चर्चामा पुस्तक
यात्रा खुसीको
जीवनका भोगाइ,कौतुकमय प्रस्तुति,प्रकृति प्रेम देखिएको कृति हो । विष्णुबहादुर जी.सी.ले भोगाइलाई पर्गेलेर लेख्ने सत्प्रयास गरेको कृति आत्मबृतान्त जस्तो लाग्ने,नियात्रा जस्तो छ । लेखकले देखेभोगेका र अनुभूत गरेका कुराहरु मीठो शब्दशैलीमा खिपेर ल्याएका छन् ।उनका जीवनका खुसीका विभिन्न पलहरु पाठक सामु पुर्याउन सकेका छन् ।
खुसी भौतिक रुपमा मात्र हुँदैन्,जो मानसिक रुपमा खुसी हुन्छ उसले जति आत्मसन्तुष्टी अरुले लिन सक्दैन भन्ने भावमा निबन्धहरु यस कृतिमा आएका छन् ।कृति तथ्यपरक,अनुभवपरक देखिन्छ ।
चित्रात्मक वर्णन शैली,सरल र सुलोलित भाषा,विभिन्न देशको यात्रा वर्णन कृतिमा छ ।
यात्रा खुसीको लाई स्वदेश पब्लिकेशनले बजारमा ल्याएको हो । यसको मूल्य रु.४५०। रहेको छ ।
नियात्रा सङ्ग्रह
धनविक्रम सिंह यो कृतिले पूर्बीय दर्शनलाई जोड पनि दिएको छ । नेपाल सरकारका पूर्व कर्मचारी कार्यको सिलसिलामा देश देशावर घुम्न पाउँदा देखे भोगेका कुराहरु कृतिमा आएका छन् । यो नियात्रा कृतिमा पाठकलाई आफूसंगै घुमाउने सामथ्र्य नियात्राकारमा देखिएको छ । भ्रमणका भोगाइ र अनुभूतिका श्रृँखलाहरु यहाँ राखिएका छन् ।
उमेरका चार बीस खर्चिसकेका लेखकको सक्रियतालाई सम्मान गर्ने पर्छ । यसमा उनले शिक्षाप्राप्तिको दौरान,राष्ट्रसेवको दायित्व निर्वाहको दौरान,तीर्थयात्राको दौरान र अभिभावकीय दायित्व निर्वाहको दौरानका अनुभव,अनुभूति राखेका छन् ।
सरल भाषाशैलीले कृति पठनीय बनेको छ ।
नियात्रा सङ्ग्रहलाई लेखन कुञ्जले प्रकाशनमा ल्याएको हो । कृतिको मूल्य रु.६५०। रहेको छ ।
जय सिंह धामीको देश
दिनेश विक्रम थापाको कविता सङ्ग्रहभित्र २५ थान व्यक्तिपरक कविताहरु रहेका छन् । यसकृतिले समाजका विभिन्न चर्चित पात्रहरुको बारेमा कविता सिर्जना गरेको छ । उनले चयन गरेका पात्रहरु साधारण पनि छन् । फेरी उनीहरुका असाधारण कार्यहरु पनि चर्चा गरिएका छन् ।विषयगत विविधता हेर्दा देशप्रेम,गरिबी,राजनीति,विदेश पलायन,जीवन दर्शन,विद्रोह आदि विषयहरुमा कोरिएका कविता पढ्न सकिन्छ । प्रतिकले भरिएका कविताहरु उन्मुक्त छन् । मार्मिक भाव व्यक्तिएका कविता यसमा छन् ।
भाव र बिम्वको दृष्टिले सुन्दर संयोजन पाइन्छ । सरल शैली छ ।
जय सिंह धामीको देशलाई भूगोल साहित्य समाजले प्रकाशनमा ल्याएको हो । यसको मूल्य रु.२५०। राखिएको छ ।