
संस्मरण
स्मृतिमा स्याफ्रुबेशी
उद्धव सापकोटा
ओठमाथि भर्खरै कालो रेखी बस्दै थियो । केटो बिस्तारै लक्का जवान हुँदै थियो । यो उमेरमा मनमा धेरै कुराहरु खेल्दै थिए । बिहेवारीको उमेर पनि । एस.एल.सी पास भएपछि छोराले के के न गर्यो भनेर बाआमाको नाक ठाडो भएको थियो । अनि मनमा भने अब सरकारी जागीर गर्नुपर्छ भन्ने हुटहुटी थियो । तर त्यसबखत पनि सरकारी जागीर गर्न कि त लोकसेवा आयोगको कडा परीक्षा पास गर्नु पथ्र्यो कि त भने सुरक्षा फौज सेना तथा प्रहरीमा नै भर्ती हुनुपथ्र्यो । प्रहरीको जागीर गर्न भनेपछि केटोलाई कहिल्यै इच्छा जाहेर भएन । बाबुढालाई पनि छोराले सेनामा नै जागीर गरोस भन्ने भूत के कारणले चढेको थियो मलाई थाहा भएन । प्राईभेट जागीरको लागि अहिलेको जस्तो व्यवसायिक क्षेत्रहरुले व्यापकता पाएका थिएनन् । अनि सरकारी जागीर खानको लागि रसुुवा जिल्लाको धुन्चेमा गएर लोकसेवा आयोगले लिएको परिक्षा पनि नदिएको कहाँ हो र केटोले ? तर भाग्यमा लेखेको रहेनछ । म यो गर्छु र त्यो गर्छु , यो गर्दिन भनेर आफूले सोचेको कुरा कहाँ पुरा हुन्छ र यो संसारमा ? आफू ताक्छु मुढो बञ्चरो ताक्छ घुँडो भने जस्तै हुन्छ जिन्दगीमा ।
२०४६ साल श्रावण आठ गते हाम्रालागि संसारै अँध्यारो भयो । हामीलाई जन्मदिने आमाको साठ्ठी वर्षको अल्पायुमै ईहलिला समाप्त भएको थियो । श्रावणको झरी महिना आमाको काजक्रिया गर्दैमा दिनहरु बिते । भदौ लाग्यो, मकै पकाउने घाम लाग्छ । अव मकै पाक्यो । त्यसपछि खेतमा धान पहेलपुर भएर पाक्यो । अव भित्र्याउने चटारो छ । त्यसपछिको काम हिउँदे खेतीपाती गर्ने, गहुँ छर्ने, तोरी छर्ने काम नै छ । हिउँदे काम सकिएपछि केहि महिना फुर्सदिलो हुन्छ । वस्तुभाउको काम गरेर बसिबिँयालो नै हुन्छ गाउँघर तिर ।
पुस फासफुस । बलियाबाङ्गा बाघलाई बुढाबुढी माघलाई भन्ने उखान पनि छ । सबैभन्दा जाडोमहिना पनि माघ नै हो । फाल्गुण लाग्यो सूर्य केहि उत्तरायण भए । जाडो केहि घटेको महसुस शरीरले गरेकोे छ । मेरो मनमा एकप्रकारको हलचल हुन लाग्यो । मनमनै बिचार गरेँ हैन सरकारी जागीर त खानपर्ने कसो गर्ने होला जस्तो भयो । २०४५ सालमा तत्कालीन शाही नैपाली सेनामा भर्ती हुन भनी घरदेखि टुँडिखेलसम्म कयौं दिन बाटो नापेकै हो । त्यो पटक सफल हुन नसकेकोमा मनमा एकप्रकारको हिनताबोधले थिचेको थियो । फेरि एक पटक सेनामा भिड्ने जोस मनमा उर्लिएर आयो ।
