कुनै विषयमा गहिराईमा गइ अध्ययन नगरीकन त्यसको सवल पक्ष र दूर्वल पक्षको पहिचान गर्न संभव हुँदैन । लिच्छविकालमा चलेका संवत्लाई प्रायः इतिहासकारहरुले शकसंवत् र मानदेव संवत् नै हुन् भन्ने गर्दै आए तर यसका सवल पक्ष के हो र दूर्वल पक्ष के हो ? बुझेर भनेको चाहिँ होइन । त्यसमा उनीहरु गहिराईमा गइ बुझ्न खोजेको जस्तो पटक्कै देखिएको पनि छैन । हुनत आज भन्दा ३८ वर्ष अघि वि.सं २०४३ सालमा लिच्छवि संवत्को निर्णय नामक पुस्तक प्रकाशमा आएको हो । त्यो पुस्तक तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित भएको हो । अहिले आएर त्यो निर्णय व्यर्थ सिद्ध हुन आएको छ । किनकि जुनबेला त्यो निर्णय भएको थियो त्यतिबेला उपलव्ध भएकै स्रोत सामग्री नै प्रयाप्त थियो । ती नै सामग्री माथि टेकेरै पनि लिच्छविकालमा चलेको संवत शकसंवत् पनि होइन र मानदेवसंवत् पनि होइन भन्ने आधार प्रशस्त थिए । यसको प्रमुख कारण भनेको तत्कालीन विद्वत् समुदायको समूह हो । त्यो समूह जसरी हुन्छ लिच्छविकालमा चलेको संवत् शकसंवत् र मानदेवसंवत् नै हो भनी ठहराउन पाए हुन्थ्यो भन्ने पक्षमा उद्यत थिए । त्यही भएर तत्कालीन सरकार मार्फत शकसंवत् र मानदेवसंवत् नै हो भनी निर्णय गराउने उत्कट इच्छा त्यस समूहले राखेको हुनाले पं नयराज पन्तलाई प्रज्ञा प्रतिष्ठानको सदस्यमा नियुक्त गराइयो र उनै मार्फत सरकारको आदेश बमोजिमको फैसला गराइएको हो भन्ने कुरा अहिले प्रष्ट खुल्न आएको छ किनभने त्यो निर्णयमा कतिपय कुरा उहाँले जानजान पनि बूझपचाएको कुराहरु छन् । त्यसरी आदेश मुताविक फैसला गरे वापत उहाँले सम्मान विभूषण पाएको पनि हो । उहाँले गरेको त्यस निर्णयमा विद्वत् समूह अहिलेसम्म पनि खुशी रहेका छन् परन्तु वास्तविक अर्थमा भन्ने हो भने यथार्थ इतिहास चाहिँ त्यो निर्णयदेखि खुसी थिएन र इतिहासले उहाँलाई क्षमा गरेको पनि छैन भन्नेकुरा सायद उहाँमा पनि हेक्का थियो कि जस्तो लाग्छ । किनभने यो निर्णयमा भरमार सैद्धान्तिक त्रुटिहरु सतहमा त्यत्तिकै तैरिएर रहेकैबाट बोध हुन्छ ।
यस प्रकार लिच्छविकालमा चलेको संवत् शकसंवत् र मानदेव संवत् नै हो भनी ठहर गर्नका लागि उहाँलाई जायज होस या नाजायज होस् सबै तरिका अपनाएर भए पनि निर्णय गर्नु पर्यो भन्ने अभिभारा उहाँमा आएकोले उहाँले पनि आफनो कर्तव्य निभाएको मात्र हो । त्यसैले विद्यावारिधिको कामसंग त्यो फैसलाको कुनै तुलना हुँदैन । फेरि विद्यावारिधि गर्दा त्यो फैसलाको अनुकूल जानै पर्दछ भन्ने जरुरी पनि छैन । अहिले मान्छेहरुको हाउभाउ सबै बुझ्दा फैसला र विद्यावारिधि बीच द्वन्द्व गराइदिने प्रयास जस्तो अथवा लहरो तानेर पहरोपहरो ठोकाइ दिने भाषा बोल्न थालेको महसूस हुन आएको छ किनकि तलको उद्धरणले त्यही देखाउँछ ।
हिमाल खबर, कार्तिक १७, २०८१ मा प्रकाशित लेखबाट उधृत
लिच्छविकालमा चलेका संवत्का सम्बन्धमा शंकरमान राजवंशी र उनका छोरा श्यामसुन्दरले विद्यावारिधि तहमा गरेको शोध मार्फत त्रिविले एकखाले मतलाई मान्यता दियो । त्यसको करीव ३८ वर्षअघि नै तात्कालिक राजकीय प्रज्ञा प्रतिष्ठानले नयराज पन्तको लिच्छवि संवत्को निर्णय पुस्तक प्रकाशन गरी अर्कै खाले मतलाई स्विकारि सकेको थियो ।यसरी सरकार अन्र्तगतकै दुई निकायले परस्पर बाझिने मतलाई स्विकार्दा ऐतिहासिक तथ्यप्रति सरकारको दृष्टिकोण पनि बाझियो भन्ने सवाल छ ।
