डा. अनन्त अधिकारी
निर्देशक
मानसिक अस्पताल , लगनखेल
मानिसको जीवनकालमा धेरैलाई सताउने र स्वास्थ्य सेवा प्रवाह गर्ने सबै जसो संस्थाहरूमा हरेक दिन स्वास्थ्य कर्मीहरूले धेरैको संख्यामा उपचार गर्नु पर्ने एन्जाइटी डिसअर्डर एक प्रकारको मानसिक स्वास्थ्य समस्या हो।सामान्य बोलीचालीको भाषामा चिन्ताको रोग वा दुस्चिन्ता भनेर बुझिने यो रोग मनोरोगहरू मध्य आम रूपमा देखिने समस्यामा पर्छ । यो अवस्थामा ब्यक्तिमा बिना कारण वा अत्यन्तै झिनो कारणले पनि अत्यधिक डर, त्रास र चिन्ता पैदा हुन्छ। एन्जाइटीको समस्याले ग्रसित हुँदा आफू , आफ्नो अस्तित्व, इज्जत, प्रतिष्ठा वा आफ्नाहरुमा यस्तै खालको केही नराम्रो अवस्था भइहाल्छ कि जस्तो लाग्ने, सामान्य खालको समस्यालाई ठूलो तरिकाले प्रतिकृया उत्पन्न हुने, चिट्चिट् पसिना आउने, मुटुको धड्कन बढ्ने, ब्लड प्रेसर बढे जस्तो हुने जस्ता खलका लक्षणहरू देखा पर्छन्।यो समस्याले बिरामीको दैनिक कृयाकलापमा नै असर पार्ने गर्दछ ।
लक्षणहरू :
एन्जाइटी डिसअर्डरका बिरामीहरूमा निम्न अनुसारका लक्षणहरू देखिने गर्दछन ।
शारीरिक लक्षण– जिउ , हत्केला र पैतालामा चिट्चिट् पसिना आउने, तातो या चिसो महसुस हुने, मुख सुक्खा हुने, मुटु ढुकढुक हुने, वाकवाकी लाग्ने, शरीर दुख्ने–पोल्ने तर शारीरिक जाँच परिक्षण गर्दा रिपोर्टमा केही खराबी नदेखिने, मांसपेसीमा तनाव उत्पन्न हुने, श्वास भारी जस्तो हुने, घाँटीमा केही अड्किए जस्तो हुने, श्वासप्रश्वासक्रिया बढेको महसुस हुने , अफ्नो सरीरमा अक्सिजन नपुगे जस्तो उकुसमुकुस हुने तर अक्सिजनको लेभल हेर्दा सामान्य अवस्थामा रहेको हुने।
मानसिक लक्षण– प्यानिक , औडाह वा छटपटी महसुस हुने , डर पैदा हुने, नराम्रो सपनाहरू देखिने, एकै खाले वा अनेक प्रकारका नराम्रा र अत्याउने खालका सोचहरू आइरहने, केही नराम्रो हुँदैछ जस्तो महसुस हुने र बिगतका पीडादायी कुराहरुको सम्झनाले सताइ रहने।
व्यावहारगत लक्षण– शान्त र स्थिर भएर बस्न नसकिने, छटपटी हुने, छिन छिनमै उठ्ने , हिँड्ने र बस्ने गरिरहने, हात–खुट्टाहरू अस्वभाविक रुपले चलाइरहने, बातचीत को क्रममा कुराहरू दोहो(याउने, भोक कम हुने, निन्द्रा नलाग्ने, लागिहाले पनि आराम पुर्वक लाग्न गाह्रो हुने।
यस्ता लक्षणहरूले गर्दा मानिसको दैनिक जीवन यापनमा असहज हुने, आफ्ना परिस्थितिहरू सँगको प्रतिक्रियालाई आफैंले नियन्त्रण गर्न नसकिने , अधिक रूपमा प्रतिक्रिया देखिने अवस्था एन्जाइटी डिसअर्डरमा देखिने गर्दछ ।
एन्जाइटी डिसअर्डर बालबालिकादेखि बुढाबुढी जसलाई पनि हुन सक्छ। तर विशेष गरी लजालु स्वभाव भएका र खुलेर कुरा नगर्ने ब्यक्तिहरूमा यसको जोखिम बढी हुन्छ। साथै, जीवन भोगाइ र हुर्कदो उमेरका क्रममा तनावग्रस्त वातावरण झेलेर वा सहेर आएका, ठूलो शारीरिक तथा मानसिक आघात भोगेका, परिवारमा बुबार आमामा एन्जाइटीको समस्या भएका सन्तानमा पनि यसको जोखिम बढी रहन्छ।त्यसैगरी, लागूपदार्थ दुव्र्यसनीमा फसेका ,अत्याधिक मात्रामा रक्सी खानेहरूतथा अन्य किसिमका शारीरिक रोगहरू जस्तैः थाइरोइड, मधुमेह भएका ब्यक्तीहरूमा पनि सामान्य मानिसमा भन्दा यसको जोखिम बढी रहने गर्दछ।