२०४६ साल राजनैतिक परिवर्तनको साल थियो । निर्दलीय पंचायती व्यवस्था फालिएको वर्ष । त्यहि साल फाल्गुण २ गते पुन तत्कालिन शाही नेपाली सेनामा भर्ती खुल्यो । भर्खरै आमाको आसौच बारेर सेता लुगा लगाएको थिएँ । त्यतिबेला मेरो शरीरलाई प्रयाप्त मात्रामा पौष्टिक तत्व पुगेको थिएन । गाला भित्र पसेको ख्याउटे थिएँ । फेरि गाउँघरमा बसेर खेतीपातीमा चुर्लुम्म डुबेको मान्छे परेँ ।
म दोस्रो पटकपनि भिड्न जाने भए । बिहानको खाना खाएर घरबाट निस्कन्थे । रुद्रामती खोलाको किनारै किनार साँगाको बाटो हुँदै टुँडिखेल जान्थे र हरेक परिक्षामा सामेल हुन्थे । बिहान गयो बेलुका फर्कियो गर्दै तीन हप्ता बित्यो । त्यसको साक्षी बाटोको दायाँबाँया बनमा कराउने चराहरु थिए । त्यस पछाडि बल्ल जागीरको पक्का भयो । हामीलाई तालिमको लागि रसुवास्थित श्री कालीबक्स गण माङ्गचेतमा लाने कुरा थाहा भयो । हामीहरुलाई केहि लुगा, चिया खानलाई गिलास र दालभात खानलाई एउटा थाल लिएर २३ गते छाउनी व्यारेकमा हाजीर हुने आदेश आयो । आदेश बमोजिम सबै सामानहरु झोलामा राखेर भोलीपल्ट नै छाउनी व्यारेकमा जम्मा भईयो । कोही कोही साथीहरुले आफुलाई आवश्यक पर्ने भन्दै ट्याङ्गका पनि बोकेर आएका रहेछन् । अहिले त्यो कुरा सम्झँदा पनि रमाईलो लाग्छ ।
त्यो बेलुका हामीहरु सबै छाउनी व्यारेकमा भेला भयौं । यो हाम्रो सरकारी दालभात खाएको पहिलो अनुभव थियो । भोलीपल्ट बिहानै एककप चियाको चुस्कीसँगै व्यारेकबाट बाहिर मुभ हुने आदेश थियो । सेनामा समयको एकदम महत्व हुन्छ र समयको पालना पनि हुन्छ । राजनैतिक दल जस्तो यो समयमा कार्यक्रम हुन्छ भनेर २, ३ घण्टा कुराएर गर्न मिल्दैन । छाउनी गेट हुँदै समयमा नै गाडीकोे मुभ भयो । गाडीको लस्कर बालाजुतर्फ लाग्यो । मुड्खुको बाटो हुँदै त्रिशुली बजारमा पुगियो । यो बाटो नै काठमाण्डौबाट त्रिशुली जाने छोटो बाटो थियो । त्यस पछाडि साझा बसमा यो बाटो धेरै पटक ओहोरदोहोर गरेका छौं हामीहरुले ।
गाडी त के भन्नु खुल्ला ट्रक । यसैमा चढेर हामीहरु रसुवातर्फ हुईकुदै छौं । हामीलाई त्रिशुली बजारमा लगेर खानाको प्रवन्ध मिलाएको रहेछ त्यो याद छ मलाई । त्यतिबेला पनि त्रिशुली बजार ठुलो नै थियो । आर्मीका हरिया गाडीहरु अव त्रिशुली बजार कटेर बेत्रावतीतर्फ रवाना भए । त्रिशुलीदेखि बेत्रावतीबिचको त्यो खेतीयोग्य समथल फाँटलाई चिर्दै अगाडि पुल तरेको थियो । अव हामी तिब्बत र नेपालको बिचमा भएको सन्धि जुन (बेत्रावती सन्धि) ले प्रख्यात छ । त्यो स्थान कटेर कालीकास्थान तर्फ घुम्तीबाटो हुँदै उकालो लाग्दैछौं । त्यसपछि हामीहरु राम्चे सैनिक पोष्टमा पुग्छौं । हाम्रो आजको गन्तव्य रसुवाको यामरुङ्ग भन्ने स्थानमा छ । धुञ्चे बजार कटेर केही अगाडि खोलाको किनारमा रहेछ यो भिरालो स्थानमा ।
