
काठमाडौँ । चिकित्सा शिक्षा सुधारको माग राख्दै २५औँ पटक आमरण अनशनमा रहेका प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था हाल स्थिर रहेको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई थप उपचारका लागि सोमबार इलामबाट हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।
काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत डा. केसीको रक्तचाप कम हुनुका साथै कमजोरी देखिएको अस्पतालले जनाएको छ ।
त्रिवि शिक्षण अस्पतालका सहप्रवक्ता कालीप्रसाद रोस्याराका अनुसार डा. केसीको स्वास्थ्य अवस्था हाल स्थिर छ । “डा. केसीको स्वास्थ्य अहिले स्थिर छ । प्रेसर लो र कमजोरी पनि देखिएको छ,” उनले भने ।
अनशनका क्रममा उनको रगतमा चिनीको मात्रा निकै कम हुनुका साथै पिसाबमा एसिटोनसमेत देखिएको थियो । रक्तचाप पनि घट्दै गएपछि चिकित्सकहरूले उनलाई सुविधासम्पन्न अस्पतालमा स्थानान्तरण गर्न सुझाव दिएका थिए ।
चिकित्सकको सिफारिसअनुसार, थप उपचार र निरन्तर निगरानीका लागि उनलाई काठमाडौं ल्याइएको हो । हाल उनलाई त्रिवि शिक्षण अस्पतालमा चिकित्सकको निगरानीमा राखेर उपचार भइरहेको छ ।
