नेपाल प्राचीन संस्कृतिमा धनी छ । सैयौं परम्परागत मूल्य र मान्यताका चाडपर्वहरु हामी मनाउँछौं । यसै क्रममा उज्यालोको पर्व तिहार तपाई हामी सबैको दैलोमा टेकिसकेको छ । तिहार भन्नासाथ दीपावली,उज्यालो र झिलिमिली,अनि देउसी भैलो,काग,कुकुर,गाई र गोवर्धन पूजा,सेलरोटी,मिठाई,देवी लक्ष्मी,पी यी सबैको याद दिलाउँछ । अन्य पर्वको भन्ना भिन्न मतलब राख्ने यो दोस्रो ठूलो चाड हो ।तिहार पारिवारिक रूपमा दिदीबहिनी र दाजुभाइको पुनर्मिलन मात्र नभई सामाजिक रूपमा सद्भाव साटासाट गर्ने चाड हो । । तिहारमा खेलिने देउसी–भैलो सामाजिक सद्भाव र पुनर्मिलनको प्रतिक हो भने विभिन्न जनावर एवं पशुपंक्षीको पूजा उनीहरुसँगको मानिसको सम्बन्धलाई प्रष्ट्याउने मानक पनि हो । यस अर्थमा सामाजिक,धार्मिक र साँस्कृतिक चाडको रुपमा तिहारलाई लिन सकिन्छ ।
तिहारका विभिन्न दिनका पूजा सकिएपछि पाँचौ दिन पौराणिक मान्यता अनुसार यस दिन यमुनाले दाजु यमराजको पूजा गरेकी थिइन् । त्यही सम्झनामा यो दिन दिदीबहिनीले दाजुभाइलाई पूजा गर्ने र टीका तथा माला लगाइदिने चलन चलेको हो । यस दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका, मखमली माला लगाइदिने र मिष्ठान्न भोजन तथा खानेकुरा खान दिने गर्छन् । दाजुभाइले पनि दिदीबहिनीहरूलाई दक्षिणा, वस्त्र, गहनालगायत सामग्री दिने परम्परा तथा प्रचलन रहँदै आएको छ ।भाइ पूजामा प्रयोग गरिने सप्तरंगी टीका, मखमली माला लगायतका सामग्री दीर्घायु र सुस्वास्थ्यका प्रतीक मानिन्छन् । भाइटीकाका क्रममा प्रयोग गरिने ओखर, तिल, तेलको घेराले भने दीर्घ जीवनको प्रतिनिधित्व गर्छन् जसका कारण यी सामग्रीलाई दीर्घायु र स्थायित्वका प्रतीकका रूपमा लिने गरिन्छ । तिहारको अन्तिम दिन भाइटीकाको दिन दाजुभाइको पूजा हुने र दिदीबहिनीलाई पनि टीका लगाई दक्षिणा, वस्त्र र गहना दिने प्रचलन रहेकाले यो पर्वलाई दाजुभाइ तथा दिदीबहिनीको पर्वका रूपमा लिने गरिन्छ ।
यो उज्यालो पर्वले तपाईहरुको मनभरी उज्यालो छर्न सकोस । तपाईं हाम्रा जीवनमा सकारात्मक ऊर्जा भरिदिने र मानिसका सम्बन्धहरूमा प्रगाढता ल्याउने काम तिहारले गर्न सकोस ।तपाईं हाम्रो जीवनमा सुख, शान्ति र ऐश्वर्य बास गर्न सकोस । हामी सबैको मन फूलजस्तै कोमल र सुन्दर बनोस्, दीपावलीको दीपजस्तै उज्यालो बनोस्, समृद्धिको ढोका खुलोस् ।सबैले अभाव र पीडामुक्त जीवन बाँच्न सक्नुस । फजुल खर्च घटाउँन समेत हाम्रो सबैमा अनुरोध सहित उज्यालो चाड तिहारको देश विदेशमा रहने सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।