
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफुले एमालेमै रहेर राजनीति गर्ने स्पष्ट गरेकी छन् ।
बिहीबार काठमाडौंमा आयोजित आफ्नो सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफुलाई एमालेबाट राजनीति गर्न कसैले रोक्न नसक्ने भन्दै आफुले एमालेबाट नै राजनीति गर्ने बताएकी हुन् ।
भण्डारीले २०५१ सालदेखि नै एमाले सरकारमा निरन्तर रहेको बताउदै अब पार्टीको कामको मुल्यांकन हुनुपर्ने समेत माग गरेकी छन् । उनले पार्टीका विसंगतिलाई जोडदार रुपमा उठाउने बताउदै सरकारले सुशासन प्रवर्वद्धन गर्न नसकेको टिप्पणी गरेकी छन् ।
उनले भनिन्- ‘राजनीतिक दलहरूभित्र विकृति, विसंगति फस्टाएको छ। त्यो पनि फस्टाइरहेको छ। त्यसलाई समाधान गर्न सकिरहेका छैनन् । सुशासन प्रवर्द्धन गर्न सकिरहेका छैनन्। राजनीतिक दल एउटा प्रणालीमा जसरी जानुपर्ने हो, त्यो जान सकेका छैनन् । राज्यका संयन्त्रहरू पनि जुन प्रणालीमा सञ्चालन हुनुपर्ने हो, त्यो हुन सकिरहेको छैन। अहिले संसदीय अभ्यासको कुरा गर्दा संसद् नै एउटा निरीह थलो भएर बसिरहेको छ ।’
काठमाडौंको थापागाउँस्थित लाखेचौर मार्गमा भाडामा लिइएको घरमा राखिएको सम्पर्क कार्यालयको आज उदघाटन गरिएको छ ।
भण्डारी समुहले यसलाई ‘मदन भण्डारी ७५औं जन्मजयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालय भनेको छ । समितिको संयोजक बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल रहेका छन् । भण्डारी समितिकी संरक्षक समेत रहेकी छन् ।
मदन भण्डारीको ७५औं जन्मजयन्ती मनाउन बागमती प्रदेशका पूर्वमुख्यमन्त्री पौडेलको नेतृत्वमा ७५ सदस्यीय मूल व्यवस्थापन समिति यस अघि नै बनाइएको छ ।
अहिले भाडामा लिइएको यसै घरबाट मदन भण्डारीले २०४८ सालको चुनावी अभियान चलाएको बताइएको छ । मदन भण्डारीको रहस्यमय निधनपछि भएको उपनिर्वाचनमा विद्या भण्डारीले पनि यही घरबाट चुनावी अभियान चलाएकी थिइन् भने अहिले भण्डारीले सोहि घरलाई भाडामा लिएर एमालेमा आफ्नो प्रभाव जमाउने प्रयास गर्ने भएकी छन् ।एभरेष्ट न्यूज एजेन्सी