यसको जवाफमा प्रतिकृया दिनेले पनि संशोधन मण्डल कै पक्षधर भएर यसरी व्यक्त गरेको छ ।
लिच्छविकालमा शुरुमा चलेको संवत्लाई संशोधन मण्डलले अहिलेपनि शकसंवत् नै भनिरहेको छ ।
अंशुवर्माले चलाएको भनिने संवत् २९ देखि प्रचलनमा देखिएको संवत्लाई संशोधन मण्डलले मानदेवसंवत् ४९८ बाट शुरु भएको मानेको छ । श्यामसुन्दरले चाहिं यो संवत् मानदेवसंवत् कै निरन्तर रहेको अनि ५०० वर्ष पुगेपछि फेरि एकदेखि गणना गरी अंशुवर्माले आफनो नाममा चलाएको उल्लेख गरेका छन् ।
इतिहासकार कहलिएको भन्दैमा पनि हुँदैन रहेछ ती मध्ये कोही प्राचीन इतिहासकाविज्ञ हुने गर्छ भने कोही आधुनिक इतिहासकाविज्ञ । प्राचीन इतिहासको मर्म बारे आधुनिक इतिहासका विज्ञलाई थाहा नहुन सक्छ भने आधुनिक इतिहासका मर्म बारे प्राचीन इतिहासका विज्ञलाई थाहा नहुन सक्छ फलस्वरुप त्यहाँ अन्तसन्त हुने गरी अभिव्यक्ति दिने गरेको पाइन्छन् । किनभने यहाँ पनि श्यामसुन्दरले मानदेवसंवत् कै निरन्तरता भनेर कहीं जिकिर गरेकै छैन र उसले ५०० वर्ष पुगेपछि फेरि १ देखि गणना गरी अंशुवर्माले आफनो नाममा चलाएको भनेर पनि कहीं जिकिर नै गरेकै होइन । प्रतिकृया दिने विद्वानले अन्तसन्त हुने गरी अभिव्यक्ति दिइरहेको छ । वास्तवमा यस्तो दुराशय पूर्वक दिएको अभिव्यक्ति देख्दा उदेक लाग्नु स्वभाविक हुन्छ ।
त्यस अभिव्यक्तिमा भनिएको छ जहाँसम्म सरकारी दृष्टिकोणको कुरा छ, दुई निकायले मान्यता दिंदैमा निष्कर्षमा पुगिएको मानिंदैन भन्नुको मतलव यसबाट खुलेर नभने पनि त्रिविले श्यामसुन्दरलाई विद्यावारिधि दिइए पनि उनको मान्यता भन्दा संशोधन मण्डलको मान्यता स्विकार्य मान्छु भनेको हो र मतलव ३८ वर्षअघि जे निर्णय भएको थियो त्यसकै पक्षमा छु भनेको प्रष्ट रुपले बुझिन्छ । यसको मतलव सूर्यलाई हत्केलाले छेकेर थाकेको छैन भन्ने नै उन विद्वान महानुभावको आसय हो ।
यही परिप्रेक्ष्यमा केन्द्रित भएर भन्नुपर्दा आजभन्दा ३८ वर्षअघि भएको निर्णयलाई अनुसन्धान भन्नुभन्दा यसलाई शकसंवत् र मानदेव संवत् नै हो भनेर जसरी हुन्छ सिद्ध गर भनेर दिइएको आदेश बमोजिमको पालना मात्र थियो भन्नु पर्ने हुन्छ । यदि त्यसो होइन भने त्यसबेला उपलव्ध भएका स्रोत सामग्रीको अत्यधिक दुरुपयोग किन गरिनु परेको हो त ? भन्ने प्रश्न तेर्सिन आउँछ । त्यस निर्णयमा त्यसबेला उपलव्ध भएका ऐतिहासिक स्रोत सामग्रीको अत्यधिक दुरुपयोग हुन गएको विषयलाई नै केन्द्रित गरी यो लेख तयार गरिएको छ ।
दुरुपयोग हुन गएका स्रोत सामग्रीहरू
१. आज भन्दा ३८ वर्ष अघि गोकर्ण वालुवा गाउँको संवत् ५३६ को अंशुवर्माको अभिलेख भेटिएको थिएन अवश्य हो । तैपनि लगन ज्यावहालको संवत् ५३५ को अभिलेख भने उहिल्यै भेटिएको हो । जुनवेला पं भगवानलाल इन्द्रजीले वि.