गत २०७९ साल असोज २९ गतेको कान्तिपुर दैनिकको शनिबासरीय कोशेलीमा “लिच्छवि संवत्को निर्णयका त्रुटि” शीर्षकको लेख प्रकाशित भएको कुरा प्रायः धेरैलाई संझना नै हुनुपर्दछ । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट वि.सं २०४३ सालमा प्रकाशित लिच्छविसंवत्को निर्णयमा भएको त्रुटि औंल्याउने काम ३६ वर्ष पछि आएर मात्र हुनसकेको हो । यसलाई ढीलो वा चाँडोको दृष्टिले हेरिनु भएन किनभने पं भगवानलाल इन्द्रजीले वि.सं १९३७ मा आएर लेखेको पुस्तकको त्रुटि अहिलेसम्म पनि औंल्याउँदै आएका हुन्छौं । ज्ञान भन्ने कुरा अभ्यास गर्दै जाँदा अनेकौं बाटो देखिने हो । त्यसमाथि प्रमाणहरु फेला पर्दै गएपछि पहिले सीमित प्रमाणको आधारमा अड्कलहरु गरिन्थ्यो । त्यही भएर थुप्रै त्रुटिहरु देखापर्नु स्वभाविक हो । अन्य लेखकहरुले पाठकहरुसंग त्रुटि देखापरे औंल्याइ दिनु होला भनी अपेक्षा गरे जस्तै प्रस्तुत निर्णयको पुस्तकको उपोद्घात खण्डको अन्त तिर पृष्ठ ४९—५० मा लेखकले गरेको आग्रहको उद्धरण पनि यस प्रकार रहेको छ
यस ग्रन्थमा रहेका त्रुटि विद्वानहरुले भेट्टाएमा प्रकाश गरी वा अप्रकाशितै रुपमा हामीहरुलाई सूचना दिनुभएमा हामीहरु उहाँहरुलाई धन्यवाद दिइ आफना दोष संशोधन गरी प्रकाश गर्नेछौं । केही गरी हामीले लेखेकै कुरा ठीक रहेछ भने प्रमाणपूर्वक त्यसको सूचना पनि उहाँहरुलाई हामी दिनेछौं । काग कराउँदै छ पीना सुक्तैछ भन्ने आहान चरितार्थ गरी हामी चूप लागेर बस्नेछैनौं ।
यदि उनले लेखेकै ठीक रहेछ भने प्रमाणपूर्वक त्यसको सूचना हामी पाठकहरुलाई चाहिएको हो । होइन भने २०७९ असोजदेखि अहिलेसम्म किन चूप लागेर बसेको हो । व्यक्ति पो कृतिशेष भइसक्यो संस्था त अहिलेपनि जीवित छँदैछ । काग कराउँदै छ पीना सुक्तैछ भन्ने आहान चरितार्थ भइरहेको पाठकहरुले महसूस गरिरहेको छ ।
अघि त्यस पुस्तकमा देखिएका सामान्य त्रुटिहरुले जनमानसमा भ्रम नपरोस् भनी त्रुटि औंल्याउने प्रयास गरिएको हो । तर ती त्रुटि सच्चिएला भन्ने लक्षण अहिलेसम्म बिल्कूलै देखिएन । त्यसकारण ती निर्णय इतिहासको लागि हितकर भएन त्यो आफनो ठाउँमा छ । स्वयं निर्णय कर्ताको लागि पनि हितकर थिएन किनकि आफनो निर्णय आफैमाथि बाझिएका हुनाले त्यसरी बाझिएका कुरालाई पाठकहरु सामु बोध गराउनका निमित्त यो लेख तयार गरिएको हो ।
प्रस्तुत पुस्तकमा भनिएका कुरा यस प्रकार छ