विभिन्न अध्ययनहरूका अनुसार पुरुषमा भन्दा महिलामा यो समस्या बढी देखिने गरेको छ । हर्मोन जन्य रसायनको फरकका कारण तथा समाजमा महिलाहरू परिवारबाट बाहिर निस्किन नसक्ने, रोग लागिहाले पनि उपचारबाट वञ्चित हुने आदि कारणले गर्दा पनि यस्तो भएको हुन सक्छ ।
एन्जाइटीका प्रकार :
एन्जाइटी डिसअर्डर फरक फरक प्रकारका छन्।हरेक खाले समस्यामा लक्षणहरू उस्तैउस्तै देखिने भए तापनि मुलभूत कुराहरू भने अलिअलि फरक हुन्छन्।
जनरलाइज्ड एन्जाइटी डिसअर्डर– एन्जाइटीको समस्या हरूमा सबैभन्दा आम रूपमा जनरलाइज्ड एन्जाइटी डिसअर्डर देखिने गर्दछ । यो अवस्थामा हरेक कुराले मानिसलाई चिन्ताग्रस्त बनाउँछ। अगाडि भएका जुनसुकै कुराले पनि एन्जाइटीलाई बढाउने गर्छ। उदाहरणका लागि, बाटोमा हिँडिरहेको अवस्थामा गाडीले हान्ने हो कि, कसैले केही गर्ने पो हो कि , आफू वा आफ्नो परीवारलाई केही भयानक अवस्था आइ पो हाल्छ कि भन्ने खालका सोचहरू आउँछन्। यी लक्षणहरू लामो समयसम्म रहिरहन्छन् र बिरामीलाई हर्दम दुःख दिइरहन्छ। जसमा शरीर दुख्ने, पोल्ने, थकाइ लाग्ने, छटपटाउने लगायतका शारीरिक लक्षणहरू पनि थपिएका हुन्छन्।
प्यानिक एन्जाइटी डिसअर्डर– यो समस्यामा एकदमै जटिल लक्षणहरू देखा पर्छन्। प्यानिक हुँदा बिरामीलाई मृत्युलाई नजिकबाट अनुभव गरे जस्तै महसुस हुन्छ। यो अवस्थामा बिरामीलाई निकै गाह्रो हुन्छ। चिट्चिट् पसिना आउने, श्वास रोकिए जस्तो हुने, मुटुको ढुकढुकी ज्यादै नै बढ्ने, मुटु सम्बन्धी समस्या भयो कि भनेर धेरै मान्छेहरू मुटु रोग अस्पताल वा इमर्जेन्सीमा समेत पुग्छन्। यो एपिसोडको रूपमा आउँछ र आधा घण्टा वा त्यस्तै समय पछि विस्तारै कम हुँदै जान्छ।
एगोराफोबिया – यो समस्याका लक्षणहरू भने बिरामी ब्यक्तिले आफू सजिलै बाहिर निस्किन नमिल्ने ठाउँहरू, भीडभाड, सजिलै कसैको सहयोग नपाइने ठाउँहरू आदिमा अनुभव गर्ने गर्दछ। उदाहरणको रूपमा लाइनमा बस्दा, ट्रेन या बसमा यात्रा गर्दा, हवाइजहाजमा यात्रा गर्दा तथा सार्वजनिक भेलाहरूमा बिरामीलाई डर लाग्ने, प्यानिक खालका लक्षण अनुभव हुने गर्छ ।
सोसल एन्जाइटी डिसअर्डर– यसका लक्षणहरू सार्वजनिक स्थानहरूमा देखा पर्छन्। त्यस्ता स्थानमा बोल्ने समयमा, कसैको अगाडि केही बोल्नु वा प्रस्तुतीकरण गर्नु पर्ने अवस्थामा वा अन्य क्रियाकलाप गर्दा राम्रो हुने हो कि नहुने हो भन्ने खाले डर, मान्छेले के सोच्ने होलान् वा भन्लान् भन्ने कुरामा एन्जाइटी उत्पन्न हुन्छ।