सं १९३७ मा १५ वटा लिच्छविकालका अभिलेख संकलन गर्दाको बेला मै त्यो अभिलेख फेला परिसकेको थियो । यो अभिलेख आफनो अगाडि दृष्टान्त खडा छँदाछँदै ३८ वर्षअघि लिच्छविसंवत्को निर्णय गर्दा त्यसलाई उपेक्षा गर्नु भनेको पनि दुरुपयोग नै हो । लिच्छविकालको संवत् निर्णय गर्न लिच्छविकाल कै अभिलेख आकर्षित नगरिनु एक प्रकारको दुरुपयोग नै हो । यसरी किन दुरुपयोग गरियो भन्दा जसरी हुन्छ शकसंवत् र मानदेवसंवत् सिद्ध गर्छु भनेर अभिष्ट बोकेको ब्यक्तिलाई संवत् ५३५ को ज्यावहालको अभिलेख बाधक बनेको थियो । यसरी उपलब्ध स्रोतको रुपमा अगाडि नै रहेको अभिलेखलाई पर पन्छाइ गरेको निर्णयलाई निष्पक्ष निर्णय हो भनेर मान्न किमार्थ सकिन्न । त्यसकारण विद्यावारिधिसंग त्यसतो दूषित फैसला बीच कुनै तुलना हुनसक्दैन । त्यो दूषित फैसलालाई आदर्श मान्नेहरुले विद्यावारिधिको निचोडलाई हेलाको भावले हेर्नु उनीहरुको मनलाई चित्त नबुझ्नुको परिणाम मात्र हो । तर यथार्थ उनीहरुको चाहना बिपरीत आएकोले गर्दा विद्यावारिधिको निचोडलाई अस्विकार्य भन्न खोजेको हो ।
२. लिच्छविकालमा चलेको संवत् कार्तिकबाट शुरुहुने कार्तिकादि संवत् हो भन्ने कुरा साराले बुझी सके । त्यो बेला विक्रमसंवत्को कुनै कतै गुञ्जाइस थिएन र कुनै अभिलेखले पनि कुनै संकेत दिएको पनि थिएन । तैपनि शकसंवत् भन्दा जेठो संवत् देखिएको आधार लिएर शकसंवत् र विक्रमसंवत् बीचको अन्तर १३५ छ भनेर देखाउन खोज्दा त्यतिवेला कै स्रोतको आधारमा उदाहरण दिन सक्नुपर्ने थियो तर गरिएन । यसको मतलव जसरी भए पनि फैसला गर भन्ने आदेश पालना गर्नका लागि वि.सं २०३५ सालको पात्रो हेर भन्नु स्रोतको दुरुपयोग हुनगएको भन्न सकिन्छ ।
अहिले वि.सं २०३५ मा शकसंवत् १९०० हुन्छ । यो कुरा पात्रो हेरे थाहा हुन्छ । यस कारण वि.सं तथा शकसंवत्को अन्तर २०३५—१९००=१३५ हुन्छ भन्ने स्पष्ट हुन्छ ।
(लिच्छविसंवत्को निर्णय पृष्ठ २)
वि.सं २०३५ सालमा शकसंवत् पनि कार्तिकादि थियो भनी प्रमाण देखाउन सकेको होइन । लिच्छविकालको संवत् कार्तिकादि हो र यसलाई शकसंवत् भनी मान्ने मान्छेले २०३५ सालमा विक्रमसंवत् संग १३५ फरक भएको देखाउनु भनेको मान्छेलाई ठाडै बेवकूफ बनाउनु हो । २०३५ सालको पात्रो पल्टाउँदा शकसंवत् चैत्रादि भन्ने मात्र देखिन्छ । लिच्छविकालको संवत्को निर्णय गर्न २०३५ सालको उदाहरण दिनु भनेको नाजायज हो । लिच्छविकालको संवत्को विषयमा विद्यावारिधि गर्नेले २०३५ सालको पात्रोको सहारा लिएर निचोड दिने त्यस्तो महाभूल गरेको छैन । त्यस कारण आज भन्दा ३८ वर्ष अघिको निर्णय विद्यावारिधिमा अनुपयुक्त सिद्धभएको हो ।
३. आज भन्दा ३८ वर्षअघि भएको निर्णयको अर्को दूर्वल पक्ष भनेको सुमतितन्त्रको मूलवाक्य स्वयं पनि हो । किनभने राजा युधिष्ठिर र राजा दुर्योधनको संवत् २००० वर्षसम्म चल्नेछ भनेर दिइएको छ तर कहाँ चल्ने छ, आकाशमा होकि पातालमा होकि स्वर्गलोकमा होकि नर्कलोकमा , भारतमा होकि नेपालमा होकि त्योकुरा सुमतितन्त्रमा एक रत्ति खुलाइएको छैन । राजा नन्द,राजा चन्द्रगुप्त, राजा शूद्रकदेव र शक राजाले नेपालमा आएर शासन चलाएको कुरा कुन इतिहासमा छ ?यीसबै हावादारी कपोलकल्पित हुन् भन्ने प्रष्ट छ । यो त सुमति तन्त्रलाई जसरी होस् महत्वपूर्ण सिद्ध गर भनेर आदेश दिइएको पालना मात्र देखिएको हो ।