गणितको सामान्य ज्ञान भएका मानिस पनि गणना बुझ्न सकुन् तथा भविष्यमा आफै पनि गणना गर्न सकुन् भन्ने भावले यहाँ सबै गणना दिइएका छन् । यसलाई परीक्षा गर्ने अधिकार सबैलाई छ ।
(लिच्छविसंवत्को निर्णय पृष्ठ ८)
पात्रो हेर्दा थाहा पाइने कुरा मध्ये वि.सं २०३५ मा शकसंवत् १९०० हुन्छ र वि.सं २०३५मा नेपालसंवत् १०९८ हुन्छ । यो उल्लेख हुनुको तात्पर्य स्पष्ट छ कि २०३५—१९०० = १३५ हुन्छ र २०३५ — १०९८= ९३७ हुन्छ भन्नको लागि हो । यसलाई सामान्य रुपमै लिऔं । तर बिरोधाभास यसमा होकि “शकराज्याव्द ४९८ र मानन्देवस्य राज्याव्द ३०४” भनिएको कुरालाई येनकेन प्रकारले सिद्ध गराउनै पर्ने बाध्यात्मक परिस्थिति आइलाग्यो किन ? यो प्रश्न पेचिदा हो ।
बास्तवमा यसको जवाफ निर्णय कर्ता स्वयंले कतै स्पष्ट पार्न सकेको छैन । किनभने उनलाई अदृश्य ठाउँबाट दबाब रहेको पनि हुनसक्छ । खैर जेसुकै होस् शकराज्याव्द ४९८ र मानन्देवस्य राज्याव्द ३०४ समात्नु भनेको उनको लागि घातक सिद्ध थियो । यो उनले महसूस गर्न नसक्नु उनको कमजोरी अवश्य हो । किनभने यसले नै उनले टेक्ने गरेको धरातल धराप बनेको छ । यहींबाट उनले ढाँट कैफियतको बाटो समात्न कर लाग्यो यही कुरा विस्तार पूर्वक विवेचना गर्दै गइन्छ ।
१. शकराज्याव्द ४९८ र मानन्देवस्य राज्याव्द ३०४
प्रस्तुत उद्धरण सुमतितन्त्रबाट लिइएको हो । विक्रमसंवत् र शकसंवत् बीचको अन्तर १३५ भनिएको आधारबाट ४९८ शकमा १३५ जोडेपछि वि.सं ६३३ हुनु स्वभाविक भयो । तर विक्रमसंवत्को हिसाव कसरी गर्ने भन्ने बारेमा सुमतितन्त्रमा एक शव्द पनि उल्लेख पनि छैन व्याख्या पनि छैन ।
यति हुँदा हुँदै पनि उहाँले जवरजस्ति मानन्देवस्य राज्याव्द ३०४ मा ६३३ जोडेर वि.सं ९३७ देखि नेपालसंवत् चलेको हो भनेर जुन किसिमको दावा गर्नुभयो । यसमा उनी आफै भड्खालोमा पर्यो भन्ने कुरा चाल पाउन सकेनन् । उनको लागि यो पनि एउटा ठूलो घाटा सिद्ध भइरहेको छ । किनभने नेपालसंवत्को शुरु वि.सं ९३७ कार्तिकमा भएको होइन । तैपनि यसलाई जबरजस्ति गर्दा सहोत्तरतन्त्रको मितिको जुन गणनाको परिणाम उनले दिनुभयो त्यसमा गएर उनी नराम्रोसंग पछारिएको पनि होस भएन यो कुरा सम्बन्धित ठाउँमा व्याख्या गरिने छ ।
२. वि.सं ६६४ पौषशुक्ल अष्टमी
अंशुवर्मादेखिका लिच्छवि राजाहरुले व्यवहार गरेको संवत् कार्तिकादि थियो भन्ने कुराको सङ्केत अनन्तलिङ्गेश्वरमा रहेको नरेन्द्रदेवको अभिलेखबाट पाइन्छ ।
