर्मसँग नङ र मासु जस्तै सम्बन्ध रहिआएको हाम्रो रिति, स्थिति चाडपर्व एवं संस्कृतिहरूको उपयोगिता र महत्व हाम्रो नेवारहरूले विस्तारै विस्तारै बिर्संदै आइरहेका छौं । परम्परादेखि चलिआएका ती विविध रिति स्थिति एवं संस्कृतिलाई फेरि पुनर्जागरण गरी नयाँलाई स्पष्टसँग चिनाउने उद्देश्य लिई ‘इखबर नेट’ नामक समाचार मिडिया आउनु हामी समस्त नेवारहरूको लागि समय सापेक्षिक कदम र गौरवको विषय हो । यसलाई दीर्घकालिन एवं निरन्तरतालाई सहयोग गर्न सहयोग गर्नु हामी सबैको दायित्व हो । यस इखबर नेट मार्फत हाम्रो महान चाड मोहनि नख:को पावन उपलक्ष्यमा समस्त नेपाली दाजुभाई दिदिबहिनीहरूमा हार्दिक शुभेच्छा प्रकट गर्न चाहन्छु ।
हामीहरूको यो महान चाड “मोहनि नख:” लाई विविध सम्प्रदायले विविध नामकरण गरी रमाई रहेका पनि पाइन्छ । तर नेवार समुदायले यो चाडलाई हजारौं वर्षदेखि “मोहनि नख:” नै भन्न रुचाएको देखिन्छ । यो मोहनि चाडलाई घटस्थापना (न लास्वने) १ पचिमह्र २ कुछि भ्वय (महा अष्टमी ) ३ स्याक्व: त्याक्व: (महानवमि) ४ चालन (विजया दशमी) ५ पाया: (पदयात्री) छ भनी पाँच दिन भव्य रूपले मनाउँदै आइरहेको पाइन्छ ।
नलास्वने (घटस्थापना) प्रतिपदाका दिन नेवारहरू सुचिनिचि गरी आगम कोठा सफा गरी जौ रोपी वलाभ्यघ : (विशेष प्रकारको गर्भको प्रतिक माटोको भिउट) ले छोपी प्रकृतिको गर्भ रहेको प्रतिकका रूपमा नलास्वने (जमरा) रोप्ने हुन्छ । यही दिनदेखि विहान अध्यारोमा दश दिनसम्म नवरथ वा नवरात्री भनी विभिन्न दश वटा तीर्थको सेवा गरी स्नान गरेर पाप पखाल्ने उपाय कौशल्य गरिन्छ । साथै पातको बोहटामा फुल, टिका नैवेद्य आदिले पूजा गरी धूप र झलल वत्ति बाली पवित्र गंगा रूपी खोलामा बगाइदिने हुन्छ ।
यसरी बोहटामा बत्ति बाल पूजा गरेर नवरथमा बगाउने संस्कृति भारत ,थाइल्यान्ड आदि कृषि प्रधान देशमा पनि चलिआइरहेको छ । तर हाम्रो दुर्भाग्य हिजो,आज यस प्रकारको नवरात्री चर्या वन्द हुन गएको छ । कारण खोला जति सबै गु र मुत बग्ने ढल गरिदिएका छन् । रक्षकहरूको लापरबाहिले वस्तुत खोलानाला प्रति श्रद्धा जगाउन नै तीर्थसेवा नवरथ मेलाको आरम्भ भएका हुन् । पचिमह्र पूजा— घटस्थापनाको पाँचौं दिनलाई पचिमह्र भनिन्छ । काठमाडौंको दक्षिण भेगका किसानहरू टेकु दोभानमा नवरथको तीर्थ मेला भरी आफ्नो दिवंगत पूर्खालाई भैरव आजु भनी पूजा गरिन्छ । सर्वसाधारण्ले पनि तीर्थमा स्नान गरी भैरवको पूजा गर्छन् ।
कुछि (दुईमाना) वा कुलछि भ्वय—
महाअष्टमीका दिन नेवारहरू सुचिनिचि गरी बेलुकीपख मोहनि चाडको “छोयलाभु’ भोज खाने प्रचलन छ । त्यो दिनदेखि टीकाको दिनसम्म नेवारहरू भात नखाने हुन्छन् । कुलछि अर्थात् आफ्नो कुलका समस्त बाबु, बाजे, बजै आमा, काका, काकी, दाजुभाइ, छोराछोरी भतिजा भतिजी, नाति नातिनीहरू समस्त एकैस्थानमा भेला भई आ–आफ्नो रोल क्रम अनुसार बसी भोजन गर्ने परम्परा छ । यसरी आफ्नो घरका सदस्यहरू बसी मेलमिलाप साथ भोजन गर्नु पर्ने नियमले गर्दा नै यो भोजलाई कुलछि भ्वय यानी आफ्नै कुलका परिवारको भ्वय भन्ने अवधारणा रहीआएको छ ।