४. त्यही सुमतितन्त्रमा पछि पछि थपिएको वाक्यमा पनि ३०४ वर्ष मानदेवसंवत् चल्ने छ भनेर दिइएको छ । त्यो संवत् पनि न हावामा चलेको देखियो न पानी चलेको देखियो । ठिकै छ यो संवत् नेपाल मै चलेको हो भन्ने आसय हो भने सहोत्तर तन्त्रमा भएको संवत् ३०१ लाई मानदेवसंवत् मान्ने व्यक्तिले आफनो सिद्धान्त किन छोडेको भन्ने ? मुख्य प्रश्न यो हो
लिच्छविसंवत्को निर्णयको पृष्ठ २७ पल्टाएर हेर्दा थाहा हुन्छ । किनभने अभिलेखको संवत् ( मानदेवसंवत् ) ३०१ भनेको विक्रमसंवत् ९३५ शाके ८०० वैशाख शुक्ल सप्तमि आदित्यवार तिष्य नक्षत्र भनेर स्वयंले निर्णय गरेको प्रत्यक्ष छ । वि.सं ९३५ वैशाखमा मानदेवसंवत् ३०१ भएपछि ९३६ वैशाखमा ३०२ र ९३७ वैशाखमा ३०३ र ९३८ वैशाखमा बल्ल ३०४ हुनपाउने हुन्छ । नेपालमा नेपालसंवत्को उदय हुँंदा मानदेवसंवत् विद्यमान थिए भनेर सिद्ध गरेको कहाँ छ ? नेपालसंवत्को उठान त वि.सं ९३६ कार्तिक मै भइसक्यो भन्नेकुरा कुनै इतिहासकारलाई त्यसको बेलिविस्तार लाउनुपर्ने जरुरत त छैन । फेरि ३०४ वर्ष मानदेवसंवत् चलीसकेपछि मात्र नेपालसंवत्को उठान भएको यदि हो भने वि.सं ९३६ कार्तिकमा मानदेवसंवत् ३०४ पुगेकै छैन भनी थाहा भएर पनि बूझपचाउने किन ? यस कारण मानदेवसंवत् हावामा चल्यो कि पानीमा चल्यो कतै देखापरेन भन्नु अन्यथा ठहर्ने होइन । यसरी जवरजस्ति लादिएको निर्णयलाई फैसलाको रुपमा सुनाउन खोज्दा आफ्नै धोती पनि फुस्केको होश नभएको जगजाहेर हुन आएको छ ।
५. अर्को दूर्वल पक्ष भनेको वि.सं १७१२ मा सारिएको हरिवंशको पुष्पिका वाक्य पनि हो । निर्णयको पृष्ठ ४ पल्टाएर हेरेपनि थाहा हुन्छ साथसाथै निर्णयको पृष्ठ ९६ पनि पल्टाएर हेर्नु जरुरी हुनआउँछ । किनभने यसमा वि.सं ९३८ मा नेपालसंवत् उठान भएको धरातलमा टेकेर लेखिएको पुष्पिका वाक्य हो । यो पुष्पिकाले कुनै आधिकारिकता पुष्टि गर्दैन । वि.सं १७१२ — ७७५ = ९३७ हुन्छ भन्नु र नेपालसंवत् १ हुँदा वि.सं ९३८ थियो भने मात्र ९३८ — १ = ९३७ हुने उही तरिका हो । त्यस कारण वि.सं ९३८ मा नेपालसंवत् उठान भएको धरातलमा टेकेको स्पष्ट देखियो । तर यथार्थ भनेको वि.सं ९३६ कार्तिकमा नेपालसंवत् उठान भएको हो भन्नेकुरा दुनियाँलाई थाहा भए पनि निर्णय सुनाउने निर्णायकलाई थाहा नहुनु भनेको अचम्म नै हो यो त निर्णायकले बूझपचाएकै भन्नु पर्ने हुन्छ । किनकि यहाँ एकदुई वर्ष तलमाथि परेको कुरा होइन सिद्धान्त नै तलमाथि परेको हो । सामान्य ज्ञानले भन्छ कि नेपालसंवत्को उठान वि.सं ९३६ हो भने केवल बूझपचाउनेहरुले वि.सं ९३८ देखाएको आधारमा जसरी हुन्छ । यसरी मान्छेको आँखामा धूलो छ्यापेर भएपनि फैसला गर भनिएको आधारमा आएको लिच्छविसंवत्को निर्णय हो भन्ने कुरा अब घाम जत्तिकै छर्लङ्ग हुन आएको छ ।
६. निर्णयको ९६ पृष्ठमा मानदेवको चाँगुको अभिलेखको संवत ३८६ लाई कार्तिकादि शकसंवत् हो भनी मान्दा ( सो अभिलेख ज्येष्ठको भएकोले ३८६+१३५+१=५२२ हुने हुनाले ) यसको समय वि.सं ५२२ देखिन्छ भनिएको छ । वि.सं १७१२ को हरिवंशको पुष्पिका वाक्यको मितिपनि त ज्येष्ठ शुक्ल पूर्णिमाको हो पृष्ठ ४ मा दिइएकै छ । त्यसमा वि.सं १७१२ दिइएको र शकराजवर्ष भनेर १५७७ मात्र दिइए पछि निर्णयको प्रमाणलाई निर्णयले नै काटिदियो भन्ने प्रष्टै देखियो । किनभने चाँगुको अभिलेख ज्येष्ठ महिना भएर ३८६ मा १३६ जोड्नेले हरिवंशको पुष्पिकामा ज्येष्ठ मै १७१२ र १५७७ बीच १३५ मात्र फरक रहेको निर्णायकले चाल नपाउनु भनेको बूझ पचाउनु हो । किनभने यहाँ केवल १ वर्षफरक परेको कुरा होइन सिद्धान्त नमिलेको कुरा हो । त्यसैले यो निर्णय दुनियाँको आँखामा छारो हालेर भए पनि लिच्छविकालमा शकसंवत् र मानदेव संवत् चलेको हो भनेर सिद्ध गर भनेर दिइएको आदेशको पालना मात्र हो भन्ने कुरा छर्लङ्ग हुन्छ ।
