क) श्रृङ्गभेरी
सर्वज्ञ मित्रावदानमा र महासत्व जातकमा हिंसाबाट मात्र उपलब्ध हुने महिष श्रृङ्ग (रांगोको सिंग) बाट बनेको भेरी बजाउने प्रचलन उल्लेख छ । बुद्ध, धर्म, संघको नाम लिई श्रृङ्गभेरी फुकी चैत्य परिक्रमा गरियो भने सम्पूर्ण पृथ्वी मण्डलमा सो पवित्र ध्वनि फैलन गई महामारी आदि विध्नबाधा शान्त हुन्छ, दिवंगत आत्माले शान्ति पाउँछ भनेर पनि सोही अवदानमा,, उल्लेख गरेको पाइन्छ । महिष श्रृङ्गको भेरी जस्तै अरू प्राणीको श्रृङ्ग पनि भेरीको रूपमा बजाउने प्रचलन नेपालको अरू दुर्गम जिल्लामा पनि चलि आएको छ भन्ने विद्वानहरू र अन्वेषकहरूको अवधारणा पाइन्छ ।
मांस र हिंसाजन्य वस्तुको अरू जे जस्तो संस्कृति, सभ्यता चलिआइरहेको देखिएता पनि बुद्ध धर्ममा श्रृङ्गभेरी फुक्ने प्रचलन सर्वमित्रानन्द जातक कथामा उल्लेख हुनु र चैत्य परिक्रमा गरी श्रृङ्गभेरी फुकेर दिवंगत आत्माहरूको सुखावती कामना गर्ने प्रचलन विश्वकै अनौठो संस्कृतिका रूपमा लिन सकिन्छ । त्यतिबेला श्रृङ्गभेरी महिष रांगोकै हुने हुनाले नेपालको पुरातन ऐतिहासिक दुई राजसत्ता गोपालवंशीले आ-आफ्ना पुर्वजहरूले मानी आए अनुसार गाईलाई आफ्नो अन्नदाता लक्ष्मीका रूपमा अहिंस्य मानी आए भने महिष वंशीहरूले पनि आफ्ना अन्नदाता महिषलाई (रांगोलाई) अहिंस्य नै मानी आएका होलान् । कथमकदाचित कालगतिले महीष मरेपनि महिष श्रृङ्गलाई पवित्र मानी पूजा गरी आए होलान् भन्ने तर्क गर्ने ठाउँ छ । बुद्धको पूर्व जन्म मानीने बोधिसत्व महासत्व राजकुमारले आफ्नो मृत्यु पछि उनका जहानलाई मेरो अस्थि राखी चैत्य बनाई श्रृङ्गभेरी फुकी चैत्यको परिक्रमा गरेमा मेरो दिव्य रूप दर्शन दिने छु भनी महासत्व राजकुमारले सपनामा भनेको
कुरा उल्लेख छ । त्यस्कै आधारमा नेपाल मण्डलमा श्रावण महिनाभरी पाटन, भक्तपुर र काठमाडौको स्वयम्भू चैत्य परिक्रमा गरी वर्ष भरीमा दिवंगत भएका आफन्तहको सुखावती कामना गरी श्रृङ्भेरी फुक्ने प्रचलन चले भन्ने जनसुति रहिआएको छ । महासत्व राजकुमारको जन्म पनौती र बाघलाई मांसदान चाहिँ नमोबुद्धमा नै उल्लेख भएको जातक कथा पाईएकोले पनि श्रृङ्गभेरीको प्रचलन नेवार बुद्धधर्मको महत्वपूर्ण संस्कृति मानिनु उपयुक्त छ ।
वस्तुतः महाभारतको युद्धमा युद्ध प्रारम्भ हुन लाग्यो भनी सूचित गर्न शंख भेरी फुकाइएको कुरा महाभारतबाट अवगत हुन आउँछ । यसरी हजारौ वर्ष अघि शंख फुक्ने प्रचलन चल्दा अरू बाजा नभए जस्तै पूर्व जन्म मानिने कल्पौं कल्प अगाडिको जातकमा पनि प्राणी हत्याबाट उपलब्ध हुने श्रृङ्गलाई नै भेरी बनाइ फुक्ने प्रचलन चलाएको बुझिन्छ । यसरी पञ्चशीलका अनुयायीहरूले श्रृङ्गभेरीलाई पवित्र मानी आए जस्तै विशुद्ध शील समाधिका धनी तत्कालीन श्रमण व्राम्हणहरूले पनि समुंद्री जनावर शंख कीराको आवरण (खोल) लाई शुद्ध मानी पूजा आजामा प्रयोगमा ल्याएको पाइन्छ । यसरी प्राणी हिंसाबाट मात्र उपलब्ध हुने वस्तु शंखलाई पनि हिंसाको प्रतीरूप किंचित मात्र पनि स्मरण नगरिकन शंख भेरीलाई उत्तम र पवित्र मानी अंगालेर पूजामा प्रयोग गर्नु संसारकै अति अनौठो संस्कृति हो ।
हाम्रो नेवार बुद्धिष्टहरूले पनि हरेक वर्ष गुंला पर्व भर श्रृङ्गभेरी फुकी विशेषत उक्त वर्ष स्वर्गीय भएका आफन्तको सुखावती कामना गरी स्वयम्भू महाचैत्य परिक्रमा गर्ने प्रचलन छ भने भक्तपुर, ललितपुरमा पनि दीपंखामा जाँदा श्रृङ्गभेरी अनिवार्य फुक्ने प्रचलन छ । यसरी हिंसा र हिंसाजन्य वस्तुलाई कोट्याउँदा नेवार जातिको मात्र होइन, हिन्दु र सनातनवादीहरूमा पनि हिंसाजन्य वस्तुसँग गाँसिएको संस्कार र संस्कृति पनि छर्लङ्ग हुन आउँछ ।
