काठमाडौं ।–२१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८१ चितवनमा मनाइने भएको छ । २१ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०८१ मूल समारोह समितिले बिहीबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि नाराका साथ आगामी असार १५ गते चितवनको बछौलीमा प्रधानमन्त्रीको उपस्थीतिमा धान दिवस मनाइने जानकारी दिएको हो ।
राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउन धानको मुख्य भूमिका रहेको छ । यो धान दिवस २०६१ सालदेखि मनाउँदै आएको छ । प्रत्येक असार १५ लाई धान दिवस तथा रोपाइँ महोत्सवका रूपमा मनाउन लागिएको यो दिवसका लागि देशको आवश्यकता र प्राथमिकताका आधारमा विभिन्न नारा तय गर्दै आएको छ ।
असार १५ सम्म लाठे र बाउसेलाई आली जोर्ने र मेलो बनाउन चटारो छ भने कोरी बाटी चिटिक्क परेर मेलामा झरेका रोपारहरू कोही ब्याडमा बिउ काट्ने, कोही पखाल्ने र कोही मेलो पैट्याउने तरखरमा जुटेका हुन्छन् ।