७. अर्को दूर्वल पक्ष भनौं वा दिन दहाडै सफेदझूठ बोलेको देखिने कुरा भनेको निर्णयको पृष्ठ ६ पल्टाएर हेरे पनि थाहा हुन्छ । किनभने सुमतितन्त्रमा वि.सं ६३३ देखि नयाँ संवत् चल्यो भन्ने कुरा लेखिएको छ सो कुरा भोटको परम्पराबाट पनि समर्थित छ भनियो । यो सफेदझूठ हो । सुमतितन्त्रको मूल वाक्यमा युधिष्ठिर दुर्योधन संवत् २००० वर्ष, त्यसपछि ८०० वर्ष नन्दसंवत्,त्यसपछि १३२ वर्ष चन्द्रगुप्त संवत् , त्यसपछि २४७ वर्ष शूद्रकदेव संवत् त्यसपछि ४९८ वर्ष शकराजाकोसंवत् र ३०४ वर्ष मानदेव संवत् चल्नेछ भनेर पनि मूल वाक्य देखाउने त्यो मूलवाक्यमा विक्रमसंवत् कहिले उठ्यो कहिलेसम्म चल्यो लेखिएकै छैन । त्यसकारण सुमतितन्त्रमा वि.सं ६३३ देखि नयाँ संवत् चल्यो भन्ने उल्लेखै नभएको कुरा तैपनि उल्लेख छ भन्नुले सफेदझूठ प्रष्टै देखाउँछ ।
८. भक्तपुर इनायचोको अभिलेख र पाटन सुनधाराको अभिलेख यी दुई अभिलेखहरुमा अधिमासको उल्लेख छ । यो कुरा सर्बविदित प्रायः नै छ । यसमा पनि निर्णायकको दूर्वल पक्ष तड्कारो देख्न सकिन्छ । भक्तपुर इनायचोको अभिलेखको मिति संवत् ३१ द्वितीयपौष शुक्लाष्टम्याम् छ र पाटन सुनधाराको अभिलेखको मिति संवत् ३४ प्रथमपौषशुक्ल द्वितीययाम् छ । अर्को कुरा यहाँ बिर्सन नमिल्ने भनौं या बूझ पचाउन नपाइने कुरा भनेको लिच्छविकालमा चलेको दुवैथरि संवत् कार्तिकबाट शुरुहुने कार्तिकादि संवत् हुन् ।
सुमतितन्त्र अनुसार भनियो भने अभिलेखको संवत् ३१+ ४९८ = शक ५२९ हुनु पर्ने हुन्छ । लिच्छविसंवत्को निर्णयको पृष्ठ २९४ पल्टाएर हेरियो भने शक ५२९ को वर्षमा अधिमास परेको छ भनेर देखाइएको छैन । त्यस कारण सुमतितन्त्रको सहारा यहाँ काम लागेन भन्ने प्रष्ट छ ।
फेरि सुमतितन्त्रमा विक्रमसंवत्को सुईंकोसम्म पनि उल्लेख छैन । सफेदझूट बोलेको भरमा वि.सं ६३३ देखि नेपालमा नयाँ संवत् चलेको सुमतितन्त्रमा छ भन्नु नै मुख्य दूर्वल पक्ष हो । किनभने उल्लेख हुँदै नभएको कुरा यहाँ लाद्न परेको छ । तर विक्रमसंवत् वैशाखादि संवत् अवश्य हो तर शकसंवत् लिच्छविकालमा चैत्रादि होइन भनेर आफै भन्ने । किनकि लिच्छविसंवत्को निर्णयमा लिच्छविकालमा दुइथरिसंवत् चले त्यो पहिलो चाहि शकसंवत् र दोस्रो चाहिं मानदेवसंवत् हो ती दुवै कार्तिकादि हुन् भनेर दावा गरेको कति ठाउँमा छ उनीहरुलाई राम्रोसंग थाहा छ । तैपनि संवत् ३१ भनेको शकसंवत् ५२९ को कार्तिकदेखि शक ५३० को आश्विनसम्म रहन्छ भन्नु र त्यसतै संवत् ३४ भनेको शकसंवत् ५३२ को कार्तिकदेखि ५३३ को आश्विनसम्म रहन्छ भन्नु बूझपचाउनुको पराकाष्ठा हो । फेरि पं नयराज पन्त भन्ने व्यक्ति जादुगर त अवश्यै होइन । फेरि उहाँ आफैले म जादुगर हूँ इतिहासकार गणितज्ञ भन्दा पनि जादुगरीमा रुची छं भनेको छैन । उहाँले देखाएको जादुमा मन्त्रमुग्ध भइरहने किन ? यो अहं प्रश्न हो । किनभने आफु स्वयंले शकसंवत् कार्तिकादि भन्दै आएको पनि यही पुस्तकमा छ र यही पुस्तकमा शकसंवत् चैत्रादि नै ठहराएको पनि छ । जुनकुरा उहाँको निर्णयको पृष्ठ ९ देखि ११ सम्म पल्टाएर हेर्दा थाहा हुन्छ ।
