
भक्तपूर। नेकपा एमालेको सचिवालयको आठौं बैठक सुरू भएको छ।
आठौं सचिवालयको चौथो बैठक अध्यक्ष केपी शर्मा ओलीनिवास गुण्डुमा बसिरहेको हो।नेताहरूका अनुसार आज बैठकमा चार जना सचिवहरूले धारणा राख्न बाँकी छ।
सचिवहरू शेरधन राई, भानुभक्त ढकाल, यामलाल कँडेल, खगराज अधिकारीले धारणा राख्न बाँकी रहेको नेताहरूले बताएका छन्।
६ महिनाअघि ११ औं महाधिवेशनबाट शक्तिशाली बनेका अध्यक्ष केपी शर्मा ओली यो सचिवालय बैठकबाट संकटमा परेका छन्। १९ सदस्यीय सचिवालयमा उनी स्पष्ट अल्पमतमा छन्। १० जना सदस्यहरूले अहिलेसम्म पुनर्गठनको पक्षमा धारणा राखिसकेका छन्।
निर्वाचनमा गम्भीर धक्का व्यहोरेको भन्दै अधिकांश सचिवालय सदस्यहरूले ओलीलाई मार्ग प्रशस्त गर्न भनेका छन्।
योगेश भट्टराईलगायत केही नेताहरूले राजीनामाकै आवाज उठाएका छन्। विगतमा ओली पक्षको भनेर चिनिएका उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरूङ, महासचिव शंकर पोखरेललगायत नेताहरूले पार्टी पुनर्गठनमा जोड दिएका छन्।
नेताहरूका अनुसार अहिलेसम्म उपाध्यक्ष रामबहादुर थापा ‘बादल‘ र सचिव महेश बस्नेतले खुलेर ओलीको प्रतिरक्षा गरेका छन्।आज सकिने सचिवालय बैठकले अध्यक्षले प्रस्ताव गरेको कार्यविभाजनलाई संशोधनसहित अन्तिम रूप दिने बताइएको छ।