(लिच्छविसंवत्को निर्णय पृष्ठ ९)यो मिति भक्तपुर इनायचो टोलको अभिलेखमा भएको संवत् ३१ द्वितीयपौष शुक्लाष्टम्याम्को रुपान्तरित विक्रमसंवत्को मिति हो । किनभने ३१ मा ६३३ जोडेर वि.सं ६६४ बनाइएको हो र अभिलेखको मितिको पौषशुक्ल अष्टमीको अगाडि द्वितीय शव्द उल्लेख भएकोले यो वर्ष अधिमास परेको स्पष्ट छ साथै पौषमा अधिमास मानेको पनि स्पष्ट छ । लिच्छविसंवत्को निर्णयका रचयिताले यहाँ सरासर कैफियत गरी यो अधिमास अभिलेखको संवत् ३१ ज्येष्ठमा पर्छ भनेर दिइएको छ ।(उही पुस्तकको पृष्ठ ९मा)
अभिलेखको संवत् ३१ वि.सं ६६४ को कार्तिकदेखि वि.सं ६६५ को आश्विनसम्म रहन्छ भन्दै वि.सं ६६४ बाट १३५ घटाएर ५२९ ल्याई यो शकसंवत् आयो भनी देखाइएको छ । यही पुस्तकको पृष्ठ २९३ देखि २९७ सम्म अधिमास क्षयमास सारणी दिइएको छ तर त्यस सारणीमा शक ५२९ को वर्षमा अधिमास पर्छ भनी दिइएको छैन । यसको मतलव शक ५२९ र वि.सं ६६४ को वर्षमा अधिमास परेको थिएन । यहाँ अभिलेखमा संवत् ३१ पौष भनिएको देखादेख पनि अभिलेखको संवत् ३१ को ज्येष्ठमा अधिमास पर्छ भन्नु दुनियाँलाई उल्लू बनाउनु हो । यसरी अभिलेखको वाक्यको सङ्गति लाग्यो भनिएको छ वास्तवमा यो विसङ्गति लागेको हो ।
३. वि.सं ६६७ पौष शुक्ल द्वितीया
यो मिति पाटन सुनधाराको अभिलेखमा भएको संवत् ३४ प्रथमपौष शुक्लद्वितीयायाम्को रुपान्तरित विक्रमसंवत्को मिति हो । किनभने ३४ मा ६३३ जोडेर वि.सं ६६७ बनाइएको हो र अभिलेखको मितिको पौषशुक्ल द्वितीयाको अगाडि प्रथम शव्द उल्लेख भएकोले यो वर्ष अधिमास परेको स्पष्ट छ साथै पौषमा अधिमास मानेको पनि स्पष्ट छ । यसमा वि.सं ६६७ बाट १३५ घटाए शक ५३२ आउँछ तर शक ५३२ को वर्षमा अधिमास छैन । यसको मतलव वि.सं ६६७ को वर्षमा अधिमास परेको छैन । वि.सं ६६८ वैशाखमा परेको अधिमास वि.सं ६६७ मै परेको देखाउनु कैफियत गरेको हो ।
४.वि.सं ६६४ माघ शुक्ल त्रयोदशी तिष्यनक्षत्र आइतबार
यो मिति चाँगुको अंशुवर्माको अभिलेखमा भएको संवत् ३१ माघशुक्ल त्रयोदशी तिष्यनक्षत्र आइतवारको रुपान्तरित विक्रमसंवत्को मिति हो । किनभने ३१ मा ६३३ जोडेर वि.सं ६६४ बनाइएको हो र अभिलेखको मिति माघशुक्ल त्रयोदशी तिष्यनक्षत्र आइतवार हो । वि.सं ६६४ मा १३५ घटाए शक ५२९ हुने कुरा माथि पनि गइसक्यो । शक ५२९ को वर्षमा अधिमास छैन यो पनि माथि गइसक्यो ।