संवत् ३१ भनेको वि.सं ६६४ को कार्तिकदेखि वि.सं ६६५ को आश्विनसम्म रहन्छ । विक्रमसंवत् बाट १३५ घटाए शकसंवत् आउँछ । यस कारण अभिलेखको संवत् ३१ शकसंवत् ५२९ कार्तिकदेखि ५३० आश्विनसम्म रहन्छ । यो उहाँको जादुगरीय कमाल हो । किनभने आफैले शकसंवत् कार्तिकादि भन्ने व्यक्तिले दुनियाँलाई दिउँसै तारा देखाएर शकसंवत् चैत्रादि बनाइ दिए । त्यसैगरी संवत् ३४ लाई पनि जादुगरीय कमाल देखाएर शक ५३२ को कार्तिकदेखि शक ५३३ को आश्विनसम्म रहने देखाए । उहाँको कर्तव्य भनेको दुनियाँलाई ढाँटेर होस् या छलेर जसरी भए पनि लिच्छविकालमा चलेको संवत्लाई शकसंवत् र मानदेवसंवत् हो भनी सिद्ध गर भन्ने नै आदेश हो र त्यो आदेश उहाँले पालना गरेको हो भन्ने कुरा यसबाट पनि छर्लङ्ग पार्छ ।
९. चाँगुनारायणको सुनको कवच मनि रहेको सुवर्णपत्रको अभिलेखमा संवत् ३१ माघशुक्ल त्रयोदशी तिष्यनक्षत्र आइतवार लेखिएको छ भन्ने कुरा त सर्बविदित भैसकेको कुरा हो । लिच्छविकालका अरु अभिलेखमा वारको उल्लेख थिएन तर यसमा वाकायदा वारको उल्लेख देखेर गणकहरु निक्कै हौसिएका हुन् । यसरी हौसिएर मात्र हुँदैन तर सिद्धान्त चाहिं के लिने ? गणितका आफ्नै पद्दति सूत्र हुन्छन् सूत्र के समाउने? त्यस्तो केही नभएको गणित केवल दुनियाँलाई आँखामा धूलो छ्याप्ने मात्रै हुनेछ । लिच्छविसंवत्को निर्णयमा यस सुवर्णपत्र अभिलेखको गणना भनेर पृष्ठ ११ देखि १९ सम्म दिइएका छन् । यो दुनियाँको आँखामा छारो हाल्ने हिसाव मात्र हो ।
किनकि शक ५२९ को वर्षमा अधिमास छैन उनकै पुस्तकको पृष्ठ २९४ पल्टाएर हेर्न सकिन्छ । भक्तपुर इनायचोको अभिलेख संवत् ३१ कै भनेर माघशुक्ल त्रयोदशीको तिथिगण गन्दा ३४३ दिन निकालेको छ ।
गणकलाई राम्रोसंग थाहा छ कि माघ शुक्ल त्रयोदशी उप्रान्त चैत्रशुक्ल प्रतिपदा आउन अरु ४७ दिन बाँकी हुन्छ । ३४३ र ४७ दिन जोड गर्दा ३९० दिन हुन आउँछ । संसारमा भएभरका शास्त्रहरु सबै एक ठाउँमा थुपारे तापनि ३९० दिनको वर्षको हिसाव गर्ने पद्धति छैन यो कुरा चुनौतिका साथ भन्न सकिन्छ कि लिच्छविकालमा चलेकोसंवत् शकसंवत् र मानदेव संवत हो भन्ने तमाम लेखक तथा इतिहासकार एक ढिक्का भएर खोज्नु पर्ने हो किन यति बिलम्व ? त्यस कारण त्यतिलामो हिसाव दुनियाँलाई बेवकूफ बनाउनको लागि सिवाय अरु होइन । गणकलाई वेदाड्ड ज्योतिष थाहा छ तर कहाँ निर कुन वर्षमा ३९० को हिसाव गर्ने रीति दिइएको छ ? त्यो बताउन उहाँले सकेको छैन चाहे बराहमिहिर,चाहे आर्यभट , चाहे भास्कराचार्य उहाँको दिमागमा आएका भएभरका विद्वानहरुको शास्त्र पल्टाएर हेरेपनि ३९० दिनको वर्षको गणना गर्ने रीत सूत्र पद्धति छैन होइन भने खोज्न यति ढिलाई किन ? त्यस कारण उहाँको यो गणना दुनियाँलाई उल्लू बनाउनका लागि मात्र हो र आदेश पालना मात्र हो भन्ने स्पष्ट हुन्छ ।
