काठमाडौ ।हाम्रो खाद्य सुरक्षा भनेकै धान हो नै हो किनकि करिब ६७ प्रतिशत खाद्य आपूर्ति धानबाटै हुन्छ । यसैगरी खानपानमा करिब एकतिहाइ क्यालोरीको स्रोत पनि धान हो । आज ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ नारासहित सरकारले धान दिवस मनाइरहेको छ । खडेरीको कारण झण्डै १० प्रतिशत मात्र धान खेती भएको सरोकारवालाहरुले बताएका छन् । धानका चामलबाट धेरै थरीका परिकार पनि बनाइन्छ । यस्ता परिकारमा भात, चिउरा, भुजा, खिर, रोटी, सेलरोटी, चाम्रे, लट्टे, पुवा, पुलाउ, कसार, केक, जाउलो, झिलिङ्गा–झिनिया, खिचडी, खट्टे, सिरौँला, यमरी, चताँमरी, ग्वार्चामरी, ढिक्री, भक्का, भातीजाँड, छ्याङ, माड आदि पर्छन् । यस्तो मात्र नभएर धार्मिक प्रयोजनका विभिन्न सन्दर्भमा समेत आवश्यक छ धान ।
सबैभन्दा अग्लो स्थानमा धान हुने देश नेपाल नै हो । नेपालमा धानखेती समुद्र सहतदेखि ६० मिटर उचाइमा रहेको स्थान झापाको केचनाकलनदेखि ३०५० मिटरसम्मको उचाइमा रहेको स्थान जुम्लाको छुमचौर जिउलासम्म हुने गर्छ ।
कृषि क्षेत्रको गार्हस्थ्य उत्पादनमा धानको १३.६ प्रतिशत योगदान गर्ने बताइन्छ । तर धानखेतीको याममा खडेरी पर्नाले किसानहरु मर्कामा परिरहेका छन् । उसो त प्रविधि र पूर्वाधारमा लगानी पनि हाम्रोमा कम छ । त्यसैले प्रतिहेक्टर ५ टनसम्म उत्पादन हुनसक्नेमा त्यस्तो हुन सकेको छैन् ।नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष १३७.५ केजी चामल आवश्यक पर्छ । हामीकहाँ करिब ५७ लाख टन धानको उत्पादन हुन्छ भने ६७ लाख मेट्रिक टन आवश्यक पर्छ । करिब १० लाख मेट्रिक टन धान अपुग छ । त्यो अपुग धान अझैपनि भारत लगायतका देशहरुबाट आयात हुन्छ ।
जलबायुमा आएको परिवर्तन,सुख्खा लाग्ने समस्या,सिंचाइको असुविधा,उन्नत विउविजनको अपर्याप्तता,माटोको गुणस्तर मापन कमजोर,समयमै मल उपलब्ध हुन नसक्ने अबस्था,उत्पादित धानको उचित भण्डारनको अभाव लगायतका यावत समस्या किसानले बर्षेनी बेहोर्नुपरेको छ । उसो त नेपाली किसानले उत्पादित अन्नको मूल्य पनि कम पाउँने गरेका छन् । यी सबै समस्याले घेरिएर किसान जहिले मर्कामा पर्ने गर्छ ।
तसर्थ,नारालाई सार्थकता दिन विभिन्न नेताहरु,मन्त्री माननियहरु धान दिवसको दिन खेतमा गएर सेल्फी खिच्ने र सस्तो प्रचारवाजी गर्ने कुराले किसानको हित हुँदैन् । राम्रा नीति र तिनको ब्यवहारिक कार्यान्वयन मुख्य कुरा हो ।