यहाँ देखिने कैफियत भनेको भक्तपुर इनायचो अभिलेखको प्रसङ्गमा यसको अधिमास संवत् ३१ ज्येष्ठमा पर्छ पनि भन्ने माघ शुक्लको हिसाव आउँदा जेष्ठ आएकै छैन चैत्रदेखि पौषसम्म ११ महिना गरी वर्तमान चान्द्रमासको शुक्लादि वर्तमानतिथि भनेर ११ह्३०+१३ = ३४३ भनेर दिइयो । यही ३४३ मा चैत्रशुक्ल प्रतिपदा नआएसम्मको ४७ दिन समेत राखियो भने वि.सं ६६४ अथवा शक ५२९को वर्षमा ३९० दिन हुन जाने भयो । ६४० पृष्ठको बाक्लो पुस्तकमा ३९० दिन भएको वर्ष बारे एक शव्द वर्णन कहिं पनि गरिएको छैन ।
वेदाङ्ग ज्योतिषमा एकवर्षमा ३६६ दिन हुन्छन् भनी लेखिएको छ । वास्तवमा एक वर्षमा ३६५ दिन १५ घडी जति हुन्छ । (उही पुस्तकको पृष्ठ १०६)
हिसाव देखाउने बेलामा ३९० दिन भएको वर्षको सिद्धान्त पकड्ने र अर्कोतिर वेदाङ्ग ज्योतिषमा ३६६ दिन हुने भएपनि वास्तवमा ३६५ दिन १५ घडी मात्र हुन्छ भन्नु सोझै सिद्धान्तमा बाझिएको कुरा पुस्तकका रचयितालाई होसै भएन । यसलाई आफनै निर्णय विरोधाभासपूर्ण छ भन्ने प्रमाणित भएको भन्नुपर्छ ।
हिसाव गर्दा क्षेपक भनेर तिथि वारादि चन्द्रकेन्द्र सूर्यकेन्द्र नक्षत्रका ध्रुव भनेर शकसंवत १८०० को दिइएको छ । यो शकसंवत् १८०० कार्तिकादि नभइ चैत्रादि छ ।
यही पुस्तकको पृष्ठ ९३ पल्टायौं भने यो पनि उल्लेख गरिएको छ ।
सूर्यघाटको अभिलेखबाट संवत् ४२७ को आषाढमा मानदेव बितिसकेका देखिएका र चाँगुको अभिलेखबाट संवत् ४२७ को कार्तिकमा मानदेव राज्य गरिरहेका देखिएकाले मानदेवहरुले व्यवहार गरेको संवत् कार्तिकादि थियो भन्ने देखिन आउँछ ।
यसबाट पनि हिसावको सिद्धान्त प्रस्तुत गर्दा शकसंवत् चैत्रादिको अघि सार्ने मानदेवहरुले व्यवहार गरेको शकसंवत् कार्तिकादि भने पछि यो पनि आफनै निर्णय सोझै विरोधाभासपूर्ण भयो । यो पनि पुस्तकका रचयितालाई कुनै हेक्का रहेन ।
लिच्छविसंवत्को निर्णयमा देखाइएका हिसाव जति सबै शकसंवत् चैत्रादिमा गणना गरिएको छ । लिच्छविकालका अभिलेखमा मानदेवहरुले व्यवहार गरेको संवत् पनि कार्तिकादि र अंशुवर्मादेखिका अभिलेखहरुमा पनि कार्तिकादि भनिएको मतलव शकसंवत् पनि कार्तिकादि र मानदेवसंवत् पनि कार्तिकादि भनेर आफ्नै निर्णय बिरोधाभास भएको चाल नपाउने वा बूझपचाएको भन्नु बढी सटिक हुन आउँछ । अझ त्यसमाथि विषयलाई यसरी विषयान्तर गरिएको देखिनु हास्यास्पद हुन आउँछ ।
अहिले शकसंवत्को आरम्भ चैत्रमा हुन्छ । शकसंवत् चैत्रादि छ भन्ने कुरा पात्रो पल्टाउनेवित्तिकै जानिने कुरा हो । तर विक्रमको छैठौंशताव्दीका प्रसिद्ध ज्योतिष का विद्वान वराहमिहिरले शकसंवत् माघादि पनि छ भनेर लेखेकाले शकसंवत् चैत्रादि मात्र भएरचल्छ कार्तिकादि भएर चल्न नसक्ने भन्नेकुरा पनि कुनै उपपत्तियुक्त तर्क होइन ।