१०. केसर पुस्तकालयमा रहेको ६९९ संख्याको सौश्रुती संहिता सहोत्तरा नामक ग्रन्थको पुष्पिका वाक्यमा संवत् ३०१ वैशाखशुक्ल सप्तमी तिष्यनक्षत्र आइतवार लेखिएको छ भन्ने कुरा पनि सर्बविदित भैसकेको कुरा हो । लिच्छविकालका अरु अभिलेखमा वारको उल्लेख थिएन तर यसमा पनि वारको उल्लेख देखेर गणकहरु निक्कै हौसिएका हुन् । लिच्छवि संवत्को निर्णयमा यस पुष्पिका वाक्यमा भएको मितिको गणना भनेर पृष्ठ १९ देखि २७ सम्म दिइएका छन् । यो पनि दुनियाँको आँखामा छारो हाल्ने हिसाव मात्र हो । किनभने पञ्चाड्ड पात्रो मात्र पल्टाएर हेर्नजान्ने मान्छेले पनि सातौं नक्षत्र पुनर्वसु मात्र हुन्छ तिष्य हुँदैन भनेर थाहा हुन्छ र तिष्य नक्षत्र हिसावमा आउन ८ नै चाहिन्छ भन्नेकुरा हरेकलाई थाहा छ । निर्णयको पृष्ठ १२ मा सुवर्ण कवचको मध्यम गणना गर्दा ८ आएकोले तिष्य आयो भने झैं पृष्ठ २० मा पुष्पिका वाक्यको मध्यम गणनामा ७ मात्र ल्याउन सक्दा पनि तिष्य आयो गणना ट्वाक्कै मिल्यो भनेको छ यो सफेदझूठ हो ।
पुष्पिका वाक्यमा भएको संवत् ३०१ लाई मानदेवसंवत् मान्ने गणकले निर्णयको २७ पृष्ठमा अभिलेखको संवत् (मानदेवसंवत्) ३०१ विक्रमसंवत् ९३५शाके ८०० वैशाखशुक्ल सप्तमी आदित्यवार नक्षत्र तिष्य आयो गणना ट्वाक्क मिले भनेर दिइएको छ ।
यो गणनाको सैद्धान्तिक आधार यदि सुमतितन्त्र हो र लिच्छविकालमा चलेको संवत् शकसंवत् र मानदेवसंवत् हो भने ३०१ भनेको शक ७९९ को कार्तिकदेखि शक ८०० को आश्विनसम्म रहन्छ भन्न पाइने होइन । सुमतितन्त्रमा वि.सं ६३३ को उल्लेख छैन । सुमतितन्त्रको आधार लिनेले ३०१ मा ४९८ जोडेर शक ७९९ हुन्छ र शकसंवत् पनि कार्तिकादि र मानदेवसंवत् पनि कार्तिकादि भएको आधारमा ३०१ पनि कार्तिकदेखि आश्विनसम्म रहने भए जस्तै शक ७९९ पनि कार्तिकदेखि आश्विनसम्म रहने हुन्छ भन्न सक्नुपर्ने तर भन्न नसक्नु भनेको गणनाबाट आफै च्यूत हुनु हो । जब संवत् ३०१ वैशाख भनेको शक ८०० वैशाख भन्नुको मतलवबाट शक ७९९ को कार्तिकदेखि शक ८०० को आश्विनसम्म रहेको देखाउनु भनेको दिउँसै तारा देखाउनु हो । लिच्छविकालमा चलेको संवत्हरु कार्तिकादी हो तर शकसंवत् कार्तिकादि होइन भनेर आफै सिद्ध गर्नेले शकसंवत् पनि कार्तिकादि भनेर मान्छेलाई भ्रममा पार्नु भनेको जसरी हुन्छ ढाँटेर छलेर भ्रममा पारेर कुनै पनि तरिकाले लिच्छविकालमा चलेको संवत् शकसंवत् र मानदेवसंवत सिद्ध गर भनी तत्कालीन सरकारले उनलाई अह्राएको हो र यस वापत तपाईलाई तक्मा र पुरस्कारहरु दिलाउने छु भनेर नियोजित रुपमा तयार गराएकोे लिच्छविसंवत्को निर्णय हो भन्ने कुरा अहिले घाम जत्तिकै छ्याड्डै हुनआएको छ ।
निष्कर्ष
कुनै कागजको फूल सजाउन मात्र कामलाग्छ पूजाआजामा चल्दैन भने झैं सिद्धान्त नभएको पुस्तक हाम्रो व्यवहारमा व्यवहारिक हुनसक्दैन केवल सजाएर राख्नमा मात्र उपयोगी हुनसकिएला भन्ने तथ्य धेरैलाई महसूस हुनेछ । जुन बखत लिच्छविसंवत्को निर्णय भएको हो त्यहीबखत विद्यमान भइ उपलव्ध भएका स्रोत सामग्रीको आधार मै लिच्छविकालमा चलेका संवत् कार्तिकादि हो , त्यतिवेलाको संवत् दुई थरि थिएन र ती संवत् शकसंवत् पनि होइन र मानदेवसंवत् पनि होइन भनी सिद्धगर्न प्रयाप्त आधार बनेको थियो । तथापि जसरी भएपनि लिच्छविकालमा चलेको संवत् शकसंवत् र मानदेव संवत हो भनी सिद्ध गराइ हाल्ने अभिष्टमा लागेपछि तमाम अभिलेखीय स्रोतहरुको दुरुपयोग हुँदै आएको कुरा ह्वास्ह्वास्ति गन्हाइ सकेको छ ।