हामीहरुलाई राख्न त्रिपालहरुका ठुलाठुला घरहरु बनाईएका रहेछन् । ठुलाठुला खड्कौलामा उसिनाको चामल पकाएको रहेछ । २५१ जना सैन्य खाना खान लाईनमा बसे । भोकको झोकमा त्यहि भात पनि अमृत समान भयो । भोक मीठो कि भोजन महाराज भने जस्तो भयो । साथीहरु सबै थकाईले गलित थिए । त्यहाँ हामीहरुलाई सेनामा मिल्ने ल्कोदिङ्गका सामानहरु मण्डी, झुल, लगाउने डाङ्गग्री, बुट क्यानबस वितरण गरियो । यी सबै सामानहरु पाउदा हामीहरु दशैंमा केटाकेटी जस्तै खुशी भएका थियौं ।
सेना त हो सबैले एउटै लुगा लगाउदा एउटै बाउका छोरा जस्ता देखिए । सेनाको ट्रकमा गएको र थकाई लागेको हुँनाले सबै भुसुक्क निदाए । म यो ठाउँमा दोस्रो पटक पुग्दै थिए । पहाडी इलाका उत्तरपूर्व लम्पसार परेर बसेको धुन्चे बजार अनि त्यसको बिचबाट चिरेर गएको बाटो सोमदाङसम्म पुगेको थियो । हामी भोलीपल्ट बिहान नित्यकर्म गरी आ-आफ्नो सामान प्याक गर्न थाल्छौं । गाडीमा राख्छौँ र मुभ हुन तयार हुन्छौं । भीरको बाटो गाडीहरु अगाडि बढ्न थाल्छन् । मुटु नै सिरिङ्ग हुने भिरको बाटो छ । तलतल फेदीमा त्रिशुली नदी आफ्नै तालमा गड्गडाहट गर्दै बेत्रावतीतर्फ ओर्लिएको देखिन्छ । यो हामीहरु सवार बाटो पनि सेनाले नै निर्माण गरेको रहेछ । हामीहरु धुञ्चेबाट पारीपट्टी भार्खुमा पुगेका छौ त्यहाँबाट ओरालो बाटो घुम्ती नै घुम्ती शुरु हुन्छ । सबैभन्दा तलको घुम्तीमा पुगेपछि अलिअलि तेर्सो बाटो आउँछ । अझै केहिपर पुगेपछि भोटेकोशी नदीमाथिको पक्की पुल तरेर नयाँ स्याफ्रुबेँशी पुग्छौं ।
हामी स्याफ्रुबेँशीबाट नौ घुम्तीमाथि उक्लेपछि कोमिङ्ग क्याम्पमा पुग्छौ । त्यो पूर्वतर्फ फर्किएको भिरालो जमीन छ । गाडीले त्यहाँ लगेर छोडिदिन्छ । बिहानको खाना त्यहि खान्छौ । हाम्रो अस्थाई क्याम्प त्यहि रहेछ । हामीहरु त्यहि क्याम्पमा बस्ने र त्रिशुुली सोमदाङ्गको बाटोको मर्मत गर्ने कार्य रहेछ । हामीहरुको दैनिकी यसरी नै बित्दै गैरहेको थियो । शनिबार हाम्रो आउटिङ हुन्थ्यो । आउटिङ छुट्टी मनाउनको लागि त्यहिँ स्याफ्रुबेशीको ओल्लो पल्लो बजार, ठुलो भार्खु, सानो भार्खु, धुञ्चे बजार थियो । त्यो बखत गाडी त्यति चल्दैनथे । स्याफ्रुबेशीमा भर्खरै नयाँनयाँ घरहरु बन्दै थिए । पसल व्यवसायहरु गर्नेहरु पनि भर्खरै बढ्दै थिए ।
