
चर्चामा पुस्तक
साझा रोग कुरा
प्रा.डा.सुमन राज ताम्राकारको यो कृतिले मानिसमा हुने विभिन्न स्वास्थ्यसम्बन्धी समस्याहरुको व्यवहारोपयोगी जानकारी दिन्छ । कृतिमा पचास भन्दा बेशी स्वास्थ्यका समस्याहरुको विषयमा रोग,कारण,असर,प्रभाव र जोगिन के गर्दा सहयोग पुग्छ उपचार के कसरी गर्न सकिन्छ लगायतका विषयमा कृतिले जानकारी दिन्छ ।
सर्वसाधारणलाई स्वास्थ्यको बारेमा सजग र सचेत बनाउँन कृतिले महत्वपूर्ण योगदान दिएको छ । कृतिले शल्यचिकित्सा,हाडजोर्नी,स्त्री तथा प्रसूति रोग तथा मानसिक रोगको बारेमा महत्वपूर्ण जानकारी दिएको छ ।
सर्ने तथा नसर्ने रोग,यौन रोग लगयातका विषयमा समेत महत्वपूर्ण तथ्य र जानकारी गराउने कृति आम मानिसको निम्ति अत्यन्त संग्रहनीय छ ।
साझा रोग कुरालाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो ।यस कृतिको मूल्य रु.४५०। रहेको छ ।
मिर्मिरेमा झरेको तारा
कवि स्व.विमल गुरुङको बारेमा सम्पूर्ण जानकारी दिने उनकै जीवनी हो कृति । कवि चन्द्र गुरुङले लेखेको यो कृतिले विमलको नेपाली साहित्यमा योगदानको मात्र नभएर उनका जीवनका विभिन्न पक्षहरुको बारेमा जानकारी दिन्छ ।स्व.गुरुङको वि.सं.२०४८ मा गाडी दुर्घटनामा निधन भएको हो ।
विभिन्न २६ शिर्षकमा विभाजित पुस्तकले कवि विमलको नाममा उनका मातापिताद्धारा स्थापित पुस्तकालयको समग्रता थाहा हुन्छ । त्यहाँ नियमित हुने कवि गोष्ठी,यसमा विमलको राजनीतिक चेत,उनले विभिन्न स्थानमा व्यतित गरेका क्षण लगायतका यावत विषयहरु जानकारीमूलक ढंगले समावेश गरिएका छन् । यसमा विभिन्न साहित्यिक व्यक्तित्वले उनलाई सम्झेर लेखेका हस्ताक्षर,विमलका विभिन्न तस्वीरहरु समेत राखिएका छन् ।
कवि विमल गुरुङ मिर्मिरेमा झरेको तारा कृतिलाई विमल गुरुङ स्मृति पुस्तकालयले प्रकाशनमा ल्याएको हो ।यसको मूल्य रु.३९९। रहेको छ ।
घुम्ती बिक्रीमा छ
कवि तथा गीतकार ऋजन मायालुको कविताकृतिभित्र ६६ थान शिर्षक विविधाका कविता समावेश गरिएका छन्।
कवितामा गाउँका अग्र्यानिक स्वाद आएका छन् ।सम्बन्धका कुरा छन् । परिवर्तनका लागि ज्यान आहुति दिनेहरुको चर्चा छ । कर्मशील जीवन छ । कवितामा जातीय पहिचानका मुद्धाहरु उठान गरिएको छ । समाजका विकृतिहरु विरुद्ध लक्षित कविता पनि छन् ।समयका पदचापसँगै हिंडेका कविता सुन्दर छन् ।
सुन्दर बिम्व र प्रतिकहरुले भरिएका प्रेमिल कविता छन् । पठनीय छन् ।
घुम्ती बिक्रिमा छ कविताकृतिलाई पेज टर्नरले प्रकाशनमा ल्याएको हो ।यसको मूल्य रु.३७५। रहेको छ ।







