इ खबर नेट डेक्स
हामीले खेतवारीमा लगाएका बाली विरुवाका वृद्धिमा अवरोध पुग्ने र विकासमा असामान्य अवस्था सृजना हुनु नै बालीमा रोग लाग्नु हो ।
कुनै जिवाणुको बालीमा आक्रमण हुनु, बाली विरुवा हुर्कन,विकास हुन अनुकुल बातावरण नहुँदा विरुवाको खाद्या निर्माण र उपयोगमा रोकावट आउनु,खनिज तत्व र पानीको उपयोगमा प्रतिकूलता सृजना हुन नै बालीमा रोग लाग्नु हो ।
बाली रोग किन लाग्छ भन्ने पनि हाम्रो जिज्ञासा हुन सक्दछ । सामान्यतयाः जैविक र अजैविक दुई कारणहरुले बाली रोग लाग्छ । जैविक जीवाणुले हाम्रा बाली विरुवामा आक्रमण गरी ढुसी,ब्याक्टेरिया,विभिन्न भाइरस,जुका,पराश्रयी विरुवा जस्ता यसमा जैविक कारणमा पर्दछन् । अजैविक कारणमा भने प्रतिकूल वातावरण जस्तै सुख्खा खडेरी पर्नु,भारी वर्षा हुनु,खाद्य तत्वको अपर्याप्तता हुनु, माटोको चिस्यान कम या बढी हुनु, अम्लियपन कम वा वढी हुनु ,तापक्रम कम या बढी हुनुु जस्ता कुराहरु पर्दछन् । यिनै कारणले हाम्रा बाली विरुवामा रोगहरु लाग्छन् ।कुनैपनि रोग लाग्नु भन्दा लाग्न नदिनु वुद्धिमानी हो । तर हाम्रो चलन के छ भने रोगले कडा आक्रमण गरेपछि मात्र हामी ध्यान पुर्याउँछौ । यसले हामी किसानलाई आर्थिक हानी नोक्सानी पुर्याउँछ । तसर्थ,रोगको पहिचान र सावधानी उत्तिक्कै हुनुपर्दछ ।नत्र एकै क्षणमा पनि सबै बाली विरुवा सखाप हुनसक्दछ ।
अब चर्चा गरौं हाम्रा बोट विरुवा र बालीमा कसरी बाली रोगको असर देखिन्छ भनेर । सामान्यतयाः हामीले ध्यान दिनुपर्ने कुरा के हो भने सामान्य विरुवा भन्दा रोग लागेको विरुवा अलिक भिन्न देखिन्छ । उदाहरणको लागि विरुवा पातलो हुनु,पुड्को हुनु, नवढ्नु ,अन्नको दाना नलाग्नु र लागेपनि मसिनो र फोस्रो दाना लाग्नु ,विस्तारै बाली विरुवा ओइलाउन थाल्नु जस्ता लक्षणहरु बाली रोगमा देखिन्छन् । यस्तो रोग हाम्रा खेतवारीका फसलहरुमा लाग्दा उत्पादन कम हुने,लागत बढी लाग्ने,हुन्छ । यसले बोटविरुवाहरुलाई कमजोर बनाई मार्नसक्छ । उत्पादनको गुणस्तर पनि कमजोर देखिन्छ । त्यसैले बाली रोगबाट हाम्रा बोटविरुवालाई जोगाउन हामी किसान समयमै सजग रही बाली रोगको निदान तर्फ लाग्नुपर्दछ ।
कुनैपनि बाली रोगको राम्ररी पहिचान गर्नु जरुरी छ । विरुवाको रोगको लक्षण वाहिर मात्र नभएर भित्री भागमा पनि हुनसक्छ । यसको लागि हामी स्थलगत रुपमै हाम्रा खेतवारीमा जाने,रोगका लक्षण कसरी फैलिएका छन् विचार गर्नुपर्दछ । लक्षणहरु विस्तारै फैलिएका छन् कि छिटोछिटो फैलिइरहेको छ त्यो तर्फ पनि कृषकको ध्यान जानु आवश्यक छ । कुनै जिवाणु त्यहाँ छ छैन पनि निहाल्नु पर्दछ ।
त्यसपछि नमूना संकलन गरी रोगको परिक्षणमा जानु पर्दछ । यसको लागि भर्खरै रोग लागेका बालीविरुवा लिनु उपयुक्त हुन्छ । यसलाई जतिसक्दो चाँडो प्रयोगशाला सुरक्षित तवरले लैजान सके प्रभावकारी परिक्षण सम्भव हुन्छ । विशेषज्ञको सहयोगमा उनीहरुले रोग पहिचान गरिसकेपछि उनीहरुकै सिफारिसको आधारमा सहि विषादी तर मात्रा मिलाएर सहि तौर तरिका अपनाएर हाम्रा बाली बिरुवामा लागेका बाली रोगको ब्यवस्थापन गर्न लाग्नु पर्दछ । साथै विषादी औषधीहरुको प्रयोग गर्दा माक्स,पञ्जा,एप्रोन,चष्मा जस्ता कुराहरु शरिरमा लगाउनु जरुरी हुन्छ ।
क्रमश :