
मुक्तक
ज्ञानु दाहाल
१ .
कोर्नुछ अब बाटो जिन्दगीको
फेर्नुछ साँच्चै पाटो जिन्दगीको
अरुको मुख नताकेर बुझ्नु
देशकै माया साटो जिन्दगीको।
२ .
घरी यता घरी उता गर्ने यो तानातान किन हो
एउटा एकथोक अर्को अर्कै जानाजान किन हो
बिना उपलब्धिको खेलले भयो जीवन बर्बाद
न निचोड कुनै अर्थ बिनाको हानाहान किन हो?
३.
सबैले सम्म देख्दा म नि सम्म भै दिन पाए
डाडा छेक्ने हुस्सु कुहिरो डम्म भै दिन पाए
अरुलाई पच्ने चिज नपच्ने मैलाई किन
सत् असत् केही नदेखिने धम्म भै दिन पाए।
४.
कस्तो छौ भनी चिन्ने मौका दिएनौ
के मनपर्थ्यो किन्ने मौका दिएनौ
खै किन यस्तो निर्णय पुग्यौ लिन
हात समाइ हिन्ने मौका दिएनौ।
५.
संस्कार संस्कृति बचाउने कल्ले
हक र कर्तव्य खटाउने कल्ले
हराइसक्यो बुझ नैतिक शिक्षा
रीति जोगाऔँ है बताउने कल्ले?