(लिच्छवि संवत्कोनिर्णय पृष्ठ ४४२)
यसरी आगराको कुरा गागरामा लगेर जोड्न लग्दैमा निर्णयमा एक थोपा पृष्ठ पोषण भएको होइन । केही मान्छे जेभने पनि वाह वाह गर्ने गरियो भन्दैमा कार्तिकादि भनेर मानेको संवत्को गणना कार्तिकादिबाट नगरी चैत्रादिबाट गर्न छूट पाएको हुँदैन । तर केही मान्छेले छूट पाएको ठान्छन् भने त्यो केवल उनीहरुको असान्दर्भिक कुरा मात्र हुने हो । कुरा चपाएर होइन गणना गर्दा शकसंवत्लाई चैत्रादिबाट गरियो भने त्यो शकसंवत् चैत्रादि ठहरिने र यदि शकसंवत्लाई कार्तिकबाट गरियो भने त्यो कार्तिकादि ठहरिने भनेर बुझ्ने हो । तर लिच्छविकालमा चलेको संवत् कार्तिकादि भनेर सकार्ने र त्यसलाई शकसंवत् भनेर चैत्रादिमा हिसाव देखाइएको हुनाले त्यो नितान्त नाजायज हो भनेको सन्दर्भमा कसैले बेतूकको कुरा प्वाक्क बोल्यो भन्दैमा मनासीव ठान्ने निर्णयकर्ताको लागि शोभनीय बिल्कुलै होइन ।
५.वि.सं ९३५ वैशाख शुक्ल सप्तमी तिष्यनक्षत्र आइतवार सिद्धयोग ।
यो मिति केसर पुस्तकालयमा रहेको सौश्रुती संहिता सहोत्तरा नामक ग्रन्थको पुष्पिकावाक्यमा भएको संवत् ३०१ वैशाखशुक्ल सप्तमी तिष्यनक्षत्र आइतवारको रुपान्तरित विक्रमसंवत् भनेर दिइएको छ । तर संवत् ३०१ मा ६३३ जोडेमा वि.सं ९३४ मात्र हुने हो ९३५ हुने होइन । यदि सुमतितन्त्र हावी गराउने हो भने पनि ३०१ मा ४९८ जोड्दा शक ७९९ हुन्छ र शक ४९८ मा १३५ जोड्दा बि.सं ६३३ हुने हो भने पनि ३०१ मा ६३३ जोड्दा पनि वि.सं ९३४ मात्र नै हुने हो । यसबाट के स्पष्ट हुन आउँछ भने सुमतितन्त्रमा दिइएको शक ४९८ भनेको वास्तवमा कार्तिकादि होइन चैत्रादि नै रहेछ । यदि कार्तिकादि भै दिएको भए कार्तिकमा पनि शक ४९८ र वैशाखमा पनि शक ४९८ नै हुने थियो तर त्यसो नभइ कार्तिकमा ४९८ भइकन वैशाखमा ४९९ भै सक्ने मान्यता निर्णयका रचयिताले समातेको देखियो ।
तथापि शकसंवत् कार्तिकादि थियो भन्ने कुरा कुनै पनि स्रोत प्रमाणले भनेको होइन । लिच्छविकालको अभिलेखमा भएको संवत् त कार्तिकादि थियो भन्ने निर्विवाद सिद्ध भै सकेको हुनाले अभिलेखमा भएको संवत् शकसंवत् पनि होइन र मानदेवसंवत् पनि होइन भन्ने कुरा यसबाट पनि स्पष्ट हुन आउँछ ।
