
काठमाडौं।सिंहदरबार प्रवेश गर्दा कानुन व्यवसायीहरूले गेट पास लिनुपर्ने व्यवस्था भएको छ
कानुन व्यवसायीको परिचय पत्रको आधारमा सिंहदरबारमा निर्वाध रूपमा प्रवेश गर्न पाउने व्यवस्थालाई रोक लगाउँदै नयाँ गेट पास लिनुपर्ने व्यवस्था सुरू भएको हो।
सिंहदरबारभित्र प्रशासकीय अदालत छ। जहाँ कानुन व्यवसायीहरू वकालत गर्न पुग्ने गर्छन्।
मंगलबार अदालतका रजिस्ट्रार सरोजराज रेग्मीले सूचना जारी गर्दै कानुन व्यवसायीले नागरिक एपको सिंहदरबार गेट पास लिनुपर्ने व्यवस्था भएको जानकारी दिएका छन्। अन्य मन्त्रालयमा काम भए सम्बन्धित निकायमै समन्वय गर्न भनिएको छ।
‘पहिले निर्वाध रूपमा सिंहदरबार प्रवेश गर्न पाइन्थ्यो। आइतबारदेखि उहाँहरूले रोक्नुभयो,’ नेपाल बारका महासचिव बरिष्ठ अधिवक्ता केदार कोइरालाले भने ।
यसरी रोकेपछि बारले कानुन मन्त्री, कानुन सचिव, गृहसचिव, महान्यायाधिवक्ता लगायतको ध्यानाकर्षण गराएको उनले बताए।
‘हामीले सबैको ध्यानाकर्षण गरायौं। कानुन व्यवसाय पृष्ठभूमिका माननीय ज्यूहरूको पनि ध्यानाकर्षण गरायौं। अहिलेसम्म केही भएको छैन। छिट्टै हामी प्रधानमन्त्री बालेन शाहज्यूको पनि ध्यानाकर्षण गराउँछौं,’ उनले भने, ‘कानुन व्यवसायीहरू सिंहदरबारमा प्रशासनिक अदालतमा मात्रै जाने होइन। गृहमा पुनरावेदनको काम हुन्छ, कानुन मन्त्रालय जानुपर्ने हुन्छ, संसद भवन प्रवेश गर्नुपर्ने हुन्छ। यस्ता काम हुने भएकाले परिचय पत्रको आधारमा काम हुँदै आएको थियो। तर अहिले केही बाधा अवरोध आएको छ। हामी सहजीकरणको प्रयास गरिरहेका छौं।’
यसैबिच सम्बन्धित निकायहरुले नसुनेपछि महासचिव कोइरालाको हस्ताक्षरमा प्रधानमन्त्रीलाई समेत कानून व्यवसायीलाई सिंहदरवार प्रवेशमा सहजता सम्बन्धमा विषय खुलाई पत्र लेखीएको छ ।

पत्रमा भनिएको छ, ‘सिंहदरबार परिसर भित्रको प्रशासकीय अदालत लगायतमा कानून व्यवसायीहरुको प्रवेशमा गत केहीदिन देखि अवरोध सिर्जना भएउपर नेपाल बार एशोसियसनको ध्यानाकर्षण भई मौखिक रुपमा सम्बन्धित निकायको पटक पटक ध्यानाकर्षण गराएकोमा कुनै सुनुवाई भएन ।तसर्थ,विगतमा जस्तै कानून व्यवसायीहरुको हकमा कानून व्यवसायको परिचयपत्रको आधारमा निर्वाध रुपमा सिंहदरवार परिसर प्रवेशका लागि साविक व्यवस्था बमोजिम हुन अनुरोध गर्दछौं ।’
स म्बन्धित निकायहरुले नसुनेपछि महासचिव कोइरालाको हस्ताक्षरमा प्रधानमन्त्रीलाई समेत कानून व्यवसायीलाई सिंहदरवार प्रवेशमा सहजता सम्बन्धमा विषय खुलाई पत्र लेखीएको छ ।