सेपरेसन एन्जाइटी डिसअर्डर– यो प्रायः बच्चामा देखा पर्ने डिसअर्डर हो। अभिभावकबाट छुट्टिनु पर्दा, टाढिनु पर्दा , मेरो बाबा आमाले मलाई एक्लै पार्छन् कि भन्ने खाले डर, फर्केर आउँदैनन् कि, कसैले केही गर्दिन्छ कि भन्ने अत्याधिक डर आउनु सेपरेसन एन्जाइटी डिसअर्डरको लक्षण हो।
यसै गरि कतिपय बिरामीहरू भने कुनै निस्चित प्रकारको चिज बस्तु वा परिस्थिति संगको विशेष प्रकारको दुस्चिन्ता सहितको फोबिक एन्जाइटी लिएर पनि आउने गर्दछन्।
आम बुझाइमा सामान्य लागे पनि एन्जाइटीले मानिसलाई धेरै दुःख दिन्छ। धेरैजसोले त यो स्वास्थ्य समस्या हो भनेर समेत थाहा पाउँदैनन् र यत्तिकै पिडा झेलेर बसिरहेका हुन्छन्। नेपाली समाजमा यो समस्यालाई लिएर धेरै भ्रमहरू समेत छन्। मानिसले यस्ता खालका समस्या भएकाहरूलाई काँतर, डरछेरुवा लगायतका उपनाम दिन्छन् जुन एकदमै गलत हो। एन्जाइटी डिसअर्डर कुनै कमजोर मानसिकताको उपज होइन।कुनै पनि व्यक्तिले आफ्नो जीवनकालमा कुनै न कुनै समय एन्जाइटीको समस्या वा लक्षण महसुस गरेकै हुन्छन्। लगभग ३० प्रतिशत किशोर–किशोरीले आफ्नो जीवनकालमा यो समस्या अनुभव गरेका हुन्छन्।
कारण :
एन्जाइटी डिसअर्डर विभिन्न कारणले हुन सक्छ। मानिसलाई एन्जाइटीको समस्या देखिनकोलागि फरक फरक कुराले भुमीका खेल्ने गर्छ। यसको एउटा मुख्य कारणमा मस्तिस्कमा हुने न्युरो केमिकलहरूको असन्तुलन नै हो। दिमागमा हाम्रो सोच, मुड, ब्यबाहार लगायतका कुरालाई सामन्जस्यता कायम गर्ने नरएड्रिनालिन , सेरोटोनिन , डोपामिन जस्ता रसायनहरूको सन्तुलनको मात्रामा तलमाथि आउँदा एन्जाइटी देखिन सक्छ। साथै, सानो उमेरमा भोगेका पीडा वा चोट , हिंसा, सामाजिक समस्याहरू,लागू पदार्थ दुव्र्यसनी र वंशाणुगत गुणका कारणले समेत एन्जाइटी डिसअर्डर हुन सक्छ।
उपचार :
एन्जाइटी डिसअर्डरको उपचारमा दुई प्रकारका पद्धतिहरू प्रचलनमा छन्। यिनीहरू मध्य एउटा साइकोथेरापी वा मनोवैज्ञानिक उपचार पद्धति हो भने अर्को फर्माकोथेरापी वा औषधिको प्रयोगले गरिने उपचार पद्धति हो।नेपाली समाजमा यो समस्याको निम्ति एक पटक औषधी सुरुगरे पछि गरेपछि जीवनभर सेवन गरिरहनु पर्छ भन्ने भ्रम छ, जुन बिल्कुलै गलत हो केही समयको उपचारपछि मानिसहरू पूर्ण रुपमा निको भएर सामान्य जीवनमा फर्किन सक्छन्।
एन्जाइटी डिसअर्डर ग्रसित हुनबाट जोगिन त्यसलाई ट्रिगर गर्ने अवस्थाहरूबाट टाढा रहने, स्वस्थ जीवनशैली अपनाउन कोसिस गर्ने, मद्यपान र धूमपान नगर्ने, तनावग्रस्त जीवनलाई सहज बनाउने, आफूले आफूलाई समय दिने गर्नु पर्छ । मन मिल्ने साथीहरूसँग मनका कुरा सेयर गर्ने, सिर्जनात्मक कामहरूमा समय दिने , खानपिनमा ध्यान दिने, कफी लगायतका पेय पदार्थ अत्याधिक मात्रामा प्रयोग नगर्ने आदि पनि यसबाट जोगिने उपायहरू हुन् । मानसिक स्वास्थ्यबारे खुलेरै कुरा गर्ने अनि एन्जाइटी संग मिल्दा जुल्दा माथी उल्लेखित समस्या देखिने बित्तिकै स्वास्थ्य संस्थामा सम्पर्क गरिहाल्ने सल्लाह हरेक तप्कामा पुर्याउन सकेमा धेरै हद सम्म यो समस्याको रोकथाम अनि सफल उपचार हुन सक्दछ।