यदि पुष्पिका वाक्यमा भएको संवत् ३०१ साँच्चै मानदेवसंवत् भएको भए सुमतितन्त्र अनुसार ३०४ वर्ष मानदेवसंवत् चलेको देखाउन वि.स ं९३५ वैशाखमा ३०१ हुने भएपछि ३०४ व्यतित हुञ्जेलसम्म विक्रमसंवत् ९३८ हुनु पर्ने आवश्यकता आइपर्छ । यहाँ मानदेवसंवत् ३०४ व्यतित नभइकनै नेपालसंवत्को उठान भएको पनि होइन भनेपछि वि.सं ९३८ कार्तिकमा आएर बल्ल नेपालसंवत् शुरु भएको मान्नुपर्ने खण्ड आइपर्छ । यो कुरा इतिहासले कहिल्यै सकार्दैन ।
सुमतितन्त्रले शकसंवत् ४९८ सम्म चल्यो र मानदेवसंवत् ३०४ वर्ष चल्यो भनेको कुरालाई आत्मसात गर्दा त वि.सं ९३६ मा शुरु भएको नेपालसंवत् वि.सं ९३८ सम्म धकेलिनु पर्ने अवस्था आइपर्छ भने शकसंवत् ४९९ सम्म चलेको देखाएर गणना गरेपछि नेपालसंवत् अझ ९३९ सम्म धकेलिनु पर्दा इतिहास के चूप लागेर बसेको भनेर ठानेको हो ? त्यसकारण गणितमा प्रकाण्ड विद्वान कहलिएको व्यक्तिलाई यति सामान्य हिसाव सूझ्न नसक्नु भनेको परम आश्चर्य नै हो ।
६. वि.सं ५२२ ज्येष्ठ शुक्ल प्रतिपदा रोहिणी नक्षत्र
यो मिति चाँगुनारायणको मानदेवको अभिलेखमा भएको संवत् ३८६ ज्येष्ठ शुक्ल प्रतिपदाको रुपान्तरित विक्रमसंवत् भनेर दिइएको छ । यदि संवत् ३८६ साँच्चै शकसंवत् भएको भए त्यसमा १३५ जोड्दा वि.सं ५२१ हुनुपर्ने थियो वि.सं ५२२ होइन ।
……मानदेवको चाँगुको अभिलेखको संवत् ३८६ लाई कार्तिकादि शकसंवत् हो भनी मान्दा (सो अभिलेख ज्येष्ठको भएकोले ३८६+१३५+१=५२२ हुने हुनाले) यसको समय वि.सं ५२२ देखिन्छ ।
(लिच्छविसंवत्को निर्णय पृष्ठ ९६)
यहाँ निर्णयमा के समस्या तड्कारो रुपमा देखियो त भन्दा अंशुवर्माको पालाको शकसंवत् र मानदेवको पालाको शकसंवत्मा के भिन्नता छ? त्यो खुलाइएको छैन । यदि ती दुवैको पालाको शकसंवत् एउटै हो भने अंशुवर्माको पालामा शकसंवत्मा १३५ जोडे पुग्ने मानदेवको पालामा १३६ जोड्नु पर्नाको कारण के हो ? केही खुलाइएको छैन । यदि फरक हो भने के फरक? त्यो पनि केही खुलाइएको छैन । वेदाङ्ग ज्योतिष भयो सुमतितन्त्रनै भयो त्यसमा शकसंवत् कार्तिकादि थियो भन्ने कुुराको कुनै संकेतसम्म पनि कतै खुलाइएको छैन ।
ज्येष्ठ महिनाको अभिलेख केवल मानदेवको चाँगुनारायणको एक अभिलेख मात्र होइन अरु पनि थुप्रै पाइएका छन् ती अभिलेखको मितिमा १३६ जोड्न नपर्ने त्यो एउटामा मात्र जोड्नु पर्नाको कारण के हो ? ६४० पृष्ठको मोटो पुस्तकमा कतै पनि त्यो कुरा खुलाइएको छैन । यस प्रकार निर्णय आफैमा बाझिएका छन् ।
अर्को बाझिने कुरा भनेको वराहमिहिरको सूत्र भनेर दिइएको यसप्रकार छ
