काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भन्सार,आयकर,अन्तःशुल्क दर र मूल्य अभिवृद्धिकरको व्यवस्थामा बजेट मार्फत गरिएको संशोधनले उद्योग ब्यवसायीहरुमा अन्योलता छाएको बताएका छन् ।
महासंघको एक कार्यक्रममा बोल्दै उनले विशेषतः कृषि र कृषिजन्य उत्पादनमा लागतमा लागू गरिएको अधिकतम १० प्रतिशतसम्मको अग्रिम आयकरको व्यवस्था र यसको क्यारिफवाड र फिर्ता समेत नपाउने ब्यवस्थाका कारण उद्योग व्यवसायी चिन्तित भएको बताएका छन् । यसैगरी आयातित मालबस्तु बोकेको ढुवानी साधनमा थप गरिएको भन्सार महशुल र कच्चा पदार्थमा बढाइएको भन्सार,औषधीजन्य सामाग्रीमा लगाइएको मूल्य अभिवृद्धिकर ,कैलाजन्य बस्तुमा लगाइएको हरितकर लगायतले उत्पादन लागत बढ्न गई स्वदेशी उद्योगको विदेशी उद्योगसँगको प्रतिष्पर्धामा ह्रास आएको बताए ।
अध्यक्ष ढकालले स्टार्ट अप नीति पारितले चाहि अब स्टार्ट अप बिस्तारमा महत्वपूर्ण भएको बताए । उनले राजश्व प्रशासन सेवालाई धेरै पहिलेदेखि मुहार रहित बनाउने कुरा बजेटमा आउने गरेको भएपनि अहिलेसम्म पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको जिकिर गरे ।