
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुदन गुरुङ गृहमन्त्रीमा पुन: नियुक्त भएका छन् । त्यस्तै स्वतन्त्र सांसद महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री नियुक्त भएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा गुरुङलाई गृहमन्त्रीमा र पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका छन् ।
नियुक्तिपछि गुरुङ र पुनले पद तथा गोपनियताको शपथ समेत लिएका छन् । शितल निवासमा आयोजित कार्यक्रममा गुरुङ र पुनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ गराएका हुन् ।
सो अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
आफ्नो सम्पत्ति विवाद बारे चौतर्फी प्रश्न उठेपछि गुरुङले गत बैशाख ९ गते राजीनामा दिएका थिए । गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानविन गर्न सरकारले बनाएको समितिले दोषी नदेखाएपछि उनको गृह मन्त्रालयमा कमब्याक भएको हो ।