गतवर्ष २०७९ सालको असोज महिनाको २९ गतेको कान्तिपुर दैनिकको कोशेलीमा लिच्छविसंवत्को निर्णयका त्रुटिहरु भनेर लेख प्रकाशित गरेको थिएँ । त्यसैबाट पनि स्वतन्त्र पाठकहरु मध्ये धेरैले कुरा बुझी सकेका छन् । अहिले यो लेखमा त्यस निर्णयमा भएका थुप्रै दूर्वल पक्षहरु पनि औंल्याइ दिएका छौं । ती दूर्वल पक्षहरु माथि स्वतन्त्र पाठकहरुले अवश्य मनन गर्नु हुने नै छ भन्ने विश्वास लिएको छु । हुन त लिच्छविसंवत्को निर्णयमा गणितका अध्यायहरु थुप्रै छन् तर ती गणितका सिद्धान्तहरु आफैमा बाझिएका छन् भन्ने कुरा माथि नै चर्चा भइसकेको छ । अतः सिद्धान्त नभएको गणनाको कुनै महत्व हुँदैन । त्यो त केवल दुनियाँको आँखामा छारो हाल्ने गणित आडम्बर मात्र सिद्ध हुने हो । यो कुरा म श्यामसुन्दरले भन्नु भन्दा पनि स्वतन्त्र पाठकहरुले नै भन्नु पर्ने कुरा हो । त्यसरी सिद्धान्त नभएको पुस्तकको पछि लागेर पनि आज ३८ वर्ष टिकाइएको भनेकै उनको पुस्तकको दूर्वल पक्षमा अरुको ध्यानाकर्षण नभएको कारणले मात्र टिकेको हो । अब टिक्नेवाला छैन भन्ने कुरा प्रशस्त मात्रामा प्रमाणहरु छरपष्ट भइसकेका छन् ।
आज भन्दा ३८ वर्ष अघि पाइएका स्रोतहरु कै परिधिमा रहेर हेर्दा पनि लगन ज्यावहालको अभिलेखमा संवत् ५३५ श्रावण स्पष्ट छ । यही अभिलेखलाई साधन बनाउने हो भने पनि ५२६ उप्रान्त ५२७ र ५२८ को अभिलेख फेला नपरेको मात्र हो । संवत् ५२६ उप्रान्त ५३५ देखिनु भनेको यहाँ संवत्को क्रम टुटेको थिएन भन्ने स्पष्टकासाथ भन्न सकिने हो । संवत् ५२६ र ५३५ बीच देखापरेका २९,३०,३१,३२,३४का अभिलेखका संवत् छुट्टै क्रमबाट आएको होइन । यो संवत् ५३५ को अभिलेखमा अंशुवर्माको नाम नदेखिएको मतलव मेटिएकोले गर्दा नदेखिएको मात्र हो ।
पछि ५३६ को अभिलेख भेटिंदा अंशुवर्माको नाम स्पष्ट देखिएको हो । यदि संवत् ५२६ लाई शकसंवत् भनियो भने संवत् ५३६ लाई पनि शकसंवत् भन्नुपर्ने हुन्छ तर संवत् ५३६ को गोकर्ण बालुवागाउँको अभिलेखमा द्वितीयपौष उल्लेख भएकोले त्यो वर्ष अधिमास परेको बोध गराउँछ । शक ५३६ को वर्षमा अधिमास नपरेको हुनाले यो शकसंवत् कुनै हालतमा होइन भन्ने थप पुष्टि गरेको मात्र हो । यो भन्दा अघिल्ला कतिपय अभिलेख हरुमा अधिमासको उल्लेख आइसकेको हो र ती अभिलेखको वर्षमा अधिमास देखाएतापनि अधिमास तालिका भिडेको थिएन भन्ने स्पष्ट देखिएकै हो । तैपनि अभिलेखका संवत्लाई शकसंवत् मानेपछि ती संवत् साच्चै शकसंवत् ठहरिनु जरुरी हुन आउँछ तर ती वर्षमा अधिमास भिडिनुपर्ने अधिमास नभिडेको कारण शकसंवत् थिएन भन्ने पहिलेदेखि स्वतःसिद्ध भइरहेको थियो ।
खैर वि.सं २०४३ साल भन्दा पछि फेला परेका अभिलेख प्रमाणहरु माथि पनि चिन्ता नगर्ने हो र श्यामसुन्दरको विद्यावारिधिमा के छ ? त्यसको पनि चिन्ता नगर्ने हो भने पनि लिच्छवि संवत्को निर्णयमा सिद्धान्त बाझिएका र औंल्याइएका दूर्वल पक्षहरुमा मात्र ध्यानाकर्षण गरी मनन गरी हेरियो भने पनि अहिलेलाई यथेष्ट प्रमाण पुग्नेछ । बस् यसमा सबै पाठककहरुको स्वविवेकको नजर खुलोस् यही कामना छ ।