हामीहरु लगभग एकवर्ष भन्दाबढी समयसम्म बिभिन्न गु्रपमा छुट्टिएर स्याफ्रुबेशीँ भन्दामाथिका बिभिन्न स्थानहरुमा बस्यौ । अब तालिम अन्तिम गर्ने समय आयो । माथिल्लो भेगमा रहेका सबै सैन्यहरुलाई एकत्रित गरी कोमिङ्ग क्याम्पमा राख्ने आदेश भयो । त्यसपछि अन्तिम पासआउट तालिम दिने आदेश आयो । स्याफ्रुबेशँीमा भएको त्यो सानोचौरलाई डोजरले सम्याएर २५१ जनालाई परेड खेल्ने बनाईएको थियो । हाम्रो तालिमको समाप्ति पनि त्यहि स्याफ्रुबेशीँको ग्राउण्डमा भएको थियो । अन्तिम दलेल कवाज खेलेर पासआउट भएको दिन हाम्रो भूईमा खुट्टा थिएन् । अहिले पनि त्यो मेरो मनमष्तिस्कबाट हट्न सकेको छैन ।
२०४७ साल चैत्र ७ गते हाम्रो पासआउटको दिन थियो । त्यहाँबाट बिदाभएपछि म त्यो ठाउँमा पुगेको थिएन् । दैवको लिला हो वा के हो ? बिहानीको समय । आकाश उज्यालो थियो । बादलको क्लेस कतै देखिदैन् थियो । २०८३ साल भदौ १० गते बुधवारको दिन थियो । स्कुल पढ्ने केटाकेटीहरु भर्खरै स्कुल पुगेका मात्र थिए । व्यापारीहरु आफ्नो पूजाआजा गरेर व्यापारको शुभारम्भ गर्र्दै थिए । यात्रामा निस्केका यात्रुहरु पेटपूजा गरेर गन्तव्यतर्फ लाग्दै थिए । मानिसहरुको आ-आफ्नै तालमा दिनचर्या शुरु हुदै थिए ।
यो अवस्था आउला भन्ने कल्पना कसैले गरेको थिएन । सपना जस्तै भयो । एकपल अगाडिको त्यो वातावरण सुन्यतामा परिणत भयो । चीनतर्फको हिमालमा हिमपहिरो गएर लेहेन्दे खोलामा आएको भिषण बाढीको गड्गडाहटले यो अवस्था सृजना भएको थियो । एक्कासी पहाड जसरी उढेर आएको त्यो लेदो सहितको सुनामीले सारासंसारलाई तहसनहस बनायो । त्यो भोटेकोशी नदीमा अचानक भिषण बाढी आउँदा घट्टेखोला, टिमुरे, स्याफ्रुबेशीँ, बेत्रावती, त्रिशुली लगायत वरपरका कयौं घरबार बगायर समुन्द्रमा पु(यायो । कयौं जनधनको क्षति भयो । कयौं गाडी, सामान, घर देखि मानिसका लास गायब बनायो ।
यो बाढी आएको दिन त्यहि स्याफ्रुबेँशी, बेत्रावती, त्रिशुली बजारको सम्झना मनभरी घुमिरह्यो । हरे दैव ! तिमी कति निष्ठुरी रहेछौं झैं लाग्यो । तिमीले यो के गरेको ? तिमीले साथमा लगेकाले त मुक्ति पाउलान तर यहाँ बाँच्नेहरुले कसरी मन बुझाउने ? कसरी आफूलाई सम्हाल्ने ? टेलिभिजन र मोबाईलको पर्दामा देखिएका हृदयबिदारक ती दृश्यहरुले मनमा त्यहि स्याफ्रुबेँशीको स्मृतिलाई ताजा बनायो । अहिले त्यो दिनलाई सम्झदा पनि छाती ढक्क फूलेर आँउछ । यो घटनामा दिबङ्गत हुनुहुने सबै प्रति भावपूर्ण श्रद्धाञ्जली छ ।