यो मोहनिको नख: भोजमा यति गौरव अनुभव गर्दछन् कि नयाँ धानको च्युरा, आफ्नै हातले फलाएका गेडागुडीको परिकार साग मासु (छोयला) मासको रोटी, अदुवा, कालो भट्मास, जाँड रक्सी समेत स्वआर्जन गरेका परिकार रहेको हुन्छ । यसरी धेरै प्रकारको परिकारहरू राखेर दुई मानाको च्युरा समेत हुने हुँदा हरियो ठूलो ठूलोपात मा हाली खाने हुनाले पहिलो मोहनि भ्वयलाइ कुछिभ्वय भन्ने जन श्रुति पनि रहिआएको छ । जे होस यो कुछिभ्वयले समस्त परिवारलाई एक सूत्रमा बाँधी आफ्नो पौरखको कृषि उत्पादन गरेको वस्तुमा गर्व गर्ने र स्वावलम्बी बन्ने संकेत गरेको छ । मोह निःशेष गर्ने मोहनि चाड नेवारहरूको विशेषता हो ।
स्याक्व ट्याक्व (महानवमि)—
महा अष्टमीको भोलिपल्ट महानवमीका दिन आ–आफ्नो कुलपूजा गर्ने र धान भरेको, चामल भरेको मानाहरूदेखि लिएर समस्त आफ्नो आजीविका गर्ने सरसमानहरू, कृषिका साधनहरू, लुगा बुन्ने तान, धागोका तान मेशीन, च्युरा कुट्ने वखल, धान कुट्ने डिकी, पुस्तकहरू र वैद्यराजहरूले औषधिहरू पनि पूजामा स्थापना गरी पूजा गरिने हुन्छ । यस महानवमीमा घटस्थापनामा रोपेको जमरा (नलास्वन स्वा) उखेली देव देवी तथा सबै सामानहरूलाई पनि पूजा गर्ने हुन्छ । एउटा कुनामा मुला, अदुवा, उखु र कसै कसैले कुभिन्दोमा अत्यन्त अहंकार र द्वेषका प्रतिक रावणको मुख कुभिन्दोमा लेखी स्थापना पनि गर्ने हुन्छ । अरू पनि नेवार बुद्ध धर्म वज्रयान अनुसार पूजा गरिन्छ । तर वज्रयानीहरू काटमारको काम नगर्ने हुन्छ । केवल अहंकारलाई दमन (संयम) मा राख्न उत्प्रेरणा दिन्छ ।
यसस्याक्व ट्याक्वमा विशेष गरेर बत्तिको ध्वाँसोलाई मोहनिको टीका भनी माटोको सानो पालामा तेलले ल्याप ल्याप लिपी त्यसमा राग, द्वेष, मोह, मात्सर्य र कौशिद्यका प्रतिक पञ्चबुद्धहरूको नाम लिई सबै परिवारको राग, द्वेष, मोह आदि नाश होस् भनी अधिष्ठान गरी बत्ति बाली पूजा गरिन्छ । पछि यही बत्ति माक :दलु भन्ने मोहनि टीका बनाउने भाँडामा सारिन्छ र तेल लिपेको माटोका पाला बत्तिमाथि छोपी दिने हुन्छ । यसरी त्यो माक :दलुमा तेल थपि एक दुई घण्टा बालेपछि त्यो बत्तिको ध्वाँसो माटाको पालामा जम्मा हुन गई मोहनि भनिने कालो टीका तयार हुन्छ । त्यो कालो टीका लगाई दिँदा यो श्लोक पढ्ने प्रचलन छ ।
अज्ञान पटलं वत्स व्यपनीत जिनैस्तव ।
शलाका वैद्य राजेन यथा लोकस्य तिमिरम् ।।
