
इजरायलको विद्यमान राजनीतिक गतिरोध अन्त्य गर्न त्यहाँका विपक्षी दलहरू (चेन्ज ब्लक)ले प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन प्रणाली लागु गर्ने कानुन अघि बढाउने विषयमा छलफल थालेका छन् । इजरायली सञ्चारमाध्यम ‘च्यानल १२’ का अनुसार, विपक्षी दलहरूले यस प्रस्तावलाई ‘नेतन्याहू मोडल–२०२१’ को नाम दिएका छन् ।
सन् २०२१ मार्चमा भएको अनिर्णीत निर्वाचनपछि गठबन्धन सरकार गठनको प्रयास असफल हुँदा तत्कालीन प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पनि यस्तै प्रस्ताव अघि सारेका थिए ।
प्रस्तावअनुसार मतदाताले संसद्को निर्वाचनभन्दा अलग रूपमा प्रधानमन्त्री चयन गर्न पाउनेछन् । तर, प्रत्यक्ष निर्वाचन भए विपक्षी गठबन्धनबाट उमेदवार कसलाई बनाउने भन्ने टुंगो लागेको छैन । हाल नेतृत्वका लागि यशारका गादी आइसेनकोट, बीयाचादका नाफ्ताली बेनेट र यिसरेल बेतेनुका अविग्दोर लिबरम्यानले दाबी गरेका छन् ।
मंगलबारको निर्वाचनमा नेतन्याहूविरोधी दलहरूले १२० सदस्यीय नेसेटमा ६७ सिट जितेका छन् । तीमध्ये यहुदी नेतृत्वको ‘चेन्ज ब्लक’ले ४८ र दुई अरब दलले १९ सिट पाएका छन् । नेतन्याहूको निवर्तमान गठबन्धनले ५३ सिट जितेको छ । यद्यपि, कुनै पनि पक्षसँग सरकार गठनका लागि स्पष्ट बहुमत छैन ।
