
कविता
खरानीको आकृति
दीपक चौलागाईँ
बर्बरताको
निरङ्कुश पर्दा च्यातेर
बस्तीमा झरेको
ऊ—
एक झुल्को घाम,
मृत्युको जङ्गलजस्तो
भयको कालकोठरीमा
सतिसालझैँ उभिएको
एक स्वाभिमान,
बलिदानको
बेदीबाट उठेको
एक अग्लो मान्छे,
संघर्षको
मसीले लेखेको
एक जिउँदो इतिहास—
हामी
पछ्याउँदै गयौँ
समयको पदचापलाई ।
थाहा छैन,
हामी झुक्कियौँ कि
ऊ झुक्यो रु
हामी अन्धा भयौँ कि
ऊ चुक्यो रु
इतिहासको
गौरवगाथा भजाएर
उसले
सत्ताको दौरा फेर्दै गयो,
दाउपेचको खालमा
विचारलाई दाउमा हाल्दै गयो ।
शक्तिको सिँढी
चढ्दै—चढ्दै,
हामीबाट
क्रमशः ओझेल पर्दै गयो ।
हाम्रै
दृष्टिभ्रम थियो कि,
उसको नियतमै पहिरो लाग्यो रु
हेर्दाहेर्दै,
उसको सङ्लो छवि
शङ्काको भुमरीमा पुरिँदै गयो ।
वैभवको धुरी अग्लिँदै जाँदा
अहमको खहरे पनि
उर्लिँदै गयो,
र मर्यादाको तटबन्ध
भत्काउँदै गयो ।
ऊ आफैँलाई
सर्वसत्ता ठान्न थाल्यो,
सगरमाथा मान्न थाल्यो ।
त्यही बेलादेखि
उसको अस्तित्व
भूकम्पले चर्केको घरझैँ
जगैदेखि भत्किन थाल्यो ।
र एकदिन—
आस्थाको डिलबाट
डाँडाको सिमलझैँ
गर्ल्यामगुर्लुम ढल्यो ।
अग्लिनु भनेको
शिखर चुम्नु मात्र होइन,
भुइँसँग
जीवित सम्बन्ध हुनु हो ।
आफू उभिएको माटोसँग
अन्तरघुलित हुनु हो—
बाँसझैँ
सधैँ विनम्र हुन सक्नु हो ।
फल लागेको हाँगो
धर्तीतिर झुकेझैँ
जराप्रति
विनत हुन सक्नु हो ।
अहङ्कारको तापले
अन्ततः
उसको स्वत्व गल्दै गयो,
व्यक्तित्व पग्लिँदै गयो—
गुरुत्वको भार
थाम्न नसकेर
भिरालो पहाडबाट खसेको
भीमकाय चट्टानझैँ
धरासायी भयो ।
अचम्म !
ऊ ढल्यो,
तर
उसको दम्भ ढलेन ।
सुतली
जलेर राख भयो,
तर
आकृति
अझै बाँकी रह्यो ।
