काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई प्रहरीले अभिव्यक्तिको आधारमा गिरफ्तार गरी निरन्तर थुनामा राखेको कार्य कानुनविपरीत र स्वेच्छाचारी भएको ठहर गर्दै तत्काल थुनामुक्त गर्न आदेश दिएको छ। प्रसाईका छोरा निराजन प्रसाईले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रहरीका सबै कारबाहीलाई बदर गर्दै प्रसाईलाई रिहा गर्ने आदेश दिएको हो।
अदालतले किन दियो थुनामुक्त गर्ने आदेश ?
यी हुन् आधार र कारण
१. संविधानको धारा १७(२)(१) उल्लङ्घनको प्रमाणै प्रस्तुत भएन
अदालतले सम्बन्धित मिसिल, प्रतिवेदन, म्यादथप कागजातलगायत कुनै पनि दस्तावेजमा प्रसाईका अभिव्यक्तिले सार्वभौमसत्ता,भौगोलिक अखण्डता,राष्ट्रियता,जातीय वा धार्मिक सद्भाव,अपराध दुरुत्साहन जस्ता संवैधानिक सीमा उल्लङ्घन गरेको कुनै प्रमाण नदेखिएको आदेशमा उल्लेख गरेको छ । यस कारण अभिव्यक्तिलाई अपराधसरह मान्न नसकिने अदालतको निष्कर्ष छ ।
२. सार्वजनिक शान्ति भंग गर्ने गतिविधि भेटिएन
प्रहरीले सार्वजनिक शान्ति भंग हुनसक्ने भन्दै प्रसाईलाई पक्राउ गरेको भए पनि प्रसाईबाट कुनै हतियार वा निषेधित सामग्री बरामद नभएको,शान्ति भंग गर्ने कुनै कार्य वा उक्साहट नदेखिएको अदालतले स्पष्ट पारेको छ।




