काठमाडौं।
धार्मिक तथा परम्परागत पूजाआजा र अनुष्ठान विधिलाई कायमै राखी पशुपतिक्षेत्र विकास कोषको सञ्चालक परिषदको बैठकले दर्शनार्थीहरुको सहजताको लागि चारै दिशाका मूलढोकाहरु आगामी असार १ गतेदेखि खुला गर्ने निर्णय गरेको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं परिषदका अध्यक्ष हितबहादुर तामाङले सो कुरा बताएका हुन् । भक्तजनहरुको भीड बढेकोले उनीहरुले सजिलोसँग पूजापाठ र दर्शन गर्न सकुन भन्ने कुरालाई ध्यानमा राखी यो निर्णय भएको उनले बताए । यो निर्णयले धार्मिक पर्यटक बढाउन सघाउ हुनसक्नेमा उनको जोड छ ।
अहिलेसम्म पश्चिमतर्फको ढोका बिहान ४ बजेदेखि खुला हुने र उत्तर,पूर्व र दक्षिणका ढोका बिहान ९.३० देखि ११.३० बजेसम्म खुला गर्ने गरिएकोमा दर्शनार्थीको संख्यामा बृद्धि हुँदा उनीहरुले सजिलो गरी दर्शन गर्न नपाएकोले यो किसिमको निर्णयले दर्शनार्थी भक्तजनहरुमा सघाउ पुग्ने आशा गरिएको छ ।
यसैबिच मन्त्री तामाङले धार्मिक पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले पशुपतिनाथ मन्दिरको गुरुयोजना तयार गरिएको जानकारी दिए । साथै यो गुरुयोजनालाई अध्ययन गरी क्रमशः लागू गरिने विश्वास पनि उनको भएको बताए ।