ख) मृदङ्ग, दुन्दभि (नगडा) मूरजा, दमरू र चामर
महायान /वजयान दर्शनमा मृदङ्ग, दुन्दुभि (नगडा ) दिन्दीम (दमरू ) आदि वाद्य वादनद्वारा देवदेवीको पूजा गर्ने पद्धति पनि श्रृङ्गभेरि र शंखभेरि जस्तै पुरातन समयदेखि चलि आएको तथ्य द्वितीय शताब्दीतिर लेखिएको रक्षासूत्र (परित्राण सूत्र) बाट अवगत हुन आउँछ । विद्वानहरूले वज्रयानको पूर्व रूप मानिएको पंचरक्षा सूत्रमा ‘इति’ भन्ने महामारीका कारण धेरै जनधनको क्षति भई मनुष्यहरूले दुःख पाइरहेको बेला मृदङ्ग, पटह (नगडा), दुन्दुभि आदिमा विविध जडिबुडिबाट बनाइएको लेप लगाई बजाइयो भने सो औषधियुक्त आवाजले वायु मण्डलमा फैलिरहेको महामारीलाई दमन र शान्त पार्छ भनी उल्लेख भएको पाइन्छ । त्यस्तै नव सूत्र अन्तर्गतको सुवर्ण प्रभासोत्तमसुत्रेन्द्रराजमा पनि सुनको दुन्दभि (नगडा), को उल्लेख पाइन्छ । अत प्राणीको हिंसाबाट मात्र उपलब्ध हुने छालाबाट मात्र बन्ने दुन्दुभि र मृदङ्ग, मुर्जा, दमरू आदि वाद्य वादनको पौराणिकताबाट हिंसाजन्य वस्तुको प्रयोग कसरी चल्दै आए भन्ने कुरा स्पष्ट हुन आउँछ । त्यस्तै वज्रयानको चर्या नृत्य र गुह्यपूजामा पनि प्राणीकै छाला टाँसी बनाइएका दिन्दीम (डमरु) को ध्वनि पवित्र र अनिवार्य मान्दै आएको पाइन्छ । त्यस्तै चौरी गाईको पुच्छरलाई पवित्र मानी हरेक बही, बिहारको कोष्ठपाल देवता अक्षोभ्य र आर्यावलोकितेश्वरको नित्य पूजामा चामर हम्काई पूजा गर्ने प्रचलन देखिन्छ ।
ग) नर कपाल र नलीहाड
वज्रयान दर्शनले चैत्य परिक्रमा एवं गुह्य पूजाहरूमा श्रृङ्गभेरि बजाए जस्तै यक्ष, यक्षिणी, भूतप्रेत आदिलाई भगाउन खुट्टाको नली हाड फुकी पूजा गर्ने प्रचलन पनि चलाएको पाइन्छ । विशेष गरेर गर्थेमुगलको बलिपूजा गर्दा यसरी नली हाड फुक्ने परम्परा तान्त्रिक लामागुरू र वज्राचार्यहरूको घरमा नै विशेषत सम्पन्न हुने गर्छन् ।
तान्त्रिक एवं कापालिक सिद्धहरूको सांनिध्येले वा धर्म समन्वयका कारणले वज्रयानी तान्त्रिक गुरूहरूले पनि गुह्य पूजामा नर कपाल प्रचलनमा ल्याएको देखिन्छ । नेपालको सुप्रसिद्ध प्रधानमन्त्री भीमसेन थापाले जेलमा आत्महत्या गरी मरेपछि उनको लाशलाई सानो टुडिखेलमा फालियो । यो खबर पाउनासाथ असनका तुलाधर, कंसाकार आदि वज्रयानीहरूले आफ्ना गुरूहरूको आदेश अनुसार मृत भीमसेन थापाको खप्पर करौटीले काटी ल्याइयो र गुह्य पूजामा प्रयोग पनि गरियो । तर कालान्तरमा सो खप्पर अंग्रेजहरूले आफूलाई समेत तक्कर दिन सक्ने खुबी भएको प्रधानमन्त्री भीमसेन थापाको खप्पर हो भनी थाहा पाई लाखौं पैसा दिइ किनियो र हाल सो खप्पर लण्डनको म्युजियममा राखेको छ भन्ने सुनिन्छ । यसरी हिंसाजन्य वस्तुहरू विस्तारै बुद्धधर्मको गुह्य पूजाको अङ्ग हुन गएको पाइन्छ । शून्यता दर्शनका पृष्ठपोषक सिद्धहरू एवं तान्त्रिकहरूले सम्पूर्ण वस्तुको निःस्वभाव भावनालाई जोड दिननै यस प्रकारको संस्कृति उत्पन्न गरेको बुझ्न सकिन्छ । यही कुरा व्यक्त गर्न सरह पादले भन्नु हुन्छ- ‘लोकको कल्याण गर्ने महा उपाययुक्त योगीले अरूले घृणा गरिने कुनै काम गर्नु परे पनि पछि पर्नु हुँदैन’ भन्ने भावको उद्गार यसरी व्यक्त गरेको छ ।३३
महोपायसमायुक्तो योगी लोकार्थकारकः ।
(नाकार्यं) विद्यते तस्य सर्वसत्व जुगुप्सितम् ॥
यसरी हिंसाजन्य वस्तु प्रयोग गरी समस्त लोकको हित चिताउने योगीहरूले पुजा आदि गर्नुमा कुनै अप्ठेरो मान्दैनन् । संसारले घृणा गरेपनि उनीहरूलाई केही फरक पर्दैन । किन की उहाँहरू निःस्वभावता (शून्यता) का पुजारी हुन् ।