अर्थ—हे बाबुु ! वैद्यराजले मनुष्यहरूको आँखाको रोग (तिमिरम्) लाई निको पार्न औषधिको अंजन (गाजलको शलाको) प्रयोग गरे जस्तै तिमीहरूको अज्ञानता (मोह) रूपी पटल (पर्दा) हटाउन यो कालो मोहनि (ध्वाँसो) को टीका लगाई दिएर बुद्धहरूले तिम्रो अज्ञान रूपी राग, द्वेष, मोह, मात्सर्य र कौशिद्य नाश गरिदिन्छ भन्ने यो श्लोकको भाव हो । अतः यो श्लोकले मोहनि भनेकै मोह हटाउने उपाय कौशल हो । रागादि क्लेश सबैमा हुन्छ नै तर त्यसलाई राम्ररी बुझि नियन्त्रणमा ल्याउन प्रेरणा दिने दिन भनेकै स्याक्व ट्याक्व हो । किनकि यी राग, द्वेषलाई जति स्या भनेको मार्न सक्छ ट्या भनेको त्यतिकै हाम्रो विजय हुन्छ भन्ने सन्देश यो स्याक्व टयाक्वको महानवमीले हामीलाई दिएको छ । मोह (अज्ञानता) लाई नि (निशेष) गरी हटाउने दिन भएकाले नै यो महान चाडको नाम मोहनि हुन गएको हो । राग, द्वेष, मोह आदि नाश गर्न सकेमा मात्र समन्वय मेलमिलाप हुन्छ । आत्मनिर्भर बन्न सक्छ स्वावलम्बी हुन सक्छ भन्ने ज्ञान मोहनि चाडले दिइरहेको छ । यो हजारौं हजार वर्षदेखि चलि आइरहेको नेवार बुद्ध धर्मको लक्ष्य हो ।
चालन (विजया दशमी)
आ–आफ्नो घरमा चालनको दिन स्थापना गरी राखेका सबै वस्तुहरू चालनका दिनमा पूजा गरी संचालनमा ल्याउने हुन्छ । त्यसैले यो दिनलाई चालन भनिएको हो । उखु, अदुवा, मुला वा अहंकारी रावणको मुख लेखेको कुभिन्दो पनि लहरै परिवारको मुलि पुरुषहरूदेखि लिएर सबैले पूजा गरी चण्डहास खड्ग (दुवैतिर धार) भएको खड्गले काट्ने हुन्छ । घरमूलिले टीका जमरा लगाई यही आशीर्वाद पनि दिने हुन्छ । विवाह भई पराई घर गएका छोरी नातिनी, फुपु, भदा भदैनि आदिलाई पनि बोलाई टीका जमरा लगाइ आशीर्वाद दिइन्छ । ज्वाइहरूलाई पनि घर बोलाएर नखत्या भोज खुवाई टीका जमरा दिइ आशीर्वाद दिइन्छ । यो दिन कसै हराएको वा जितेको दिन होइन आफ्नै क्लेश मारहरू राग, द्वेष, मोह, मात्सर्य, कौशिद्यलाई परास्त पारें भन्ने खुशीको दिन हो । विजया दशमी विदेशीकरण गर्ने प्रयास मूर्खता हो । चालन (विजया दशमी) यो शब्द पनि स्याक्व टयाक्व जस्तै हजारौं वर्षदेखि नेपाल मण्डलमा चलिआएको आफ्नै बैशिष्ठ्ययुक्त संस्कृतिको शब्द हो । निर्यातित धर्म संस्कृतिको शब्द होइन ।
पायाः पदयात्रा—
यो दिन शक्तिपीठको पूजा गर्ने मुख्य घरबाट पायाः पदयात्रा गर्ने प्रचलन छ । पद यात्रामा आउने मानिसहरू रंगीचंगी जामा लगाई हातमा चण्डहाँस खड्ग लिई आ–आफ्नो लागामा घुम्ने हुन्छ । तर असन टोलको अन्नपूर्ण अजिमाको पदयात्रा दशमीमा होइन, द्वादशीमा निकाल्ने प्रचलन छ । अर्को त्यहाँको विशेषता हो वज्राचार्यहरूले उदास जातका केटालाई नृत्य सिकाई “कुमार” नृत्य अर्थात् पार्वती पुत्र कुमारको प्रतिकका रूपमा पदयात्रा निकालिन्छ । हुन त दक्षिण भेग अर्थात् लगनटोल ज्या: बहाल आदिका शाक्यहरूले पनि पदयात्रा (पाया) निकाल्ने गर्दछन् ।
हिजोको नेपाल नेपाल कृषिप्रधान देश थियो । अहिले जस्तो विदेशीको मुख ताकेर आफ्नो पेट भर्नु पर्ने अवस्था थिएन । मोहनि को बेला सबैले आ–आफ्नो धान चोक चोकमा थुपारी राखेका हुन्थे । त्यही धानको सुरक्षायार्थ नै यो पदयात्रा (पायाः) को उत्पत्ति भई प्रचलनमा आएको हो भन्ने जनश्रुति छ ।
।। भवतु सर्वमङ्गलम् ।।