चाँगुको मानदेवको अभिलेखमा संवत् ३८६ज्येष्ठ महीनाको शुक्ल पक्षको परेवा तिथि रोहिणीनक्षत्र अभिजित मुहूर्त भनी लेखिएको छ । यस दिनको गणना अव वराहमिहिरका सूत्रअनुसार गरिन्छ । सो अभिलेखको संवत् ३८६ कार्तिकादि शकसंवत् हुनाले र ज्येष्ठ महीना हुनाले अभीष्ट समयमा वराहमिहिरको शकसंवत् ३८७ हुन्छ ।
(लिच्छविसंवत्को निर्णय पृष्ठ १०२।१०३ )
हामी नितान्त अभिलेखमा भएको संवत् ३८६ ज्येष्ठको विषयमा सरोकार राख्छौं । वराहमिहिर त्यस्तै एबिसि जोसुकै होस् उनको सूत्रमा के छ ? त्यसको सरोकार होइन बरु अभिलेखमा भएको संवत् ३८६ को बारेमा उनको पनि विचार के छ? त्यसको व्याख्या भए पुग्छ ।तर त्यसको कुनै व्याख्या गरिएको छैन । यसरी ३८६+१ = ३८७ वा ३८६+१३५+१=५२२ गर्नुभन्दा सिद्धान्त स्पष्ट के हो ? यसरी विक्रम संवत्लाई मात्र आधार मानेर नेपालमा चलेका अरु संवत्हरुको बहिस्कार गर्दै आउँदा उहाँ आफै कुहिरोमा हराएको काग जस्तै बन्नु परेको परिदृश्य छर्लङ्ग हुन आएको छ ।।
निष्कर्ष
वास्तवमा विद्वान कहलिन योग्य त्यसलाई भनिन्छ जसले भनेको कुरा अकाट्य र दिगो सिद्ध भइरहेको होस् । जसको त आफनो कुरा आफैलाई अपाच्य ठहरिएको छ उसलाई गणितका माहिर प्रकाण्ड विद्वान भनेर तारिफ गरेर प्रशंसा गरिरहनु र गर्दै आउनुको कुनै औचित्य छ जस्तो लाग्दैन । खैर मान्नेले उनलाई सँधै देवता नै मानेर पूजा गरिरहुन् कुनै चासोको कुरा होइन ।
अहिले आएर केही व्यक्तिको दिमागमा लिच्छविसंवत्को निर्णयमा त्रुटी भएको हो भन्ने आभास हुन थालेको छ किनकि हिजोसम्म त्यही पुस्तकलाई तारिफ गर्दै आइ रहेका थिए । केही मान्छे यो पुस्तक ज्योतिषको पुस्तक होकि इतिहासको भन्ने छुट्याउन सकिरहेका छैनन् । वास्तवमा यो इतिहासको पुस्तक हो यसमा तिथिमिति गणना ज्योतिष सिद्धान्त प्रयोग गरिएका हुन् । हेर्दा यसमा गणितको सिद्धान्त छ जस्तो देखिने तर मनोमानी पाराले गरिएको छ । यो कुरा बुझ्ने जनशक्ति नभएकोले कहाँ निर मनोमानी भइरहेको छ अरुलाई थाहा नहुनु कुनै आश्चर्य होइन । यसरी मनोमानी गर्छु भनेर गरिएको हुनाले यसमा उनीहरुले आत्मालोचना गर्दैनन् । त्यसैले सच्याउने दायित्व हाम्रो हो उनीहरुको होइन । अतः यति अपेक्षा राख्ने अधिकार त सबैलाई छ कि हामीले दिनानुदिन अध्ययन अनुसन्धान गर्दै आउनु पर्ने इतिहास संस्कृतिका विषयमा ती गलत निर्णयको प्रभाव र कालो छायाँ नपरोस् भनी दोष पन्छाइपन्छाई अध्ययन अध्यापन गर्नु गराउनमा जोड दिनु नै मूल कर्तव्य ठान्नु पर्दछ ।